बागमती प्रदेश स्वास्थ्य मन्त्रीद्वारा हेटौंडा अस्पतालको अनुगमन

लोकखबर
१४ बैशाख २०८१, शुक्रबार २१:२३

मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले हेटौंडा अस्पतालमा अनुगमन गरेका छन् । शुक्रबार अस्पतालको अनुगमन गर्दै मन्त्री श्रेष्ठले बिरामीको स्वास्थ्य अवस्था बुझ्दै उनीहरुको स्वास्थ्य लाभको कामना समेत व्यक्त गरे ।

अनुगमनको क्रममा मन्त्री श्रेष्ठले अस्पतालमा उपचारका लागि आएका सर्वसाधारणहरुसँग उनीहरुले भोग्नुपरेका समस्याहरुका बारेमा जानकारी लिएका थिए । अस्पतालमा भएका पानी जारमा सर्वसाधरणका लागि आवश्यक पर्ने पानी राखिदिन र शौचालयलाई अझ सरसफाई गर्नुका साथै महिलाका लागी सेनिटरी प्याड राखिदिन अस्पतालका प्रसाशनलाई निर्देशन दिए।

हेटौंडा अस्पतालमा बिरामीको भिड देख्दा र जनता अफ्ठेरोमा परेको देख्दा आफुलाई निकै नै दुःख लागेको मन्त्री श्रेष्ठले बताए । बिरामीको उपचारका लागि ओ पि डि बढाएर भए पनि उनीहरुको स्वास्थ्यका लागि खट्न र बिरामीलाई चाहिने पर्याप्त औषधिको कमि हुन नदिन चिकित्सकहरुलाई निर्देशन दिनुभयो । मन्त्री श्रेष्ठसँग अस्पतालमा आएका सेवाग्राहीहरुले स्वास्थ्य बिमाको सेवा लिन, फार्मैसीमा औँषधी लिन समस्या भोग्नुपरेको गुनासो गरेका थिए ।

स्वास्थ्य मन्त्री श्रेष्ठले अस्पतालका कर्मचारीहरुलाई सेवाग्राहीको समस्या तत्काल समाधान गर्न निर्देशन दिए । उनले सेवाग्राहीको समस्या समाधान गर्न मन्त्रालयले अस्पताललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । मन्त्री श्रेष्ठले हेटौंडा अस्पतालको स्तरोन्नतिका लागि आवश्यक भौतिक संरचना तथा स्वास्थ्य उपकरणको अवस्था बारे जानकारी लिँदै समस्या भए समाधान गर्न निर्देशन दिए ।

मन्त्री श्रेष्ठले अस्पतालको जनरल वार्ड, ईमरजेन्सी, सर्जिकल वार्ड, प्रसुती वार्ड, अप्रेसन थिएटर, आईसीयू, एचडीयू,लगायत विभिन्न कक्षको समेत अनुगमन गरेका थिए। हेटौंडा अस्पतालमा ईमरजेन्सी र ओपीडीमा दैनिक एकहजार भन्दा बढी सेवाग्राहीहरुले सेवा लिने गरेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*