प्रदेश २ का मुख्यमन्त्री राउतलाई राजीनामा दिन चौतर्फी दबाब

लोकखबर
३ मंसिर २०७८, शुक्रबार १२:०८

काठमाडौं । साइकल वितरण कार्यक्रममा भ्रष्टाचार गरेको आरोप लागेपछि प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले राजीनामा दिनुपर्ने माग उठेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेर साइकल वितरण कार्यक्रमको कागजात आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेपछि मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने आवाज उठेको हो ।

प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० प्रदेश २ संसदीय दलका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्ने बताउँछन् । अख्तियारले गरेको प्रथम चरणको अनुसन्धानअनुसार भ्रष्टाचार ठहर भइसकेकाले पदमा बसेर मुद्दा प्रभावित बनाउन सकिने भएकाले राजीनामा गरेर अनुसन्धानमा सहयोग गर्नुपर्ने सोनलले बताए ।

‘मुख्यमन्त्रीले नैतिकताको आधारमा तुरुन्त राजीनामा दिनुपर्छ । साइकल वितरण कार्यक्रममा भ्रष्टाचार भएको ठहर भइसकेको छ । अब चार सिट तयार गरी मुद्दा हालिँदै छ । यस्तो अवस्थामा मुख्यमन्त्रीले तुरुन्त राजीनामा गरेर अनुसन्धानमा सहयोग गर्नुपर्छ,’ सोनलले भने ।

लोसपा कार्यकारिणी समितिका सदस्यसमेत रहेका सोनलले अख्तियारले निष्पक्ष रूपमा छानबिन गरी दोषीलाई कानुनअनुसार कारबाही गर्नुपर्ने बताए । मुख्यमन्त्री राउत नेतृत्वको प्रदेश २ सरकारमा यसअघि सोनल भौतिक पूर्वाधार मन्त्री थिए ।

प्रतिपक्षी दल नेकपा ९एमाले० प्रदेश २ संसदीय दलका नेता सत्यनारायण मण्डलले भ्रष्टाचारमा प्रदेश २ अघि रहेको बताए । एमाले स्थायी कमिटीका सदस्यसमेत रहेका मण्डलले प्रदेश २ सरकारको हरेक कार्यालयमा भ्रष्टाचार तीव्र रूपमा भइरहेको बताए । भ्रष्टाचार गरेको आरोप लागेका मुख्यमन्त्री राउतले राजीनामा गरेर अनुसन्धानमा सहयोग गर्नुपर्ने उनले बताए ।

‘साइकल वितरण कार्यक्रममा मात्रै नभई प्रदेश २ सरकारको हरेक कार्यालयका साथै स्थानीय तहमा समेत भ्रष्टाचार खुलमखुला भइरहेको छ । मुख्यमन्त्रीले राजीनामा गरेर अनुसन्धानमा सहयोग गर्नु नै राम्रो हुन्छ,’ मण्डलले भने ।

अहिले प्रदेश २ सरकारका हरेक मन्त्रालयका साथै स्थानीय तहका सरकारहरूमा भ्रष्टाचार खुलमखुला भइरहेको अख्तियारको रिपोर्टले पुष्टि गरेको उनले बताए । सुशासन कायम गर्न अख्तियारले अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन आवश्यक रहेको मण्डलले बताए ।

जनमत पार्टीका महासचिव चन्दन सिंहले मुख्यमन्त्री लालबाबुसँग अलिकति पनि नैतिकता छ भने तुरुन्त राजीनामा दिनुपर्ने बताए । प्रदेश २ सरकार भ्रष्ट रहेको प्रमाणित भइसकेको बताउँदै उनले अख्तियारले अन्य कार्यक्रमको समेत छानबिन गरी भ्रष्टहरूलाई खोजीखोजी कानुनअनुसार कारबाही गर्नुपर्ने उनले बताए ।

‘मुख्यमन्त्रीसँग अलिकति पनि नैतिकता छ भने तुरुन्त राजीनामा दिनुपर्छ । जनताको काम नगर्ने केवल कमिसनमा केन्द्रित रहेको कुरा सबैलाई थाहा नै छ । यस्ता कमिसनखोरलाई कारबाही गर्नबाट अख्तियार पछाडि हट्नुहुन्न,’ महासचिव सिंहले भने ।

जनमत पार्टीले भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएको बताउँदै उनले पदमा बसेर मुद्दा प्रभावित बनाउन नमिल्ने बताए । अख्तियारले अनुसन्धान प्रक्रिया अगाडि बढाएकाले मुख्यमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्ने सिंहले बताए ।

जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिका सदस्य एवं प्रदेश २ का सांसद रामनरेश राय यादवले राजीनामा दिनुपर्ने सुझाव दिएका छन् । साइकल वितरण कार्यक्रमका साथै अन्य कार्यक्रममा भएको भ्रष्टाचारविरुद्ध गर्दा आफू मन्त्री पदबाट बर्खास्तीमा समेत परेको बताउँदै उनले मुख्यमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्ने बताए ।

‘मैले पार्टी तथा संसदीय दलको बैठकमा पहिलेदेखि नै सरकारमा सहभागीलाई फिर्ता बोलाउनुपर्ने सुझाव दिँदै आएको छु । अब हुने बैठकमा समेत यो कुरा उठाउँछु । यस्ता भ्रष्ट व्यक्तिका कारण पार्टीको छविसमेत बिग्रिरहेकाले राजीनामा दिनु राम्रो हुन्छ,’ यादवले भने ।

साइकल वितरण कार्यक्रम’ कुरा गर्दा मुख्यमन्त्री राउतले यस विषयमा कुनै प्रकारको कुरा गर्न नचाहेको बताए ।

के भन्छन् राजनीतिक विश्लेषक ?
राजनीतिक विश्लेषक चन्द्रकिशोरले मधेस आन्दोलनको जगमा मुलुक संघीयतामा गएको बताउँछन् । अरू प्रदेशभन्दा प्रदेश २ ले आफूलाई मोडेलका रूपमा अगाडि बढनुपर्नेहुन्छ । भ्रष्टाचारको आरोप लागिसकेपछि सत्तारूढ दलले यस विषयमा निर्णय गर्नुपर्ने उनले बताए ।

‘भ्रष्टाचारको आरोप लागेपछि सत्तारूढ दलले यस विषयमा निर्णय गर्नुपर्नेहुन्छ । तर, जसपा अलमलमा रहेको छ । के गर्ने भन्ने निर्णय नै गर्न सकेको छैन । अरू प्रदेशभन्दा प्रदेश २ ले नमुना काम गर्नुपर्नेहुन्छ । ’अबगकभ मधेस आन्दोलनका कारण नै मुलुकमा संघीयता आएको हो । जसपाले यस विषयमा छिट्टै नै निर्णय गर्नु उत्तम हुन्छ’ चन्द्रकिशोरले भने ।

भ्रष्टाचारको आरोप लागेपछि भारतमा कतिपय मन्त्री, मुख्यमन्त्रीहरूले राजीनामा गरेर अनुसन्धानमा सहयोग गरेर नैतिकता प्रदर्शन गरेको उनले बताए । मुख्यमन्त्री आबद्ध पार्टीले यस विषयमा ढिला नगरी निर्णय गर्नु र विकल्प दिनुपर्ने चन्द्रकिशोरले बताए ।

अर्का राजनीतिक विश्लेषक तुलानारायण साहले भ्रष्टाचारको आरोप लाग्दैमा राजीनामा दिनु नपर्ने बताउँछन् । प्रदेश २ का मुख्यमन्त्री मात्रै नभई देशका अधिकांश पालिका प्रमुख, उपप्रमुख माथि भ्रष्टाचारको आरोप लागेको छ । अख्तियारले अनुसन्धान पनि गर्दै छ । यस्तो अवस्थामा राजीनामा दिएपछि अवस्था अर्कै हुने उनले बताए । मुद्दा दायर गरेपछि संविधानको व्यवस्थाअनुसार उनीहरू निलम्बनमा पर्ने भएकाले राजीनामा गर्न हतार गर्न नहुने उनले बताए ।

‘जनताबाट निर्वाचित जनप्रतिनिधिमाथि यस्ता आरोप लाग्दै आएको छ । धेरैले नैतिकताको विषय उठाउँछन् । तर, नैतिकताको विषय उठाएर मात्रै भएन । अख्तियारले अनुसन्धान गरी मुद्दा दायर गरेपछि उनीहरू स्वतहः निलम्बनमा पर्छन् । त्यसैले राजीनामा दिन हतार गर्नुपर्दैन’ साहले भने ।

प्रदेश २ मा नैतिकताको विषय उठाउनेहरूको पनि नैतिकता हेर्ने हो भने उनीहरूको विगत राम्रो देखिँदैन । आफू नैतिकवान् नहुने तर अरूलाई नैतिकताको पाठ मात्रै सिकाएर नहुने उनले बताए ।

समाचार राजधानी दैनिकमा छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*