भीमफेदीमा पीजिएस प्रणालीको प्रभावकारिताबारे छलफल
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाका किसानहरुले अबलम्वन गरेको स्वच्छ उत्पादनको लागि सहभागितामुलक सुनिश्चितता प्रणाली (पीजिएस) को अभ्यासबारे समीक्षा गर्दै अबका कार्यदिशाबारे शुक्रबार छलफल गरिएको छ ।
भीमफेदी–५ सुपिङस्थित शिवशक्ति कृषि सहकारी संस्थाको आयोजनामा स्थानीय जनप्रतिनिधि, राष्ट्रिय कृषक समूह महासंघ, साना किसान समूह तथा कृषि सहकारीका अध्यक्ष एवम् प्रतिनिधि तथा कृषकहरुकोे उपस्थितिमा पीजिएसको कार्यान्वयनको अवस्था र त्यसको प्रभाव लगायतका विषयमा समीक्षा गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले कृषकहरुलाई जैविक खेतीतर्फ उन्मुख गराउने उद्देश्यका सञ्चालित पीजिएस कार्यक्रमबाट किसानहरु मात्रै नभई आम उपभोक्ताहरु पनि लाभान्वित भइरहेको बताए । उनले भीमफेदीलाई अर्गानिक उत्पादनको हब बनाउन पीजिएस कार्यक्रम प्रभावकारी मानिएको भन्दै किसानहरुलाई जैविक खेतितर्फ लाग्न आह्वान गरे । उनले कृषि उत्पादनको क्षेत्रमा गाउँपालिकाले कृषकसँग सहकार्य गर्दै आवश्यक सहयोग गर्न तयार रहेको बताए ।
त्यस्तै उपाध्यक्ष सन्जिव श्रेष्ठले पछिल्लो समय कृषि उत्पादनमा विसादीको बढ्दो प्रयोगले मानव स्वास्थ्यमा गम्भिर असर पुगिरहेकोतर्फ चिन्ता व्यक्त गर्दै जैविक खेतिको माध्ययमबाट कृषि उद्यमशिलता विकास गर्न सुझाव दिए । उनले गाउँपालिकाबाट पीएसजी कार्यक्रमको लोगो प्रमाणित गर्ने कार्य अन्तिम चरणमा पुगेको समेत बताए ।
कार्यक्रममा राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठ र भीमफेदी ५ का वडा अध्यक्ष जहार सिं लामाले कृषि क्षेत्रको प्रर्वद्धनका लागि थुप्रै रचनात्मक कार्यक्रमहरुमा सहकार्य गर्न तयार रहेको बताए । कार्यक्रममा वक्ताहरुले पीएसजी कार्यक्रम बारे कृषकहरुलार्य थप प्रष्ट पार्दै कृषि उत्पादन संकलन केन्द्रको स्थापना गर्नुपर्ने, बाँझो जमिन राख्न नहुने, विषादीको प्रयोग घटाउँदै लैजानुपर्ने विषयमा जोड दिएका थिए ।