सेनाको होमलालले जिते अल्ट्रादौडको उपाधि

एकलाख नगद पुरस्कार, तीन विदेशीसहित एकसय २५ धावक सहभागी
लोकखबर
२२ चैत्र २०८१, शनिबार २०:१५

विदुर–खेल पर्यटनको विकासका लागि नुवाकोटमा पहिलो पटक सन्चालित सर्वाधिक राशीको त्रिशूली अल्ट्रा दौड प्रतियोगिता सम्पन्न भएको छ । सर्वाधिक राशीको यस प्रतियोगिताले नुवाकोटका विभिन्न स्थानमा पर्यटकिय खेल गतिविधिमा मद्धत पुग्ने अपेक्षा गरिएको छ ।
नेपाल एडभेञ्चर रनिङ महासङ्घको आयोजनामा साहसिक तथा पर्यटकीय खेल ‘त्रिशूली अल्ट्रा–२०२५’ शनिवार नुवाकोटमा सम्पन्न भएको छ । वागमति प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्ला खेलकुद विकास समिति नुवाकोट र रसुवाको प्रवद्र्धनमा प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा तीन जना विदेशीसहित एकसय २५ जना धावकहरुको सहभागिता रहेको थियो । विजेताहरुलाई वागमति प्रदेशका मुख्यमन्त्रि वहादुरसिंह लामाले नगदका साथ, मेडल र प्रमाणपत्र वितरण गरे ।
उनले खेल जगतले मानव जविनलाई सत्मार्गमा लैजानुका साथै अनुशासित रुपमा रहन सिकाउने वताए । कार्यक्रममा वागमति प्रदेश खेलकुद परिषदका सदस्य सचिव दीपक लामाले यस प्रतियोगिताले नुवाकोट र रसुवाको खेल पर्यटनमा विशेष योगदान दिएको वताए ।
प्रदेश खेलकुद विकास परिषद् बागमतीको सहयोगमा सन्चालित प्रतियोगितामा महिला तथा पुरुषतर्फका विजेताहरुले समान राशी पुरस्कार प्राप्त गरेका छन् । बेलकोटगढीबाट सुरु भएकोे प्रतियोगिता नुवाकोटका २० स्थान घुमेर प्रसिद्ध देवीघाटमा पुगेर सम्पन्न भएको थियो ।
प्रतियोगितामा नेपाली सेनाका होमलाल श्रेष्ठ प्रथम भए । उनले निर्धारित दौड चार घण्टा ३० मिनेट २२ सेकेण्डमा पुरा गरेर नगद एकलाख पुरस्कारसमेत थापे ।
नेपाली सेनाकै गोपाल तामाङले निर्धारित दौड चार घण्टा ३५ मिनेट ५४ सेकण्डमा पुरा गरेर दोश्रो भई नगद ७५ हजार रुपैया पुरस्कारसमेत थापे । सोलुखुम्वुका अर्जुन राई कुलुङले निर्धारित दौड चार घण्टा ४१ मिनेट ४० सेकण्डमा पुरा गरेर तेश्रो भई नगद ५० हजार रुपैया पुरस्कार थापे ।
नेपाली सेनाका तीलकवहादुर सुनारले सान्त्वना भई नगद २० हजार, रुकुमका शक्तिमान रोक्काले पांचौ स्थान भएर नगद १० हजार नगद पुरस्कार पाए । महिलातर्फ पनि अल्ट्रादौड प्रतियोगिता गराइएको थियो ।
महिलातर्फ त्रिभुवन आर्मी क्लवकी सुनसोरी रोकाया प्रथम भई नगद एकलाख रुपैया पुरस्कार थापिन् । उनले निर्धारित दौड पांच घण्टा ५१ मिनेटमा पुरा गरिन् ।
खोटाङकी निर्मला राइले निर्धारित दौड ६ घण्टा १३ मिनेटमा पुरा गरि प्रतियोगितामा दोश्रो भइ नगद ७५ हजार रुपैया पुरस्कार थापिन् । नेपाल प्रहरीकी लाक्पानिमा शेर्पाले निर्धारित दौड सात घण्टा १४ मिनेटमा पुरा गरि प्रतियोगितामा तेश्रो भई नगद ५० हजार रुपैया पुरस्कार थापिन् ।
ओखलढुंगाकी छोकी शेर्पाले निर्धारित दौड सात घण्टा ३८ मिनेटमा पुरा गरि प्रतियोगितामा सान्त्वना भई नगद २० हजार रुपैया पुरस्कार थापिन् । ओखलढुंगाकी सोमिना शेर्पाले निर्धारित दौड आठ घण्टा ३ मिनेटमा पुरा गरि प्रतियोगितामा पांचौं भई नगद १० हजार रुपैया पुरस्कार पाइन् ।
महिला र पुरुषतर्फको प्रतियोगिता दुवैतर्फ सहभागी छैटौंदेखि दशौंसम्मका विजेताले वरावरी जगद तीन÷तीन हजार रुपैया पुरस्कार थापे । प्रतियोगितामा राष्ट्रिय, अन्र्तराष्ट्रिय र स्थानीय धावक खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिताका संयोजक तथा आयोजक महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जानकारी दिए ।
करिब ६० किलोमिटर दुरी रहेको प्रतियोगितामा सहभागीताका लागि दर्ता शुल्क तीनसय रुपैया शुल्क लिइएको थियो । नुवाकोटको बेलकोटगढीस्थित निरञ्जना भगवती मन्दिर परिसरबाट सुरु हुने दौड पुरानो सिँढीबाटो, मालाकोट, शेरा, मुरलीटार, नुवाकोट दरबार, दारीगौंडा, फँलाटे, डाँडागाउँ, गेर्खु शान्ती कल्याण स्कुल, चाँपटार, केराघारी, बेत्रावती, सोलेपुल, तुप्चे, त्रिशूली अस्पताल, पञ्चकन्या मन्दिर सिँढी, चारघरे, रनभुवेश्वरी स्कुल, देविघाट पुल हुँदै पवित्र तीर्थस्थल देवीघाट बजारमा पुगेर सम्पन्न भएको आयोजक महासङ्घका अध्यक्ष एकेन्द्रबहादुर कुँवरले जानकारी दिए ।
२० भन्दाबढी चेकप्वाइन्ट रहेको सो प्रतियोगितको प्रवद्र्धक नुवाकोट खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङले जानकारी दिए । शाहसिक खेल पर्यटन प्रवद्र्धनको लागि परिचित यस प्रतियोगितामा सन्चालनार्थ ३२ लाख ५१ हजार रुपैया खर्च भएको अनुमान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता नुवाकोटका विदुर, वेलकोटगढी नपा, लिखु र सुर्यगढी गाउंपालिका र छिमेकी रसुवाको उत्तरगया गापाको सहकार्यमा सम्पन्न भएको हो । प्रतियोगिताले धावकहरूलाई शारीरिक र मानसिक रूपमा चुनौती दिनुका साथै नुवाकोट क्षेत्रको प्राकृतिक सौन्दर्य, संस्कृति, र ऐतिहासिक महत्वलाई उजागर गर्ने र यसलाई निरन्तरता दिइनुपर्ने स्थानीय युवा किशोर ओलीको भनाई छ ।
विजेताहरुलाई विदुर नपा ५ स्थित देवीघाटमा पुरस्कार प्रदान गरिएको छ । विजेताहरुलाई पुरस्कार वितरण गर्दै वागमति प्रदेशका मुख्यमन्त्रि वहादुरसिंह लामाले नेपालमा खेल पर्यटनको सम्भावना उच्च रहेको कारण यसलाई प्रमुखता दिइने वताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*