थानाभर्याङस्थित सडकमा खाल्डाखुल्डी पुरिँदै
मकवानपुर । डिभिजन सडक कार्यालयले हेटौँडा ११ थानाभर्याङस्थित सडकको दायाँबायाँ खाल्डाखुल्डी पुर्न सुरु गरेको छ । वर्षा र सवारीको चापका कारण यस क्षेत्रमा सडकको किनारा वरिपरि खाल्डाखुल्डी देखिएपछि डिभिजन सडक कार्यालयले खाल्डाखुल्डी पुर्न सुरु गरेको हो ।
पुर्वपश्चिम राजमार्ग अन्तर्गतको यो सडक खण्डमा दैनिक सयौँको संख्यामा मालबहाक ट्रकका साथै अन्य सवारी साधनको चाप पर्ने गर्छ जसका कारण सडक र सडक किनारा छिट्टै बिग्रने गरेको सरोकारवालाहरु बताउँछन् । अझ वर्षाको समयमा यस क्षेत्रमा स्थानीयलाई बस्नै गाह्रो पर्ने गरी बाटोमा हिलो र धुलो थुप्रने गरेको छ ।
स्थानीयहरुका अनुसार सडकको स्तरोन्नत्ति समय समयमा गर्ने गरिएको भएपनि त्यसको उचित अनुगमन नहुँदा र सवारी चापका कारण यो सडक छिट्टै बिग्रने गरेको छ । अहिले सडकको खाल्डाखुल्डी पुर्ने काम पनि केही समयको काम चलाउका लागि मात्रै भएकोले यसको दिर्घकालिन समाधानका लागि उच्चकोटीको पिच आवश्यकता भएको स्थानीयहरु बताउँछन् ।
सडकको अवस्था र तिव्र गतिका कारण यस क्षेत्रमा बर्सेनी दुर्घटनाको घटना बढ्दै गएको छ ।