थ्रेसरले किच्दा युवकको मृत्यु

ट्रयाक्टर र चालक नियन्त्रणमा
लोकखबर
२४ चैत्र २०८१, सोमबार २०:२०

विदुर–नुवाकोटको ककनीमा थ्रेसर मेसिनले किचेर एक जना युवकको ज्यान गएको छ । प्रहरीले थ्रेसरसहितको ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिएको छ ।
नुवाकोटको पुर्वी भेगमा रहेको ककनी गाउँपालिका ३ ढुङ्गानागाउँमा ट्याक्टरमा जडान भएको थ्रेसर मेसिनले किचिएर स्थानीय एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । मृत्यु हुनेमा सोही स्थानका ३२ वर्षीय धर्मराज ढुङ्गाना रहेको प्रहरीले जनाएको छ ।
पांच वर्षदेखि मलेशियामा कार्यरत ढुंगाना घर विदामा आएका वेला दुर्घटना भएको ककनी ३ का वडाध्यक्ष घननाथ वजगाइले जानकारी दिए । ढुंगाना विदा सकेर सोमवार मलेशिया फर्कने क्रममा रहेका थिए ।
ढुंगानाकै खेतमा गहुं झार्न प्रयोग गरिएको ना६त २०८२ नम्बरको ट्याक्टरमा जडान गरिएको थ्रेसर मेसिनले किचिएर उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो । खेतमा गहुं झारेर घर फर्कने क्रममा थ्रेसरसहितको ट्रयाक्टरले घर नजिकै पुगदा किचेर घाइते भएका थिए ।
घरदेखि चारसय मिटर नजिक थ्रेसर मेसिन पल्टिएर च्यापिँदा उनी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका उनको उपचारको क्रममा ज्यान गएको हो ।
ट्याक्टर चालक कृष्ण अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । थ्रेसर र ट्रयाक्टर भने ककनी प्रहरीको नियन्त्रणमा रहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । विदुरमा मृतकका आफन्तजन तथा ट्रयाक्टर धनीवीच विमाको रकम सांढे पांच लाख र थप दुई लाख रुपैया क्षतिपुर्ति दिने सहमति भएको वडाध्यक्ष घननाथ वजगाइले जानकारी दिए ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*