भोलिबाट आन्तरिक उडान हुँदै, सबै यात्रुलाई अनिवार्य मास्क

लोकखबर
४ आश्विन २०७७, आईतवार १३:५२

मकवानपुर ।६ महिनापछि भोलिबाट आन्तरिक हवाई सेवा पुनः नियमित हुँदै छ । व्यवसायीहरुले टिकट बुकिङ गरिरहेका छन् । सरकारले आइतबार सिट क्षमताअनुसारै हवाई सेवा नियमित गर्न अनुमति दिएको थियो ।
यसअघि मन्‍त्रिपरिषद्‍ले ५० प्रतिशत क्षमतामा उडान गर्न खुला गरेको थियो । तर, निजी वायुसेवा सञ्‍चालकहरुले ५० प्रतिशत क्षमतामा उडान गर्न नसक्ने भन्दै उडान सुरु गरेका थिएनन् । सरकारले कोरोना महामारी सुरु भएसँगै गत चैत ११ गतेदेखि आन्तरिक उडान सेवा रोकेको थियो ।

सबै विमानस्थलमा उडान
मन्त्रालयले देशभर रहेका सबै विमानस्थलमा उडान गर्न पनि अनुमति दिएको छ । तर, ९ दिनसम्म एउटा कम्पनीको २५ प्रतिशत मात्रै उडान स्वीकृत हुनेछ । वायुसेवा संस्थाले लकडाउनअगाडि ओगटेको बजार हिस्साका आधारमा २५ प्रतिशत उडान तालिका स्वीकृत हुनेछ ।

लकडाउनअगाडि एउटा कम्पनीले दैनिक तीन उडान गर्थ्यो भने अहिले एक उडान, १० उडान गर्थ्यो भने तीन उडान पाउनेछ । लकडाउनअगाडि कुनै कम्पनीले एउटा उडान मात्रै गर्थ्यो भने उसले पनि एक उडान पाउने नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देश एवं प्रवक्ता राजकुमार क्षेत्री जानकारी दिए । “देशका सबै हवाई सेवा प्रदायक कम्पनीले उडान सेवा दिन पाउँछन्,” उनले भने । अक्टोबर १ देखि माग र औचित्यता हेरी थप उडान तालिका प्राधिकरणले स्वीकृत गर्नेछ ।

हेल्थ डिक्लरेसन गर्नुपर्ने, अनिवार्य मास्क लगाउने
आन्तरिक हवाई यात्राका लागि यात्रुहरुले बोर्डिङ पास लिनुअगाडि हेल्थ डिक्लरेसन फाराम भर्नुपर्ने हुन्छ । त्यस्तो फाराम भरेर यात्रुले सम्बन्धित एयरलाइन्स कम्पनीलाई बुझाउनुपर्नेछ । यस्तै विमानस्थलमा भिड बढ्न नदिन मौसम, प्राविधिक वा अन्य कुनै कारणले उडान ढिलाइ हुने भए यात्रुहरुलाई एसएमएसमार्फत जति सक्दो छिटो सूचना विमान कम्पनीले दिनुपर्ने छ ।

सबै यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने छ ।

भाडा नबढ्ने
सरकारले व्यवसायीहरुको मागअनुसारै सिट क्षमतामा उडान गर्न अनुमति दिएपछि भाडा नबढ्ने भएको छ । यसअघि मन्त्रिपरिषद्ले ५० प्रतिशत क्षमतामा उडान गर्दा सरकारले तोकेको भाडामा ५० प्रतिशत थपेर लिन पाइने निर्णय गरेको थियो । तर, व्यवसायीहरुले भाडा नबढाउने तर सिट क्षमताअनुसारै उडान गर्न दिनुपर्ने माग गर्दै आएका थिए । सोहीअनुरुप भाडा नबढ्ने भएको हो । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*