आध्यात्मिक सशक्तिकरणबाट शान्ति संभव छ–सांसद पुलामी
मकवानपुर । बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीले आध्यात्मिक सशक्तिकरणबाट शान्ति संभव रहेको दाबी गरेका छन् । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र मकवानपुरले स्वच्छ र स्वास्थ्य समाजको लागि शनिबार सुरु गरेको आध्यात्मिक सशक्तिकरण अभियानको उद्घाटन समारोहमा बोल्दै पुलामीले त्यस्तो दाबी गरेका हुन् ।
समाजमा हिजो एक अर्कोलाई सहयोग सद्भाव आदनप्रदान हुने गरेको तर आज एक अर्कोलाई सिद्याउने प्रचलन बढेको उनले बताए । ‘‘चाहे जुनसकै धर्म र आस्थाको कारण लडाइ भएको होस्, त्यसले नाश मात्रै गरेको छ, पृथ्वी बचाउनको लागि हर सबैमा एकले अर्कोलाई सम्मान गर्ने आदतको अनिवार्यता छ’ पुलामीले भने ।
कार्यक्रममा हेटौंडा ११ का वडा अध्यक्ष जुना दाहालले भौतिक विकासमा मात्रै ध्यान नदिइ आध्यात्मिक सशक्तिकरणमा पनि लगानी आवश्यक भएको बताइन् । बालबालिकालाई सही संस्कार सिकाउन जरुरी रहेको उनले बताइन् । पछिल्लो समय मानवमा घमण्ड बढ्दो र करुणा प्रेम घट्दो अवस्थामा रहेको मनकामना दुग्ध उत्पादन सहकारी संस्था अर्जुन दाहालले बताए । ‘सुख र शान्ति भनेको समृद्ध, प्रेम र सहकार्यमा छ, सुख पैसामा धनमा हैन, अन्तरमनमा छ’ दाहालले भने ‘आफूलाई बिर्सेर अरुलाई समर्पण गर्दा सुख छ, आनन्द पाइन्छ ।’ प्रेम बाड्न सकियो भने स्वस्थ्य रहन सकिने बताउँदै दाहालले भने ‘जस्तो आहार उस्तै ब्यावाहार र बिचार हुन्छ, खानपानमा पनि व्यवहार परिवर्तन गरौं ।’
योग ध्यान प्राणायमले पनि शारीरिक र मानसिक स्वस्थ्य संभव भएको आयुर्वेद तथा बैकल्पिक चिकित्सालय कविराज निरीक्षक बिनोद शाहले बताए । मानव कल्याणको लागि अभियान सुरु भएकोमा आयुर्वेद तथा बैकल्पिक चिकित्सालय कविराज निरीक्षक शाहले खुसी ब्यक्ति गरे । आध्यात्मिक शक्ति सबै प्रकारको शक्तिको स्रोत भएको ब्रह्मकुमारी राज योग सेवा केन्द्र क्षेत्रीय संयोजक शुसिला दिदीले बताइन् । सबै मानव आत्माहरू आफू सुध्रिएर परिवारलाई सुधार गर्न तर्फ लाग्नुपर्ने उनले बताइन् । सकारात्मक चिन्तन नै विशेष सम्पत्ति भएको उनले बताइन् ।
समाजलाई प्रकृतिलाई योगदान गर्नको लागि यो अभियान शनिबारबाट विश्वभर सुरु भएको उनले बताइन् । सकारात्मक संकल्प राख्न अनुरोध गर्दै भनिन् ‘जे सोच राखेर काम गर्यो,नतिजा उहीँ नै हुन्छ, यो समय भनेको संकल्प सुधारको समय हो।’ सबैको राम्रो र भलो होस् भनेर सोच्नेको पनि सधै भलो तथा सकारात्मक नै हुने उनले बताइन् । विश्वको आत्माले नै सकारात्मक संकल्प गर्नुपर्ने र बुझेकाले नै अरुलाई बुझाउन यो अभियान थालिएको उनले बताइन् ।
कार्यक्रममा केन्द्रका प्रशिक्षक ब्रम्हकुमार विजयराजले स्वच्छ र स्वास्थ्य समाजको लागि आध्यात्मिक सशक्तिकरण अभियानको आवश्यकताबारे जानकारी गराएका थिए । आध्यात्मिक सशक्तिकरण ज्ञानको चार्जिङको रुपमा उनले प्रस्तुत गरे ।
आध्यात्मिक सशक्तीकरणले आत्मालाई सशक्त बनाउने, १४० राष्ट्रमा अभियान सुरु गरिएको केन्द्रका देवनारायण लामिछाने बताए । यसैगरी सेवा केन्द्रको प्रशिक्षक ब्रम्हकुमार मणिले बाहिरी स्वच्छता मात्रै भएर नहुने र यसको लागि आन्तरिक रुपले मानसिक स्वस्थ्य आवश्यक भएको बताए ।