हेटौँडामा गृहमन्त्री रवि लामिछानेद्वारा नागरिकलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न निर्देशन
मकवानपुर । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न, उनीहरूका समस्या र गुनासोप्रति बेलैमा ध्यान दिन र शान्ति–सुरक्षाको प्रबन्ध तथा नागरिक अधिकारविरुद्ध हुने गतिविधि तत्काल नियन्त्रण गर्न निर्देशन दिएका छन् ।
आज हेटौँडामा भएको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उपप्रधानमन्त्री लामिछानेले गोष्ठीका निष्कर्ष र योजना अक्षरशः पालना गर्दै नागरिकलाई तत्काल परिवर्तनको आभास दिने गरी काम गर्न जिल्ला सुरक्षा समितिका सदस्यहरूलाई निर्देशन दिएका हुन् । आम नागरिकलाई सरकारी कार्यालयको क्षेत्राधिकारसँग मतलब नहुने भन्नुहुँदै उपप्रधानमन्त्री लामिछानेले एउटा कार्यालयले अर्कोमा हुने कामको समेत समन्वय र सहजीकरण गरिदिनुपर्नेमा जोड दिए ।
आफूले गृह मन्त्रालयको नेतृत्व सम्हाले यताको दुई महिनामा राजस्व चुहावट नियन्त्रण, सरकारी र सार्वजनिक जग्गाको संरक्षण, कर्मचारीका गैर–व्यवसायीक आचरणजस्ता सुशासनका सूचकमा केही सुधार आएको भन्दै उनले नीतिगत सुधारमा समेत पर्याप्त ध्यान दिइएको बताए । उनले प्रहरी समायोजन, सुरक्षा सुदृढीकरण, विपद व्यवस्थापन, लागू औषध नियन्त्रणजस्ता क्षेत्रमा विशेष चासोका साथ दीर्घकालीन महत्वका काम भइरहेको बताए ।