नेपालमा पनि ब्ल्याक कर्न खेती सुरु
नेपालीलाई कालो मकै (ब्ल्याक कर्न) नौलो लाग्न सक्छ । सेताे र पहेँलो मकैको खेती गर्दै आएका नेपाली कृषकलाई नौलो लाग्नु स्वभाविक पनि हो । तर, अब भने नौलो मान्नु पर्ने अवस्था छैन । नेपालकै विभिन्न भू-भागमा थोरै भए पनि खेती हुन थालेको छ ।
विशेषगरी, दक्षिण अमेरिकी देशहरुमा व्यावसायिक खेती हुने ब्ल्याक कर्न नेपाल भित्र्याएका हुन्, २५ वर्ष नेपाल प्रहरीमा सेवा गरेर अवकाश भएका पूर्व एसपी ठाकुरप्रसाद त्रिपाठीले ।
उनले शान्ति मिसन प्रहरी पर्यवेक्षकको रुपमा सुडान जाँदा त्यहाँ खेती गरेको देखेपछि नेपालमा भित्र्याउने योजना बनाएका थिए । र, पछि साथीले त्यहीँबाट कुरियर गरेर नेपालमा ब्ल्याक कर्नको बीउ पठाएको उनी सुनाउँछन् । हाल उनले आफ्नाे घरकाे कौसीमा ब्ल्याक कर्न रोपेका छन् भने देशभरका कृषकलाई बीउ उपलब्ध गराउने अभियानमा लागि परेका छन् ।
यो एक विशेष प्रजातिको मकै हो । याे मकैमा कालो रंगद्रव्य भएकाले, यसका दाना कालो रङ्गको हुन्छ । ‘ब्ल्याक कर्न’ को पौष्टिक मात्र साधारण मकैभन्दा उच्च भएकाले यो विशेष रहेको पूर्व एसपी त्रिपाठी बताउँछन् । स्वादको हिसाबले कालो मकैमा हुने चिनीको मात्रा ११.९५ प्रतिशत हुन्छ, जुन साधारण मकैभन्दा ३ गुणा धेरै हो ।
कामकै दौरान सुडान, युगोस्लाभियाको कोसोबो लगायतका थुप्रै देश पुगेका उनी नेपाल भौगोलीक रुपमा पूर्ण रहेको बताउँछन् । ‘आधा भूभाग मरुभूमि रहँदा त सुडानका मानिसहरुले बाह्रै महिना खेती गरेर खान सकेका छन्, कोसोबोमा ६ महिना हिउँले भरिन्छ त्यहाँ पनि १२ महिना उत्पादन हुन्छ,’ त्रिपाठीले चाणक्य पोष्टसँग भने ‘नेपाल त सबै कुराले भरिपूर्ण छ ।’
उनले अवकाश भएपछि कृषिमा अध्ययन सुरु गरे । उत्पादन, मल लगायतका कुरा १ वर्ष अध्ययन गरे । सोही क्रममा नार्कमा उनले एक दिन ब्ल्याल कर्न र ब्ल्याक राइस बारे अध्ययन भइरहेको भेटे । जस कारण उनी ब्ल्याक कर्न तिर आकर्षण भए । ब्ल्याक कर्नको दाना माग्दा अध्ययन पूरा नभएका कारण लिन नपाएका उनले पछि ब्ल्याक कर्न बारे इन्टरनेटमा रिसर्च गरे ।
२८०० तिरेर ३०० ग्राम बीउ भित्र्याए
ब्ल्याक कर्नको उत्पत्ति मेक्सिकोबाट भएको थाहा पाएपछि उनले मेक्सिकोमा रहेका एक जना साथीलाई बीउ पठाइदिन भने । उनले मेल मार्फत नै ब्ल्याक कर्न पठाइदिन सिफारिस गरे । उक्त मेल पछि उनलको साथीले कुरियर मार्फत १२०० रुपैयाँ चानचुनमा ब्ल्याक कर्न पठाएका रहेछन् । जुन उनले कर, कुरियर सहित २८०० रुपैयाँ हाराहारी रकम तिर्नु परेको थियो । उक्त समयमा ३०० ग्राम ब्ल्याक कर्न उनको हातमा परेको थियो ।
