भीमफेदीमा आइसोलेशन वार्ड संचालन तयारी
मकवानपुर । कोरोना भाइरसको जोखिमबाट स्थानीयलाई बचाउन स्थानीय सरकार लागिपरेका छन् ।
नागरिक पनि स्थानीय सरकारकै भरोसामा छन् । मकवानपुरको भीमफेदी गाउपालिका पनि कोरोना भाइरस संकमणबाट नागरिकलाई सुरक्षित राख्नका लागि सुरुवाती चरणबाटै लागेको हो ।
सुरुमा विदेशबाट घर आएका नगरिकहरुको डाटा संकलन गरी सुरु भएको काम रहात वितरणमा पनि प्रत्येक टोलको घरघर पुगी डाटा नै तयार पारी प्रभावकारी रुपमा राहत वितणमा प्रशंसनीय बनेको गाउपालिका अहिले आइसोलेसन वार्ड संचालनको तयारीमा जुटेको छ ।
मकवानपुरमा कोरोना संक्रमण बढ्न थालेपछि बागमती प्रदेशको राजधानी हेटौंडामा समेत कोरोना संक्रमितलाइ व्यबस्थापन गर्न स्थान अभाव भएपछी सम्बन्धित स्थानीय तहलाई आइसोलेसन वार्ड निर्माणको लागि अनुरोध भएको कारण आफूहरु आइसोलेसन वार्ड सन्चालन गर्ने तयारीमा लागिपरेको गाउँपालिकाको अध्यक्ष हिदम लामाले जानकारी दिए ।
अहिले भीमफेदी गाउपालिकास्थित महेन्द्र माविमा क्वारेन्टाइन व्यवस्थापन गरिएको छ । सो विद्यालयमा रहेको क्वारेन्टाइनलाई आइसोलेसन सन्चालनमा ल्याउने र सोही ठाउँमा रहेको भीम आधार कम्युनिटी स्कुललाई क्वारेन्टाइन बनाउने अवधारणाको साथ आज सम्बन्धित निकायको जानकारहरुसंग छलफल समेत गरिएको अध्यक्ष लामाले बताए ।
आइसोलेसन संचालनमा गर्नुपर्ने र अपनाउनुपर्ने सबै कुरामा ध्यान दिइने अध्यक्ष लामाको भनाई छ ।