मकवानपुरगढीमा स्त्री रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा स्त्री रोगसबन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । यही चैत ५ गते आँपटार सामुदायिक स्वास्थ्य इकाईमा निःशुल्क स्वास्थ्य शिविर हुन लागेको हो ।
मकवानपुरगढी गाउँपालिकाको आयोजना र नेपाल परिवार नियोजन संघ मकवानपुर शाखाको प्राविधिक सहयोगमा शिविर हुन लागेको हो । आँपटार सामुदायिक स्वास्थ्य ईकाई परिसरमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म स्वास्थ्य शिविर हुने वडा नम्बर २ का अध्यक्ष बखान सिंह पाख्रिनले जानकारी दिए ।
शिविरका पाठेघर खस्ने समस्याको पहिचान तथा परामर्श सेवा, पाठेघरको मुखको क्यान्सर परिक्षण सेवा, स्तन क्यान्सर परिक्षण तथा परामर्श सेवा, लामो अवधिको परिवार नियोजन सेवा, स्त्री तथा प्रसुति रोग विशेषज्ञ सेवा, महिलाहरुको यौन रोग उपचार तथा परामर्श सेवा तथा महिलाहरुको स्वास्थ्य परिक्षण तथा औँषधि वितरण सेवा उपलब्ध हुने आँपटार सामुदायिक स्वास्थ्य इकाईले जानकारी दिएको छ ।