सहज छैन देउवालाई नेतृत्वमा दोहोरिन
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औं महाधिवेशनबाट पुनः नेतृत्वमा दोहोरिने रणनीतिमा जुटेका छन्। संस्थापन इतर समूहका आधा दर्जन नेता नेतृत्वमा पुग्न प्रतिस्पर्धाको तयारीमा जुटेसँगै सभापतिमा दोहोरिन देउवालाई थप सहज हुने उनी पक्षका नेताको बुझाइ छ।
संस्थापन पक्षबाटै उपसभापति विमलेन्द्र निधि र पूर्वउपसभापति गोपालमान श्रेष्ठले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। निधि र श्रेष्ठ सभापतिको प्रतिस्पर्धामा अन्तिमसम्म मैदानमा टिकिराखे भने देउवाका लागि नेतृत्वमा दोहोरिन कठिन हुनेछ।
१३औं महाधिवेशनमा तत्कालीन संस्थापन पक्षबाट विद्रोह गर्दै कृष्णप्रसाद सिटौलाले नेतृत्वमा प्रतिस्पर्धा गर्दा रामचन्द्र पौडेल कांग्रेसको मूल नेतृत्वमा पुग्न नसकेको बताउँदै देउवा निकट एक नेताले भने, ‘१४औं महाधिवेशनमा उहाँ (देउवा) ले पनि त्यही नियति भोग्नुपर्ने अवस्था आउनसक्छ।’
नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदै पार्टी राजनीतिमा सक्रिय भएका निधिको संस्थापन पक्षमा राम्रो पकड रहेको स्वीकार गर्दै ती नेताले भने, ‘संस्थापन इतरबाट धेरै उम्मेदवार भए पनि सभापतिमा निर्वाचित हुन ५१ प्रतिशत महाधिवेशन प्रतिनिधिको समर्थन ९मत० चाहिन्छ।निधिले सभापतिमा जित्नुहुन्छ कि हुन्न थाहा छैन तर उहाँको उम्मेदवारीले देउवालाई ५१ प्रतिशत पुर्याउन रोक्न सक्छ।’
१३औं महाधिवेशनमा तत्कालीन महामन्त्री सिटौलाले ३२१ मत पाएका थिए। तर त्योभन्दा धेरै तत्कालीन संस्थापन पक्षमा विद्रोह भएको भन्दै पौडेलको पक्षमा वातावरण बन्न नसकेको देउवा निकट ती नेताको बुझाइ छ। अहिले पनि संस्थापन इतरबाट धेरै आकांक्षी देखिएका कारण देउवा नै सबैभन्दा शक्तिशाली देखिएको विश्लेषण गर्दैै ती नेताले भने, ‘संस्थापन इतरबाट एउटा मात्र उम्मेदवार हुँदा देउवाका लागि नेतृत्वमा दोहोरिन कठिन हुनेछ।’
संस्थापन पक्षमा विद्रोह गर्दै सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका निधिदेखि सबै नेता १३औं महाधिवेशनमा जस्तै एकै ठाउँमा उभिने अवस्था आउनसक्ने कांग्रेस नेताहरूको विश्लेषण छ । १३औं महाधिवेशनमा सभापतिका लागि भएको निर्वाचनमा प्रतिस्पर्धामा रहेका तीनमध्ये कुनै पनि उम्मेदवारले पहिलो चरणमा ५१ प्रतिशत मत नपाएपछि फेरि मतदान भएको थियो। धेरै मत ल्याउने दुई नेताबीच भएको दोस्रो चरण निर्वाचनमा तत्कालीन संस्थापन पक्षबाट विद्रोह गरेका सिटौलाले देउवालाई सहयोग गरेका थिए।
त्यतिबेला संस्थापन इतर पक्षबाट महाधिवेशन प्रतिनिधिमा छनोट हुनेको संख्या १२-१३ सयको हाराहारीमा रहेको दाबी गर्दै एक नेताले भने, ‘सिटौलाजीले पाउनुभएको ३ सय २१ मध्ये ३ सय भोट संस्थापनको हो। बीचमा बसेका २-३ सय नेता अब रामचन्द्र पौडेलले जित्दैनन् भनेर देउवातिर लागे।’ दोस्रो चरणमा भएको निर्वाचनमा देउवा १८ सय बढी मतसहित सभापतिमा निर्वाचित भएका थिए।
पटकपटक प्रधानमन्त्री बने पनि पार्टीको केन्द्रीय सदस्यमात्र रहेका देउवाले केही गर्छन् कि भन्ने आशा पनि त्यति बेला नेता तथा कार्यकर्तामा थियो। तर पार्टीको मूल नेतृत्व समालेको साढे पाँच वर्षमा सुधारको छनकसमेत देउवाले दिन सकेनन्, जुन आगामी महाधिवेशनमा उनका लागि प्रत्युत्पादक हुन सक्ने संस्थापन इतर पक्षका नेताहरूको बुझाइ छ।
देउवाका मुख्य सहयोगी निधिले साथ छाडिसकेको र आगामी महाधिवेशनमा सबै पदाधिकारी निर्वाचित गर्ने विधानको व्यवस्थाले पनि उनलाई अप्ठेरो पार्ने बुझाइ छ। पदाधिकारीमा आकांक्षीहरूको व्यवस्थापन गर्न नसक्दा असन्तुष्ट हुने नेता निधिको समूहमा एकाकार हुनसक्ने भन्दै देउवाविरोधी एक नेताले भने, ‘अब देउवाबाट पार्टी चल्दैन र उनले आगामी महाधिवेशनमा निर्वाचन जित्न सक्दैनन् भन्ने वातावरण तलै ९वडा तह० बाट बनेको छ।’ पार्टीको मूल नेतृत्व छान्ने महाधिवेशन प्रतिनिधि छनोट हुन बाँकी छ। ती नेताले भने, ‘अधिवेशन सकिएका १३ जिल्लामा संस्थापन इतर समूहको पक्षमा विगतमा भन्दा धेरै सुधार भएको छ।तर उम्मेदवारचाहिँ एउटै हुनुपर्छ।’
