प्रकाेप पीडितहरुका लागि तत्काल गास र बासको व्यवस्था गर्न सांसदहरुको माग
मकवानपुर । प्रतिनिधिसभाका सांसदहरुले कोरोना र बाढीपहिरो पीडितहरुका लागि गास र बासको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
संघीय संसद प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिको सोमबारको बैठकका नेपाली कांग्रेसकी सांसद सुवर्ण ज्वारचनले कोरोना र बाढीपहिरो पीडितहरु भोकभोकै मर्ने अवस्था आएको उल्लेख गर्दै उनीहरुका लागि आवश्यक गास र बासको व्यवस्था तत्काल गर्न सरकारसँग माग गरिन्।
कोरोना, बाढीपहिरो पीडितले कतिपय ठाउँमा भोकभोकै मर्नुपर्ने अवस्था आएको छ’ उनले भनिन्,‘त्यस्ता पीडितहरुका लागि तत्काल गास र बासको व्यवस्था गर्न म सरकारसँग जोडदार माग गर्दछु।’
सांसद ज्वारचनले समितिले पनि बाढीपहिरो र कोरोना अति प्रभावित क्षेत्रको अनुगमन गरी उनीहरुलाई राहत दिन सरकारलाई सचेत गराउन ढिलाई गर्न नहुनेमा जोड दिइन्। नेकपा एमालेकी सांसद एवम् पूर्व मन्त्री थममाया थापाले कोरोनाको तेस्रो लहर आउन नदिन सरकारलाई सचेत गराइन्।
बालबालिकाहरु दुर्व्यसनिमा फस्ने क्रम कोरोना कालमा झनैं बढदै गएको उल्लेख गर्दै उनले त्यसो हुन नदिन सरकार सजग हुनुपर्ने बताइन्। उनले भनिन्, ‘कोरोनाको तेस्रो लहर आउन नदिन विज्ञहरुसँग छलफल गरी सरकारले ठोस योजना ल्याउनु पर्दछ।’
समितिका अर्का सदस्य कांग्रेस सांसद हिरा गुरुङले बालिकाहरुमाथि बलात्कार पछि हत्या गर्ने क्रम बढिरहेकोमा आक्रोश व्यक्त गर्दै पीडितलाई न्याय दिने काममा ढिलाई नगर्न सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।
उनले बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको परिवारले अझैं न्याय नपाएको दृष्टान्त समितिको बैठकमा पेश गर्दै पीडितलाई न्याय दिने काममा सरकार गम्भीर नभएको आरोप समेत लगाइन्।
बैठकमा अमृता थापामगर, विमला विश्वकर्मालगायतका सांसदहरुले सामाजिक कलंकको रुपमा रहेको छाउपडी प्रथा, बोक्सी, दाइजो दिने जस्ता काममा अन्त्य गर्न सामाजिक अभियाननै चलाएर अघि बढ्न सरकारको ध्यानाकर्षण गराए। थाहाखबर डटकमबाट