अगामी ३ मा देखिँदैछ ५८० वर्षपछिको दुर्लभ चन्द्रग्रहण
काठमाडौं-१९ नोभेम्बर अर्थात् ३ मंसिरमा पाँच सय ८० वर्षपछिको दुर्लभ चन्द्रग्रहण देखिँदैछ । यो आंशिक चन्द्रग्रहण हो । खगोलविद्हरूका अनुसार १८ फेब्रुअरी १४४० मा यस्तै चन्द्रग्रहण लागेको थियो । र, अब ८ फेब्रुअरी २६६९ मा मात्र यस्तो चन्द्रग्रहण देखिनेछ ।
भारतको एमपी बिडला प्लेनेटोरियमका रिसर्च एन्ड एकेडेमिक विभाग प्रमुख देवीप्रसाद दुआरीका अनुसार ३ मंसिरमा देखिने चन्द्रग्रहण तीन घण्टा २८ मिनट २४ सेकेन्डसम्म लाग्नेछ । यो एकदमै लामो चन्द्रग्रहण रहेको दुआरी बताउँछन् ।
अपराह्न १२ बजेर ४८ मिनटमा सुरु हुने ग्रहण चार बजेर १७ मिनटसम्म रहनेछ । दक्षिण एसियामा भारतका पूर्वोत्तर आसाम र अरुणाचलसहित दक्षिण अमेरिका, पूर्वी एसिया, अस्ट्रेलिया र प्रशान्त महासागर क्षेत्रमा यो चन्द्रग्रहण देख्न सकिने छ ।
यूएस इस्ट कोस्टमा आंशिक चन्द्रग्रहण राति दुई बजेपछि सुरु हुनेछ, जुन बिहान चार बजेपछिसम्म कायम रहनेछ । यस्तै, यूएस वेस्ट कोस्टमा राति ११ बजे सुरु हुने ग्रहण राति एक बजेपछिसम्म देख्न सकिने छ ।
पृथ्वीले पूर्ण रूपमा ढाक्ने पूर्ण चन्द्रग्रहणभन्दा आंशिक चन्द्रग्रहण शानदार देखिँदैन । तर, यो लामो समयसम्म देख्न पाइन्छ । नेपाल र भारतमा यसलाई नांगो आँखाबाट देख्न सकिने छैन, विशेष उपकरण आवश्यक हुन्छ ।
यो सन् २०२१ को अन्तिम चन्द्रग्रहण पनि हो । यसअघि गत ६ मे (२३ वैशाख) मा चन्द्रग्रहण लागेको थियो, जतिबेला ब्लू मुन अर्थात् चन्द्रमा रातो रंगको देखिएको थियो ।
३ मंसिरको चन्द्रग्रहणको दुई सातापछि ४ डिसेम्बर (१८ मंसिर) मा पूर्ण सूर्यग्रहण लाग्नेछ ।
अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार एक वर्षमा बढीमा तीनपटक चन्द्रग्रहण लाग्छ । अर्थात्, २१ औँ शताब्दिभरिमा कुल दुई सय २८ पटक चन्द्रग्रहण लाग्नेछ । ज्योतिष शास्त्रमा भने आंशिक चन्द्रग्रहणलाई चन्द्रग्रहणको दर्जा दिइएको छैन ।