१३ नम्बर वडा बुधबार बालमैत्री घोषणा
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा तयारी तीब्र पारिएको छ ।
वडाअध्यक्ष पेम्बा लामाका अनुसार पुस २४ गते बुधबार बालमैत्रीका लागि आवश्यक सूचक पूरा गरेसँगै वडा घोषणाको तयारी गरिएको हो । वडाध्यक्ष लामाले ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको हो ।
बालमैत्री स्थानिय शासनयुक्त वडा घोषणा मूल समारोहका संयोजक समेत रहेका उनले स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरुमध्ये हाल ४५ वटा सूचकमा शतप्रतिशत, २ वटा सूचकमा ९८ प्रतिशत, १ वटामा ९६ प्रतिशत, १ वटा सूचकमा ९५ प्रतिशत र २ वटा सूचकमा ८१ प्रतिशत काम भएको बताए ।
अहिले हेटौंडाको विभिन्न वडालाई घोषणा गर्दै हेटौंडा उपमहानगरपालिकालाई नै बालमैत्री बनाउँने तयारीमा उपमहानगरपालिका लागिपरेको छ । १९ वटा वडा रहेको हेटौंडा उपमहानगरपालिकाको १ नम्बर वडालाई आगामी माघ ११ गते बालमैत्री घोषणा गर्ने तयारी रहेको वडाध्यक्ष सविन न्यौपानेले जानकारी दिए ।