समयमै सक्ने गरी भीमफेदी-कुलेखानी सडक निर्माण जारी
मकवानपुर । कोरोना भाइरस (कोभिड १९) मा पनि नरोकिएको भीमफेदी कुलेखानी सडकको निर्माण कार्य अहिले पनि जारी छ ।
मोतिदान कन्ट्रक्सनले निर्माण जिम्मा लिएको सडक समयमै सम्पन्न गर्न तदारुकताका साथ निर्माणकार्य आगाडी बढाइएको जनाइएको छ । लकडाउन र पछिल्लो समय गरिएको निषेधाज्ञाका कारण कारण समयमै निर्माण कार्य सम्पन्न गर्न नसकिने हो कि भन्नेमा आंशका बढेको कन्ट्रक्सनका प्रोजेक्ट म्यानेजर एसके ज्वाला कार्कीले बताए । उनका अनुसार सो सडकको अहिले कटिङको काम सबै सकेर वालको कम आन्तिम चरणमा पुगेको छ । अब असोजको २० गतेपछि ग्राबेलको काम सुरु हुनेछ ।
‘अहिले साईडमा दुई सय ५० जना मजदुर राखेर निर्माणकार्यलाई आगाडी बढाउने काम भइरहेको छ ।’ कार्कीले भने । संघीय राजधानी काठमाडौंबाट बागमती प्रदेशको राजधानी हेटौंडा आउने सबैभन्दा छोटो बाटो भएको र बागमती प्रदेशको गौरवको आयोजनाको रुपमा हेरिएको सडकलाई गुणस्तर र समयमा निर्माण सम्पन्न गरेर प्रदेश सरकारलाई हस्तान्तरण गर्ने योजनामा आफूहरु रहेको मोतिदान कन्ट्रक्सनका म्यानेजिइङ डाइरेक्टर रामबहादुर गौतमले लोकखबरलाई जानकारी दिए । ‘लकडाउन निषेधाज्ञा लागायत विविध कारणले समयमा सडक निर्माण कार्य सम्पन्न गर्न सकिदैन की भन्नी दुविधा बढ्न थालेको छ ।’ डाइरेक्टर गौतमले भने ।
निर्माणाधीन मोटरबाटोमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाल, यातायात पूर्वाधार निर्देशनालयको निर्देशक डा. सहदेव बहादुर भण्डारी लगायतको टोलीले बेला बेलामा गरिएको अनुगमन तथा निरीक्षणले निर्माण कार्यलाई सहजता मिलेको म्यानेजर कार्कीले बताए ।