मकवानपुरगढीका ज्येष्ठ नागरिकलाई न्यानो कपडा
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ घर भई हाल रोजगारीको शिलशिलामा देश बाहिर रहेका ७ जना मनकारी युवाले आफ्नो वडाका वृद्धवृद्धालाई न्यानो कपडा सहयोग गरेका छन् ।
वैदेशिक रोजगारीका क्रममा जापानमा रहेका पाँच र दक्षिण कोरिया रहेका दुई जनाले जापान–कोरिया समाज मकवानपुरगढी नेपाल नामक संस्थामार्फत ४१ जना ज्येष्ठ नागरिकलाई जाडोका बेला न्यानो कपडा सहयोग स्वरुप उपलब्ध गराएका हुन् । उनीहरुले उपलब्ध गराएको न्यानो कपडा बुधबार मकवानपुरगढी ६, आमभञ्ज्याङ्, डुम्रेकुनामा ४१ जना जेष्ठ नागरिकलाई वितरण गरियो ।
गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले ९८ वर्षका पदमबहादुर खड्कालाई न्यानो कपडा प्रदान गर्दै रोजगारीका लागि देश बाहिर रहेर जाडो याममा गाउँघरका ज्येष्ठ नागरिकलाई सहयोग गरेकोप्रति प्रशंसा गरे । आफ्नो गाउँघरका बाआमालाई जाडो बेलामा गरिएको सहयोगले देशबाहिर रहेका युवाहरुप्रति सदैव सम्झना र आशिर्वाद रहीरहने उनले बताए । युवाहरुले विदेशमा सिकेको सीपलाई स्वदेश फर्किएपछि प्रयोग गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष स्याङ्तानले कृषि र पशुपालन क्षेत्रमा मकवानपुरगढीमा राम्रो सम्भावना रहेको सुनाए ।
वडा अध्यक्ष कृष्णप्रसाद बजगाईले ज्येष्ठ नागरिकलाई यो जाडो बेलामा सहयोग गर्ने काम गरेर देश बाहिर रहेका युवाहरुले आफ्नो गाउँठाउँप्रति माया दर्शाउनु खुशीको विषय भएको बताए । उनले वडामा जेष्ठ नागरिकको संख्या धेरै रहेता पनि सामाजिक सुरक्षा भत्ता खाने मध्ये गाउँघरमै बसोबास गर्नेलाई पहिलो प्राथमिकतामा राखेर न्यानो कपडा वितरण गरिएको बताए । संस्थासँग वडाले आवश्यक समन्वय गरिरहेकोले छुटेकाहरुलाई अर्को चरणमा सहयोग गर्ने योजना सुनाए ।
न्यानो कपडा वितरण कार्यक्रममा वडा सदस्यहरु जीतबहादुर घलान, रणकुमारी परियार, शेरबहादुर लामा लगायतको उपस्थिती रहेको वडा सचिव सागर लामाले जानकारी दिए ।
ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरणको व्यवस्थापन हाल जापान रहेका सोमबहादुर स्याङ्तानले संयोजन गरेका हुन् जापान रहेकाहरु अशोक स्याङ्तान, एन्जल दहाल, निरोज पुडासैनी र अवीन सुवेदील सहयोग गरेका हुन् ।
यस्तै, दक्षिण कोरिया रहेका सन्तोष स्याङ्तान र सुर्यबहादुर लुङ्बाले सहयोग गरेको वडाध्यक्ष बजगाईँले जानकारी दिए ।