हेटौँडा उपमहानगरपालिकाको बजेट २ अर्ब ४३ करोड

लोकखबर
३ असार २०८१, आईतवार १३:४३

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब ४३ करोड ८९ लाख ७१ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । उपप्रमुख राजेश बानियाँले आज उपमहानगरपालिकाको नगर सभाको १५ औँ अधिवेशनमा बजेट प्रस्तुत गरेका हुन् ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्षका तुलनामा आउँदो आर्थिक वर्षका लागि बजेटको आकार घटाएको छ । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट ५३ करोड २७ लाख ९५ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ६१ करोड ६५ लाख ८६ हजार रुपैयाँ, प्रदेश सरकारको विभिन्न अनुदानबाट ११ करोड १७ लाख ३९ हजार रुपैयाँ र संघीय सरकारको अनुदानबाट १ अर्व १६ करोड ५३ लाख रुपैयाँ व्यहोरिने अनुमान गरिएको छ ।

उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा हेटौँडा–१० मा निर्माणाधीन एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माण सम्पन्न गरी सञ्चालन गर्न ६ करोड बजेट विनियोजन गरेको छ । नागस्वती फुटबल स्टेडियम निर्माणका लागि १ करोड ७२ लाख रुपैयाँ, संघीय सरकारबाट हेटौंडा चक्रपथ अन्तर्गत वडा नम्बर १५, १६, १७ को सडक खण्डको स्तरोन्नति गर्न २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

चाइनाक्वाटरबाट राप्ती बाइपास जोड्ने सडकका लागि १ करोड रुपैयाँ, नेवारपानी गुम्बाटोल हुँदै गालछारांग–लिक्चे कैलाश, हेटौँडा कैलाश राक्सिराङ जोड्ने सडकका लागि २ करोड रुपैयाँ, बिपि मार्ग स्तरोन्नतिका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

शिक्षा तर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न ७३ करोड २७ लाख २६ हजार रुपैयाँ र आन्तरिकतर्फ ४ करोड ४५ ७२ लाख २६ हजार रुपैयाँ विनियोजन गरिएको छ भने हटिया र पदमपोखरीस्थित आधारभूतं अस्पताललाई स्वास्थ्य बीमामा आवद्ध गरी सञ्चालनका लागि आवश्यक बजेट व्यवस्था गरिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*