पोलीछाङ्दाबाट भुक्तानी नपाएको गुनासो
मकवानपुर । काठमाडौँ-तराई-मधेस द्रुतमार्गको प्याकेज नं. २ स्थित चालिसे डाँडामा माटो कटिङ गरेका मकवानपुरका आधा दर्जनबढी निर्माण व्यवसायीले भुक्तानी नपाएको गुनासो गरेका हुन ।
नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रुतमार्गको ठेक्का लिएको चाइनिज कम्पनी पोलीछाङ्दाले भुक्तानी नदिएपछि आफूहरु समस्यामा परेको जय गौरी शङ्कर कन्स्ट्रक्सनका प्रोप्राइटर प्रेम बहादुर मुक्तानले बताए । उनले बकैया गाउँपालिका वडा नं. ११ र मकवानपुरगढी गाउँपालिका वडा नं. १ लेनडाडाँको प्याकेज नं. २ को चालिसे डाँडामा माटो कटिङ गरेका हुन् ।
चाइनिज कम्पनीले नेपाली निर्माण व्यवसायीलाई लामो समयदेखि भुक्तानी नदिएको बताइएको छ । चाइनिज कम्पनीसँग आधा दर्जन नेपाली निर्माण कम्पनीले एकरोड १५ लाख २१ हजार रुपियाँ भुक्तानी लिन बाँकी रहेको मुक्तानको भनाई छ । उनका अनुसार जि.एल.वि कन्स्ट्रक्सनले ४२ लाख, वि.एण्ड.वि कन्स्ट्रक्सनले १८ लाख, अभिनाश ढुवानी सेवाले १८ लाख, जय गौरी शङ्कर कन्स्ट्रक्सनले १३ लाख ८४ हजार, काली देवी कन्स्ट्रक्सनले १० लाख ७ हजार, आर्य तारा कन्स्ट्रक्सनले ८ लाख ३० हजार र वि.एण्ड.वि (ख) कन्स्ट्रक्सनले ५ लाख रुपियाँ भुक्तानी पाउन बाँकी रहेको छ ।
नेपाली निर्माण कम्पनीले लामो समयदेखि भुक्तानी नपाएपछि ठेक्का पाएको चाइनिज कम्पनीलाई लिखित रूपमा भुक्तानीको लागि आग्रह गरेको छ । त्यस्तै निर्माणको जिम्मा लिएको सेनाको लेन डाँडा बेस क्याम्प, काठमाडौँ-तराई द्रुत मार्ग आयोजना र बकैया-१२ ठिंगनमा रहेको इलाका प्रहरी कार्यालय समेतलाई बोधार्थ जानकारी दिएको छ ।
लामो समयदेखि भुक्तानी नपाउँदा समस्यामा परेको आर्य तारा कन्स्ट्रक्सनका प्रोप्राइटर राजीव घलानले बताए । उनले भुक्तानीको लागि पहल गरिदिन वडा कार्यालयसँग पनि अनुरोध गरेको जानकारी दिए । त्यस्तै,बि.एण्ड बि. कन्स्ट्रक्सनका प्रोप्राइटर सोम बहादुर तिमल्सिनाले काम गरेको भुक्तानी नपाउँदा बैङ्कको किस्ता तिर्न समेत समस्या भएको गुनासो गरे ।
बकैया गाउँपालिका वडा नं. ११ का वडा अध्यक्ष गोपालबहादुर न्यासुरले निर्माण व्यवसायीले भुक्तानी नपाएको विषयमा चाइनिज कम्पनी र नेपाली सेनासँग आवश्यक छलफल र समन्वय प्रयास भइरहेको जानकारी दिए ।