सहकारीमा देखिएका विकृति रोक्न नीतिगत पहल गर्ने मन्त्री श्रेष्ठको वाचा
मकवानपुर । बागमती सरकारका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री एकालाल श्रेष्ठले सहकारीको क्षेत्रमा देखिएका विकृतिलाई रोक्न नीतिगत रुपमा पहल गर्ने बताएका छन् ।
शुक्रबार नमुना प्रगति सहकारीद्वारा आयोजित स्वागत सम्मान कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले पछिल्लो समय गलत व्यक्तिका खराब ऋणका कारण सहकारीको क्षेत्रमा विभिन्न समस्याहरु देखा परेको र जसले गर्दा आम मानिसमा सहकारीप्रति नै शंकाको वातावरण सिर्जना भएको बताउँदै मन्त्री श्रेष्ठले यसलाई नीतिगत रुपमै समाधान गर्नुपर्ने बताए । आफू सहकारी क्षेत्रको मन्त्री नभएपनि सरकारमा सहभागी सहकारी मन्त्रालय मार्फत जोडदार रुपमा पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
नमुना प्रगति सहकारीको उपाध्यक्ष समेत रहेका मन्त्री श्रेष्ठले आफू लामो समय सहकारीको अभियानमा जोडिएर आम मानिसलाई सहकारी मार्फत आर्थिक सशक्तीकरण गराएको स्मरण गरे । यस्तै उनले सहकारीलाई थप मजबुत बनाउन नीतिगत के गर्नुपर्छ सल्लाह सुझाव दिन समेत आग्रह गरे ।
कार्यक्रममा बागमती प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटा,सहकारीका अध्यक्ष मिठाराम दाहाल लगायतले शुभकामना दिँदै बधाई दिएका थिए । सम्मान कार्यक्रममा सहकारी संचालक समितिका पदाधिकारी, सदस्यहरु र कर्मचारीको उपस्थिति थियो ।