उनले उक्त मकै भक्तपुर, दैलेख, काभ्रे, सुर्खेत, चितवन, सिराहा, डोल्पा, भोजपुर, काभ्रेपलान्चोक, मकवानपुर, सर्लाहीसम्म पुर्याइसकेका छन् । साथीहरुलाई बीउ बाँड्ने क्रममा उनले ५ सय रुपैयाँदेखि १५ सय रुपैयाँ केजीको दरले बीउ विक्री गरेका छन् ।
उनले हालै मात्र दैलेखमा २ रोपनी जमिनमा ब्ल्याक कर्न रोप्नका लागि १५ सय रुपैयाँ केजीको दरले २ केजी बीउ विक्री गरेको बताए । उनले आफै पनि गमलामा १० वटा बोट ब्ल्याक कर्न उत्पादन गराएका छन् । जसबाट उनले केही बीउका लागि प्रयोग गर्ने गरेका छन् । केही आफै पकाएर खाने गरेका छन् ।
उनले ब्ल्याक कर्न सामान्य मकैको तुलनामा एउटा गुण मात्र फरक रहेको बताए । उनका अनुसार ब्ल्याक कर्नमा एन्थोसिना भन्ने तत्व हुन्छ । जसले क्यान्सरको सेल्सलाई बढ्न दिँदैन । एन्टी अक्सीडेन्ट र एन्टी इम्प्लामेन्ट हुने भएकाले हातखुट्टा झम्झमाउने रोक पनि यसले निको पार्ने उनको भनाइ छ ।
स्वास्थ्यवद्र्धक र पोषणयुक्त
कालो मकैमा हुने एन्टीएक्सियन, इन्टीइन्फ्लामेटोरीले शरीरमा जलन हुन दिँदैन । यसमा आइरन, म्याग्नेसियम, फोस्फोरस, भिटामिन ‘ए’, थियामिन, रिबोफ्लाविन, निआसिन, फोल्यात तथा स्वस्थकर तत्व पनि पाइन्छन् । यो मकैलाई एन्टीअक्सीडेंटको पावर हाउस मानिन्छ यसले विकृत कोणहरू नष्ट गर्न मद्दत गर्दछ ।
यसमा इन्टीइन्फ्लामेटोरी हुनुका कारण शरीरको कुनै पनि दुखाई कम गर्न मद्दत गर्ने विज्ञहरु बताउँछन् ।यसमा अत्याधिक प्रोटिन हुन्छ । १०० ग्राम कालो मकैमा करिब ८ प्रतिशत प्रोटिनको मात्रा हुन्छ भने साधारण पहेँलोमा ५ प्रतिशत प्रोटिन पाइन्छ ।
ब्ल्याक कर्न कसरी खाने गरिन्छ ?
यो मकै अन्य मकै जस्तै उसिनेर, भुटेर, रोस्ट गरेर, ग्रिल गरेर खान सकिन्छ । कालो मकैसंग बटर, नुन र मरीच जस्ता मसलाको प्रयोग निकै सुहाउने त्रिपाठी बताउँछन् ।
यसलाई तरकारी झैँ तारेर रोटी वा ब्रेडसंग खान सकिन्छ । ब्ल्याक कर्न उसिनेर स्यालेड बनाई पनि खान सकिन्छ । ब्ल्याक कर्नलाई पिसेर झोल पदार्थ (जुस) को रुपमा पनि पिउन सकिन्छ । ब्ल्याक कोर्नको पल्प कुनै पनि जुस, साधारण पानी सँग पिउन सकिन्छ । कुनै पनि कक्टेल वा मोक्टेलसँग ब्ल्याक कर्न सुहाउँदो मिश्रण हुन सक्छ ।
यसलाई मिल वा जाँतोमा पिसेर च्याँख्ला बनाएर पनि खान सकिन्छ । पिठो, रोटी वा ढिँडो जस्ता परिकार बनाएर पनि प्रयोग गर्न सकिन्छ । आवश्यकता अनुशार पछि प्रयोग गर्ने गरी यो मकैलाई फ्रिजमा पनि राख्न सकिन्छ । र, यस बाट बनाइएका उत्पादन पनि न्यूनतम तापक्रममा सजिलै संरक्षण गर्न सकिन्छ । यो मकै फ्रिजरमा भण्डारण गर्दा खोया सहित स्टोर गर्दा राम्रो हुन्छ । खोयाबाट छोडाएर भण्डारण गर्नु उपयुक्त हुँदैन ।
