भुटनदेवीसहितका विद्यालय अवलोकनमा इन्द्रसरोवरका प्रधानाध्यापक
मकवानपुर। मकवानपुरको हेटौंडा ४ स्थित जिल्लाकै पुरानो सामुदायिक विद्यालयको इन्द्रसरोवर गाउँपालिकाको प्रध्यानाध्यापक तथा शिक्षा शाखाको टिमले अवलोकन गरेका छन् ।
इन्द्रसरोवर गाउँपालिकाका सातवटा सामुदायिक विद्यालयका प्रअ र शिक्षा शाखाका कर्मचारीले हेटौंडाका चारवटा सामुदायिक विद्यालयको अध्ययन– अवलोकन भ्रमण गरेका हुन ।
यहाँको सामुदायिक विद्यालयमा भएका असल अभ्यास, शैक्षिक गुणस्तर सुधारका लागि शैक्षिक भ्रमण गरिएको इन्द्रसरोवर १ मार्खुस्थित सरस्वती वालबोधिनी माविका रामशरण दाहालले जानकारी दिए ।
भ्रमण टोलीले हेटौंडा ४ मा रहेको भुटनदेवी मावि, हटिया १६ मा रहेको जनप्रिय मावि, हेटौंडा ९ पशुपतिनगरमा रहेको प्रगति मावि र हेटौंडा ५ पिप्लेमा रहेको बाल ज्योति माविको अध्ययन अवलोकन गरेको हो ।
भ्रमण टोलीसँगको छलफलमा हेटौंडा वडा नंं ४ का वडाअध्यक्ष समेत रहेका भुटनदेवी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देलले शैक्षिक गुणस्तर सुधारमा सबैको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले शैक्षिक सुधारका लागि शिक्षकका लागि तालिम प्रदान गर्नुपर्ने बताए । स्थानीय तहले पनि शैक्षिक वातावरण बनाउनुपर्ने भन्दै उनले सम्बन्धित वडा कार्यालयले नतिजाको जिम्मा लिनुपर्नेमा जोड दिए ।
भुटनदेवीमाविका सहायक प्रअ भरत पोखरेलले विद्यालयको शैक्षिक प्रगतिबारे जानकारी गराएका थिए । कार्यक्रममा भुटनदेवी माविका प्रअ माधव प्रसाद दाहाल लगायतकाले बोलेका थिए । यस विद्यालयमा हाल मधेश प्रदेशसहितका विद्यार्थी अध्ययनरत छन् । हाल दुई हजार ४५९ जना विद्यार्थी यस विद्यालयमा अध्ययनरत रहेको अध्यक्ष सिग्देलले जानकारी दिए ।