सभापति देउवासहित संस्थापन पक्षका नेताले भने १४औं महाधिवेशन आफूहरूका लागि १३औं भन्दा अनुकूल रहेको विश्लेषण गर्दै आएका छन्। उपसभापति निधि र नेता श्रेष्ठलाई मिलाउने देउवाको प्रयास जारी छ।निधि र श्रेष्ठले विद्रोह गरे पनि देउवालाई नेतृत्वमा दोहोरिन कठिन नरहेको बुझाइमा उनी पक्षका नेता छन्।
देउवा अहिले पार्टीभित्रको संस्थापन पक्ष रहेकाले त्यसको फाइदा उनैलाई हुने बुझाइ छ। सतप्रतिशत क्रियाशील सदस्यता थप गर्दाको लाभ पनि देउवा पक्षलाई पुग्ने संस्थापन इतरको बुझाइ छ। देउवाले कतिपय जिल्ला र क्षेत्रको परिणाम आफ्नो पक्षमा पार्नेगरी सदस्यता थपघट गरेको आरोप इतर पक्षले लगाउँदै आएको छ।
तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकसहित विभिन्न राजनीतिक दल र नेताहरू यसबीचमा कांग्रेसमा समाहित भएका छन्। उनीहरूको समर्थन देउवाले पाउँदा निधिको विद्रोहले पार्ने असरको परिपूरण हुने निकटहरूको विश्लेषण छ। साथै, पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै देउवा अहिले प्रधानमन्त्रीको जिम्मेवारीमा छन्।
प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका देउवालाई राज्यको स्रोतसाधनका साथै सूचनाको पनि सहज पहुँच हुने भन्दै नेतृत्व चयनमा त्यसले पनि लाभ पुग्ने आकलन गरिएको छ। ‘सरकारले गर्ने नियुक्तिदेखिका कुरामा केही नेता तथा कार्यकर्तालाई आफ्नो पक्षमा अड्याउने अवसर देउवासँग छ,’निकट एक नेताले भने, ‘राष्ट्रियसभा सदस्य निर्वाचनदेखि अन्य चुनाव पनि संघारमा रहेकाले जित्नेजित्ने देखिएका उम्मेदवारको पछि लाग्ने केही प्रतिनिधि उहाँसँग आउनेछन्।’
संस्थापन इतर समूहबाट नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता शेखर कोइराला,नेत्री सुजाता कोइराला नेतृत्वको आकांक्षी छन्। एकअर्काप्रति आरोपप्रत्यारोपमा उत्रिएका उनीहरूबीच सहमति जुटाउन कठिन रहेको विश्लेषण गर्दै देउवा निकट एक नेताले भने, ‘निधिले विद्रोह गर्दा देउवालाई असर गर्छ। संस्थापन इतरबाट दुईजना उम्मेदवार हुँदा त्यहाँ पनि त समस्या हुन्छ।’
सभापतिको प्रत्यासी बन्ने बताउँदै आएका नेता सिटौला पक्षको भूमिका नयाँ नेतृत्व चयनमा महत्वपूर्ण हुने देउवा पक्षको बुझाइ छ। अहिलेको अवस्थामा सिटौलाले इतर पक्षलाई समर्थन गरेर जान नसक्ने दाबी देउवा पक्षको छ। देउवालाई सभापतिमा जिताउन मात्र सिटौलाले भूमिका खेलेको आरोप खेप्दै आएका छन्।
संस्थापन इतर पक्षबाट साझा उम्मेदवार बनाएको अवस्थामा सिटौलालाई देउवातिर लाग्न कठिन हुने पनि निकटहरू बताउँछन्। पहिलो चरणमा सबै प्रतिस्पर्धामा उत्रिँदै देउवालाई रोक्ने रणनीतिमा संस्थापन इतरका नेता छन्।
दोस्रो चरणमा इतर पक्षका सबै एक ठाउँमा उभिने अवस्थामा फेरि देउवालाई नेतृत्वमा पुग्नबाट रोक्न सकिने बुझाइमा उनीहरू छन्। यही मंसिर ६ गते हुने प्रतिनिधिसभा क्षेत्रको अधिवेशनबाट महाधिवेशन प्रतिनिधि छनोट हुनेछन्।संस्थापन पक्षले पहिलो चरणमै पाँच सय बढी मतले देउवा सभापतिमा पुनः निर्वाचित हुने दाबी गर्दै आएको छ।
देउवा निकट केन्द्रीय सदस्य मीन विकले देउवाले फेरि नेतृत्वमा दोहोरिने कुरा गर्नु अन्य आकांक्षीलाई ‘थ्रेट’ पनि भएको बताउँछन्। ‘अहिलेसम्मको अवस्था हेर्दा देउवा नै आगामी महाधिवेशनबाट पनि सभापति हुने देखिन्छ,’ विकले भने, ‘संस्थापन इतरका नेताहरू गठबन्धन कसरतमा हुनुहुन्छ। त्यो हेर्न बाँकी नै छ तर अहिलेसम्मको तयारी हेर्दा देउवाले नै जित्ने देखिन्छ।’
समाचार नागरिक दैनिकमा छ ।