अरु मकै फल्ने ठाउँमा फल्छ
उनका अनुसार नेपालमा मकै लगाउने ठाउँ यो मकै लगाउँदा मज्जाले फल्छ । २ मिटर हाइटसम्म अग्लो हुने यो मकैको बोटमा २ वटासम्म घोगा लाग्छ । यसको मकै २३ सेन्टिमटरसम्मको हुन्छ । यो मकै स्विट कर्न जस्तै गुलियो हुन्छ । तर, यसमा छिटो घुन लाग्ने पनि गर्छ ।
झण्डै ४ वर्षदेखि यसैको उत्पादन र साथी भाइको चेन मार्फत ब्ल्याक कर्नलाई देशका विभिन्न जिल्लामा पूराएका उनले नेपालमा यसको व्यवसायिक खेती कतै नभएको बताए । हेर्दा अनौठो र नयाँ जाती भएकाले, कृषकहरु यसको उत्पादन गर्न डराउने गरेको उनको बुझाइ छ ।
‘व्यवसायिक रुपमा पनि यो राम्रो हुन्छ, सलाद, जुस, वाइन बनाएर यसलाई सजिलै रेष्टुरेन्टहरुमा प्रयोग गर्न सकिन्छ तर, थोरै उत्पादनले बजारीकरण हुन सम्भव छैन,’ त्रिपाठी भन्छन् ।
नेपालमा ‘ब्ल्याक कोर्न’ को सम्भावना
दक्षिण अमेरिकी राष्ट्रहरूमा ‘ब्ल्याक कर्न’को व्यावसायी खेती हुने गरेको छ । उच्च तापक्रममा गहिरो बलौटे माटोमा ‘ब्ल्याक कर्न’ राम्रोसँग फल्छ । खडेरीको समयमा पनि ‘ब्ल्याक कर्न’को बिरुवा हुर्कने क्षमता राख्दछ । ‘ब्ल्याक कर्न’ गर्मी र जाडो दुवै मौसममा उत्पादन गर्न सकिन्छ ।
नेपालमा पनि व्यावसायिक रूपमा ‘ब्ल्याक कर्न’ को खेती गर्ने अध्यन तथा तयारी भइरहेको छ । नार्कको राईस रिसर्च युनिट लगायत केही कृषिका निजी अनुसन्धान केन्द्रहरूले पनि ‘ब्ल्याक कर्न’ मा काम गर्न सुरु गरेका छन् । नेपालका संस्थाहरूले चीनबाट बिउ मगाएर काम गर्ने तयारीमा अघि बढिरहेका छन् ।
तत्काल समस्या के देखिन्छ भने अन्य मकै भन्दा अलि छुट्टै राखेर ‘ब्ल्याक कोर्न’ को खेती गर्ने कि अरू मकै सँगै हुर्काउँदै लैजाँदा पनि उत्पादकत्वमा फरक पर्दैन भन्ने विषयमा अनुसन्धान पूरा भएपछि सम्भवतः ‘ब्ल्याक कर्न’ नेपाली बजारमा छिट्टै फस्टाउनेछ ।
ब्लाककर्न तैलिय चम्किलो कालो रंगको हुन्छ । यसको भित्री भागमा बैजनी रंगका ‘नानी’ पनि रहेका हुन्छन् । कालो मकैका सानो अग्लो डाँठ भएका बोटमा घोगा लागेका हुन्छन् । कालो मकैका बोटहरु करिब ३ मिटरको उचाइसम्म बढेका हुन्छन् । घोगोको लम्बाइ २० सेन्टिमिटरसम्म हुन्छ भने समग्रमा मध्यम आकारको प्रजाति मानिन्छ ।
कलिलो अवस्थामा कालो मकैको रंग सेतो हुने गर्दछ । बढ्दै जाँदा यसले क्रमशःगाढा कालो रंग धारण गर्दछ । मानिसको औंलाको रंगले जस्तै कालो मकैले पनि यसको बाहिरी वृद्धिकै अनुपातमा रंग परिवर्तन गर्दछ । कालो मकै स्वादिलो र माँडीलो पनि हुन्छ । यसमा मकैको प्राकृतिक गुलीयो स्वाद पनि रहेको छ । तर पहेँलो जातको मकै भन्दा बढी स्वादीलो हुने यसका प्रयोगकर्ताले बताउने गरेका छन् ।
