चैते दशैंमा देवदेवी मन्दिरहरुमा भक्तजनको भीड

विदुर–चैते दसैँको अवसरमा नुवाकोटका विभिन्न देवदेवी मन्दिरहरुमा दर्शनार्थीको भीड लागेको छ । विभिन्न स्थानमा आन्तरिक तथा वाह्य पर्यटकहरुसमेत पुगेका छन् ।
नुवाकोटको प्रसिद्ध भैरवी, जालपादेवी, पन्चकन्या, सामरीदगायतका मन्दिरहरुमा शनिवार भक्तजनहरुको निकै घुइँचो लागेको थियो । विदुर नपा २ स्थित भैरवी, देवीघाटस्थित जालपादेवी र म्यागङ गापा ५ सामरीमा रहेको मन्दिरमा दिनैभर हजारौं भक्तजनहरु पुगेका थिए ।
चैते दसैँका अवसरमा नुवाकोटको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक महत्वको भैरवी, जालपादेवी, सामरीस्थित सरस्वती मन्दिरमा दर्शनार्थीको ठुलो घुइँचो लागेको थियो । भक्तजनहरुले मन्दिरमा पुजाआजा गर्नुका साथै नरिवलसमेत चढाएका थिए ।
सामरीको भ¥याङभुरुङस्थित सरस्वती मन्दिरमा गत वर्षको भन्दा यस वर्ष धेरै भक्रजन आएको स्थानीय अर्जुनप्रसाद सापकोटाले वताए । मन्दिरमा भक्तजनहरुको सुरक्षा प्रवन्धका लागि सुरक्षाकर्मि परिचालन गरिएको थियो ।
सो मन्दिर सदियौं पुरानो रहेको र प्रत्येक वर्षको चैत्र र कार्तिक दुई महिना विशेष मेला लाग्ने गरेको स्थानीयवासी जगतवहादुर तामाङले वताए । मन्दिरमा पुजाआजा गर्नका लागि हिन्दु तथा वौद्ध धर्म मान्ने सर्वसाधारण पुगेका थिए ।
नुवाकोटका विभिन्न देवदेवी मन्दिरमा दर्शन र पूजाआजाका लागि भक्तजनहरु दिनैभर लाइनबद्ध भई पुजाआजामा व्यस्त रहेका थिए । विभिन्न मन्दिरहरुमा एकैदिन हजारौं भक्तजनहरुले दर्शन गरेको पुजारीहरुले वताए ।
नौ वर्ष अगाडिको विनासकारी भूकम्पले क्षति पु¥याएको भैरवी मन्दिर पुनःनिर्माण गरिएसँगै दर्शनार्थीको सख्या बढेको स्थानीय युवा सामाजिक अगुवा महेन्द्र श्रेष्ठको भनाई छ । मन्दिरमा पूजाआजा र दर्शनका लागि नुवाकोटसहित रसुवा, काठमाडौँ, धादिङ, सिन्धुपाल्चोक, चितवन र मकवानपुरलगायतका विभिन्न जिल्लाबाट भक्तजन आएको स्थानीयवासीले वताए ।
चैत्राष्टमी अर्थात् चैतेदसैँमा देव देवी मन्दिरमा विशेष रुपमा पूजाआजा हुने गर्दछ । देवी मन्दिरमा बोका, राँगा, कुखुरालगायतका बलि चढाउने परम्परासमेत रहेको छ ।