को हुन चेपाङ समुदायबाट पहिलो मन्त्री बनेका प्रजा ?
बागमती प्रदेशका प्रदेशसभा सदस्य सन्तबहादुर प्रजा, चेपाङ समुदायकै पहिलो मन्त्री बनेका छ्न् । प्रजालाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनाएका थिए । मकवानुरको राक्सिराङ गाउँपालिका वडा नम्बर-७ स्थित विकट गाउँ धिराङमा जन्मिएका उनी लोपोन्मुख चेपाङ समुदायबाट पहिलो मन्त्री बनेका हुन् । चेपाङलाई शुक्रबार वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । ८ कक्षासम्म अध्ययन गरेका ४६ वर्षीय चेपाङले २०४८ सालदेखि राजनीतिमा प्रवेश गरेका हुन् । सुरुदेखि नै उनी कांग्रेसमा आबद्ध छन् । त्यसो त उनका बुबा पनि कांग्रेसका कार्यकर्ता थिए ।
यस्तो छ उनको राजनीतिक यात्रा
मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ७ स्थित विकट धिराङ गाउँमा जन्मिएका सन्त चेपाङ २०४८ सालदेखि निरन्तर राजनीतिमा लाग्दै आएका छन् ।
२०४८ सालमा काँकडा गाउँ इकाई सदस्य भएका थिए । २०५३ सालमा वडा सभापति भए । २०५४ सालको स्थानीय चुनावको प्रचारप्रसार संयोजक हुँदा नेकपा एमालेबाट निर्घात यातना खेपे ।
२०५६ सालमा नेपाल तरुण दलको काँकडा वडा ईकाइ सभापति बने भने २०५९ सालमा तत्कालीन पार्टी विभाजनमा काँकडा गाउँ इकाई सभापति भए । २०५९ सालमा पार्टी एकीकृतपछि गाउँ ईकाइ सचिव भएका थिए ।
त्यस्तै, २०६२ सालदेखि २०६७ सालसम्म पार्टीबाट सर्वदलीय संयोजक बनेका उनी २०६४ सालमा पहिला संविधानसभाको निर्वाचन प्रचारप्रसार गर्दा नेकपा माओवादीबाट निर्घात कुटिनुका साथै यातनासमेत खेपेका थिए ।
मकवानपुर जिल्लाको नेपाल चेपाङ संघको जिल्ला अध्यक्ष, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य, १० औं महाधिवेशन मकवानपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ प्रत्यासी सभापति थिए ।
चेपाङ समुदायबाट यसअघि मकवानपुरका गोविन्दराम चेपाङ एमालेबाट संविधानसभा सदस्य भएका थिए । चेपाङ आफ्नो समुदायबाट पहिलो मन्त्री बनेका हुन् । उनी भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेका छ्न् ।
मकवानपुर, चितवन, गोरखा, धादिङ र तनहुँ जिल्लामा चेपाङ समुदायको बाक्लो बस्ती छ तर सात वटा प्रदेशमध्ये वाग्मती प्रदेशमा चेपाङ जातिबाट एकजना मात्र प्रदेशसभा सदस्य रहेका छन् । तीनै चेपाङ सन्तबहादुर राज्यमन्त्रीमा नियुक्त भएका छन् । २०६८ को जनगणनाअनुसार मुलुकभर ६८ हजार ३ सय ९९ चेपाङको जनसंख्या छ । हिमाल दरपर्ण