कालो मकै गर्मी मौसम भएको स्थानका लागि उपयुक्त मानिन्छ । पहेँलो मकै प्रजाति परिवारको सदस्य नै रहेको कालो मकैलाई बाली विज्ञानले (जिआ) प्रजातिको मकै समुहमा सदियौं देखिखेती प्रणालीमा समेटिएको दाबी गर्दछ । तर प्रणालीगत कृषिमा भने यसले निश्चित भूभाग र क्षेत्र मात्र ओगटेको देखिएको छ ।
विभिन्न स्थानमा यसलाई फरक फरक नामले चिनिन्छ । पेरुमा यसलाई ‘मेइज मोराडो’ भनिन्छ भने संयुक्त राज्य अमेरिका तथा संयुक्त अधिराज्य बेलायतमा यसलाई ‘ब्लाक एज्टेक’वा‘ब्लाक मेक्सिकन मेज’ भनिने गरिएको छ । दक्षिण अमेरिका बाहेकका स्थानमा कालो मकै बजारमा सहजै उपलब्ध भएको पाइँदैन । तर स्थानीय सानाबजारहरुमा साना किसानले बिक्रीवितरण गर्ने गरेको पाइन्छ । वास्तवमा कालो मकै, यसको रंग र फरक स्वादका कारण लोकप्रिय बनेको छ ।
पेरुमा अत्यन्तै लोकप्रिय
पेरुमाअत्यन्तै लोकप्रिय रहेको पेय ‘चिचामोरादा’पनि कालो मकै उसिन्दा निस्किएको झोलबाट बनाइन्छ । गर्मी मौसममा यसको प्रयोग हुने गरेको छ । मसातो जस्ता अल्कोहोलिक उत्पादन पनि यसबाट गर्ने गरिन्छ । दक्षिण अमेरिकामा कालो मकै रातो र निलो रंग भएको प्रजातिमा पनि उपलब्ध हुने गरेको छ । ‘प्यूव्लो इण्डियन्स’हरुले यसलाई साँस्कृतिक अवशरहरुमा पनि प्रयोग गर्दै आएका छन् । उनीहरु यसलाई ‘ब्लाककर्न मेइडेन’पनि भन्ने गर्दछन् ।
यो मकै आदिकालदेखि नै प्रकृतिमा रहेको विश्वास गरिएको छ । अमेरिकी महाद्वीपका‘अज्टेक’ समुदायले भने कालो मकैलाई करिब २ हजार वर्षदेखि बालीको रुपमा उत्पादन र संरक्षण गरिरहेको अध्ययनहरुले देखाएका छन् ।
पेरु र दक्षिण अमेरिकामा भने यसको उत्पादन र प्रयोग अझ पूरानो हुनसक्ने ठानिएको छ । उत्तर अमेरिकामा भने करिब १८६० को दशकबाट प्रयोगमा आएको देखिन्छ । तर दक्षिण अमेरिका बाहेकका क्षेत्रमा यसलाई अझै पनि दुर्लभ कृषि बालीको रुपमा नै लिइन्छ । कालो मकैलाई उम्रन र फल्न तातो मौसमी क्षेत्र उपयुक्त मानिन्छ ।
मूलतः समसितोष्ण जलवायु भएको क्षेत्र जहाँमध्य र उच्च वर्षाको सम्भावना रहेको हुन्छ, ती क्षेत्रमा यसको खेती अपेक्षाकृत हुने देखिन्छ । मुख्यरुपमा पेरुभियन चिचामोरादा, चिचामोरादा बेस र मामोर्रा मोरादा अमेरिकीद्वीपमा यसबाट बनाइने गरेको मुल परिकार हुन् ।
नेपालको पनि तराई, भित्रीमधेश तथा दक्षिणी पहाडी क्षेत्र, उपत्यका र बेंशीहरुमा कालो मकैको खेतीगर्न सकिने देखिन्छ । यद्यपि यस बारेमा विस्तृत अध्ययन भने भइरहेको विज्ञहरुले बताएका छन् । चानक्यपोस्टमा छ ।