व्यवसायीहरूले गरे मासुको मुल्य निर्धारण
काठमाडौँ । मासु व्यवसायीहरूले दसैंका लागि खसी तथा बोकाको मासुको मुल्य निर्धारण गरेका छन् । चाडपर्वको मौका छोपी आफूखुशी मुल्य लिनुभन्दा एकरूपता ल्याउन मुल्य निर्धारण गरिएको व्यवसायीहरूले बताएका हुन् । आन्द्राभुडी राखिएको मासु प्रतिकिलो एक हजार, बोसो राखिएकाको एक हजार २०० र ह्याकुलासहित रोजाइ (ग्राहकले रोजेअनुसार) को मुल्य एक हजार ३०० निर्धारण गरिएको हो ।
राष्ट्रिय मासु व्यवसायी संघले फुलपातीका दिनदेखि लागू हुने गरी काठमाडौँ उपत्यकासहित देशभर खसी, बोका, कुखुरा र राँगाको मासुको मुल्य निर्धारण गरिएको जनाएको हो । संघका अध्यक्ष रमेश खड्गीले खसी तथा बोकाको तीनथरि मुल्य निर्धारण गरिएको बताए । ‘संघबाट सबै मासु पसललाई निर्धारण गरिएको मुल्य कार्यान्वयनमा ल्याउनका लागि मुल्य सूची टाँस्न हामीले निर्देशन दिइसकेका छौँ । तोकिएको मुल्यअनुसार मासु बिक्री वितरण नभए संघबाट कारबाही हुन्छ’, उनले भने। यस्तै कुखुराको मासु प्रतिकिलो ३०० तथा रागाँ र बङ्गुरको मासु पाँचरपाँच सय तोकिएको छ ।
अन्य समयको तुलनामा दसैंमा कुखुरा र बङ्गुरको मासुको खपत कम हुने गरेको छ । खड्गीका अनुसार खपत कम हुने मासुको मुल्यमा तलमाथि भएपनि खसी, बोका तथा राँगाको मुल्यमा दसैंको अवधिमा कुनै परिवर्तन हुनेछैन । यही असोज ६ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दसैंका लागि मासुको गुणस्तर, मुल्य र सरसफाइमा ध्यान दिन निर्देशन दिएको थियो ।
मासु व्यवसायीसँग छलफल गर्दै विभागले गुणस्तरसँगै मुल्यमा एकरुपता ल्याउन आग्रह गरेकाले संघले मुल्य निर्धारण गरेको हो । चीनबाट च्याङ्ग्रा नआउँदा स्वदेशी च्याङ्ग्राको मुल्य यस वर्ष दोब्बर बढ्ने भएको छ । मुस्ताङमा उत्पादन कम र माग उच्च भएको भन्दै व्यवसायीले मुल्य बढाएका हुन् ।
अध्यक्ष खड्गीले गत वर्षको तुलनामा यस वर्ष च्याङ्ग्राको मुल्य बढ्ने बताए। चीनबाट च्याङ्ग्रा आएको छैन । देशमा उत्पादन भएका च्याङ्ग्रा कम हुँदा व्यवसायीले आफूखुशी मुल्य बढाउने गरेका छन् । संघका अनुसार गत वर्ष जिउँदो च्याङ्ग्रा प्रतिकिलो ७०० देखि ८०० र मासु दुई हजारसम्ममा बिक्री भएकामा यस वर्ष प्रतिकिलो जिउँदो च्याङ्ग्रा नै १२ देखि १५ सयसम्म पुग्ने अनुमान गरिएको छ । नेपाल चौपाया खरिद, बिक्री तथा कृषि फार्म गुप्रका अध्यक्ष दीपक थापाले पर्याप्त मात्रामा खसी, बोकाको आयात भएको बताउनभयो । उहाँले व्यवसायीले आवश्यक पर्ने खसी, बोका ल्याइसकेकाले दशैँका लागि मासुको अभाव नहुने जानकारी दिए ।
अध्यक्ष थापाका अनुसार गत वर्षको तुलनामा यसवर्ष झन्डै दोब्बरले मुल्य बढेपछि व्यवसायीले च्याङ्ग्रा कम ल्याउने भएका छन् । गत वर्ष काठमाडौँ उपत्यकामा सात हजार च्याङ्ग्रा बिक्री गरिएकामा यस वर्ष चार हजारजति मात्र बिक्री गर्ने तयारी छ । रासस