राक्सिराङमा छात्रवृत्ति पाएपछि मोडिएको चेपाङ बालबालिकाको बाटो

लोकखबर
१० पुष २०७८, शनिबार ११:३१

मकवानपुर । सविना चेपाङ मकवानपुरको राक्सिराङ गाउँपालिका–५ चैनपुनस्थित प्रजा जागृति आधारभूत विद्यालयमा ८ कक्षामा पढ्छिन् । ४ वर्षयता उनले छात्रवृत्तिमा पढ्दै आइरहेकी छन् । अमेरिकन हिमालयन फाउन्डेसनको सहयोगमा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेस्ट) मार्फत शैक्षिक सामग्री, पोसाक लगायत सहयोग पाउँदै आएकी छन् । जसले विपन्न परिवारमा जन्मिएकी सविनाको पढ्ने इच्छा पूरा भइरहेको छ । तर छात्रवृत्ति पाउनुअघिको उनको कथा अर्कै छ ।

आर्थिक गर्जो टार्न उनलाई भारतस्थित सर्कसमा जागिर खुवाउन पठाउने तयारीमा थिए सविनाका बाबुआमा । सर्कसका दलाल पनि उनको घर धाइरहेका थिए । छिमेकीहरूले भने छोरीलाई सर्कसमा पठाउन हुँदैन भन्दै सम्झाइबुझाइ गरिरहेका थिए । सविनाको पढाइको सबै खर्च छात्रवृत्तिमार्फत प्राप्त हुने भएपछि मात्र उनको सर्कसको यात्रा रोकिएको हो ।

चैनपुरकी डोलिमा चेपाङ पनि यही संस्थाको छात्रवृत्तिमा कक्षा ८ मा पढिरहेकी छन् । चार वर्षअघि डोलिमाको पढाइ छुटाएर उनका बाबुआमाले अर्काको घरमा काम गर्न काठमाडौं पठाउन लागेका थिए । ‘पढाउन नसकेर झन्डै डोलिमालाई अर्काको घरमा काम गर्न पठाएको,’ बाबु आइतराम चेपाङले भने, ‘छोरीलाई पढाउन अहिले समस्या छैन, संस्थाले पूरै सहयोग गरेको छ ।’

जोखिममा पर्ने सम्भावना रहेका र जोखिममा परेका बालिकालाई रेस्टले कक्षा १–१२ सम्म अध्ययन गर्न पूर्ण छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । ‘सविना र डोलिमा जस्तै जोखिममा रहेकाहरूलाई मात्र छात्रावृत्ति दिएर पढाइरहेका छौं,’ रेस्टकी कार्यकारी निर्देशक डा। अरुणा उप्रेतीले भनिन्, ‘बालिकालाई पढ्नका निम्ति दिएको छात्रवृत्तिले बालविवाहमा कमी आएको छ ।

बाल मजदुरीमा न्यूनीकरण हुनुका साथै सर्कसमा जागिर खान लैजाने भनेर भारत पुर्‍याउने कार्य रोकिँदै गएको छ ।’ रेस्टले मकवानपुरका ७ वटा पालिकाका जोखिममा रहेका २ हजार १ सय ३३ बालिकालाई छात्रवृत्ति प्रदान गरिरहेको छ । कान्तिपुर

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*