मकवानपुरगढी गाउँपालिका र जिसससँग ६ बुँदे सहमतिपछि शिवमको खानी पुनर्सञ्चालन
एमपी शर्मा, मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–७ स्थित खोटारमा रहेको शिवम् सिमेन्टको खानी पून सञ्चालनमा आएको छ । खानी क्षेत्रबाट निस्किएको ओभरबर्डनले खोला पुरेपछि मकवानपुर–२ का सांसद तथा एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाको नेतृत्वमा जिल्ला समन्वय समिति प्रमुख, मकवानपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान, शिवम् सिमेन्ट उद्योगका प्रतिनिधि रामजीप्रसाद चौरसिया लगायत स्थानीयको अनुगमनपछि खानी बन्द गरिएको थियो ।
बन्द खानी पुनर्संञ्चालन गर्ने विषयमा मकवानपुरगढी गाउँपालिका अध्यक्ष स्याङ्तान, जिल्ला समन्वय समिति प्रमुख ललित घलान र शिवम् सिमेन्टका प्रतिनिधिको बैठक बसेर ६ बुँदे सहमति गरी खानी पुनर्संञ्चालन गर्ने सहमति भएको हो । सहमतिअनुसार खोलाकिनारमा रहेको ओभरबर्डनलाई आवश्यकता अनुसार साधन लगातार रुपमा परिचालन गरी चैतभित्र सुरक्षित स्थानमा स्थानान्तरण गरिसक्नुपर्ने शर्तमा हाललाई खानी पुनर्संञ्चालनका लागि सहजीकरण गर्ने निर्णय भएको मकवानपुरगढी गाउँपालिका योजना तथा राजश्व शाखा प्रमुख प्रकाश न्यौपानेले जानकारी दिए । अब उप्रान्त ओभरबर्डन खोलामा नझार्ने गरी सतर्कतासाथ उद्योगले व्यवस्थापन मिलाउने र उक्त कार्यको संयुक्त अनुगमन टोलीले नियमितरुपमा अनुगमन गर्दै थप सुझाव दिने सहमति भएको छ ।
खोलामा झरेको ओभरबर्डन सिमेन्ट उद्योगले तोकिएको ठाउँमा ढुंगा र माटो फरकफरक गरी संकलन गर्ने र ती सामग्री उपभोग गर्नुपर्दा पालिकाको अनुमतिले मात्र उपभोगमा ल्याउनुपर्ने सहमति भएको छ । खानीबाट उद्योगले लैजाने लाइमस्टोन तथा अन्य उत्पादनको अभिलेख हाललाई दैनिकरुपमा जारी भएको चलानीप्रति तोकी उक्त प्रति गाउँपालिकामा उद्योगले दैनिक पठाउनुपर्ने उल्लेख छ । हरेक महिना ओभरबर्डन बिक्रीको विवरणसहित पालिकाले प्राप्त गर्नुपर्ने राजस्व तथा रोयल्टी लगायतका कर महिना समाप्त भएको १५ दिनभित्र गाउँपालिकामा जम्मा गर्नुपर्नेछ ।
त्यस्तै पालिका क्षेत्रभित्र उद्योगले सामाजिक क्षेत्रमा गरेको र गर्ने सहयोगको विवरण पालिकामा पठाउनुुपर्ने छ । उद्योगले सामाजिक दायित्वअन्तर्गत प्रकोप न्यूनीकरण तथा सम्भाव्य प्रकोप व्यवस्थापन गर्न पूर्वतयारीका कार्यक्रममा उद्योग र गाउँपालिकाबीच छलफल गरी क्षेत्र र योजना तय गर्ने सहमति पनि भएको पालिकाले जनाएको छ ।