लोप हुंदै ‘फेरी’ लगाउने संस्कृति

पुराना विते, नयां पुस्ताले चासो दिएनन्
लोकखबर
२७ चैत्र २०८१, बिहीबार १९:५१

विदुर-पुराना पुस्ता सकिदै गएको र नयां पुस्ताले चासो नदिएपछि नुवाकोटमा ’फेरी’ संस्कृति जोगाउनै मुस्किल भएको छ । नेपालको संस्कृतिसंग जोडिएको यसको संरक्षण र समवद्र्धनको आवस्यकता ठहर भएको छ ।
विदुर नगरपालिका–५ माझिटारका ६५ वर्षीय होमवहादुर(केशर) कमर योगी यतिबेला गाउंघरमा ’फेरी’ लगाउने कार्यमा व्यस्त छन् । उनी नाथ (योगी) समुदायको परम्परा अनुसार फेरी लगाउन व्यस्त भएका हुन् ।
उनी वर्षको दुई पटक चैत र कार्तिक गरी वर्षमा दुई पटक फेरी लगाउने गर्छन् । फेरी लगाउंदा उनी जहां फेरी लगाउंदै पुगियो, त्यहि वास वस्ने गर्दछन् ।
उनी आफुलाई एक गाउंमा फेरी लगाउन एक साताकै समय लागने वताउंछन् । एक महिना पुरै आफु फेरी लगाउंदै गाउंमै वास वस्ने गरेको वताए ।
वर्षको दुई पटक आफ्नो पुरानो घरभित्र देवताथानमा राखिएको बराहको सिङवाट वनाइएको बाजालाई पूजा आराधना गरेर फेरी लगाउन सुरु गरिएको उनले बताए । ‘घरवालालाई रक्खे (रक्षा) होस्, चिताएको पुगोस्, भुत पिसाचले दुःख नदिओस् भनेर मन्त्रोचारणसहित जप गरिन्छ’ उनले भने ।
आफ्नो इलाकामा रहेका घरमा पुगेर चारै सुर घुमेर रातीको मन्त्रोचारण जपनपछि बिहानपख घरधनीले आफ्नो गच्छे र इच्छा अनुसारको अन्नपात दान दक्षिणासहित सिदा दिने चलन रहेका छ । गोरखनाथका भक्त फेरी लगाउनेलाई चामल, धान, मकै, कोदो, जौ, भटमास, आलु, घिउ, नुन, तेल, बेसार, पैसा दिने गरिन्छ ।
घर लिप–पोत गरी चोखो–नितो गरेर दशाग्रह काटिन्छ भन्ने मान्यताका साथ सिदा दिने परम्परा चलिआएको छ । ‘उहिले–उहिले ओखर, कालो मास, कालो तिल, कालो धान, कालो कपडा, फलामको हतियारसहित भेटी दिने चलन थियो ।’
उनले अगाडि भने–‘परिवर्तनसंगै आजभोलि त्यो चलन हरायो, मानिसले खान मिल्ने कुराहरु दान दिन्छन, रुपैया, पैसा भेटी चढाउंछन्’–कमरले भने । होमबहादुरले ९ वर्षको उमेरदेखि नै फेरी लगाउन सुरु गरेको बताए ।
उनका चार दाजुभाई छोराहरुले अहिलेसम्म यो पेशा अंगालेका छैनन्, कुनैले सुरु गरेका छैनन, पेशाको निरन्तरताको चिन्ता छ, हेरुं अझै समय छ, एउटा न एउटालाई चेलो वनाएरै छाड्छु–६५ कटेका होमवहादुरले आत्मविस्वाससाथ भने । यो पेशा उनका बाबु डम्वरनाथ, बाजे वद्रीनाथले पनि यही पेसा अपनाएरै वितेको उनी सुनाउँछन् ।
‘बाजे बराजुको पालादेखि नै फेरी लगाउँदै आएका हो । ’ उनले भने–‘अबको पुस्ताले भने यो पेशा जोगाउछ–जोगाउँदैन भन्न सकिँदैन ।’
पहिले पश्चिम १ नं. भनेर चिनिएको नुवाकोटमा फेरी लगाउने पेशामा उनीलगायत अन्य ३१ जनाले पेशा गरेकोमा हाल उनीसहित पांचजना मात्र यो परम्परागत पेशामा छन् । कोही वितिसके, कोहीले वुढो भएर गर्न छाडे–उनले वास्तविकता सुनाए ।
हाल होमवहादुरजस्तै विष्णुनाथ, लीलानाथ, भैरवनाथ र श्यामवहादुरले यस पेशालाई नुवाकोटमा टिकाइराखेको उनी वताउंछन् । घरमा धननास नहोस भनेर फेरी लगाउने गरेकोमा हाल नयां पुस्ताले यस पेशालाई चासो नदिएको उनी वताउंछन् ।
नेपाली समाजमा योगी, जोगी आए घरको ढोका खुल्ला गरिदिएर दानदक्षिणा दिएमा घरको लक्षिन वस्ने परम्परा रहेको र यसले सामाजिक सद्भावसमेत कायम हुने उनले वताए । अहिलेको समाजमा यो परम्परा कथाजस्तै हुन लागेको आफुलाई चिन्तालागेको उनले सुनाए ।
उनीहरूले गाउं (क्षेत्र) निर्धारण गरेर फेरी लगाउने गरेका छन् । ‘हाम्रो छुट्टा–छुट्टै क्षेत्र छ, मेरो वेलकोट, नगगाउं र चैनवुर हो, जुन वेलकोटगढी नगरपालिकाको ९, १०, ११ र विदुर नपा ६ मा पर्छ ।’
उनले भने–‘पहिलेदेखि नै क्षेत्र तोकेर फेरी लगाउने चलन हो, त्यही अनुसार हामीले पनि क्षेत्र तोकेर फेरी लगाइरहेका छौं, अरुकोमा गएर लगाउन मिल्दैन ।’ कतिपय स्थानमा फेरी लगाउनेहरु वितिसकेका कारण सो स्थानमा वन्द भएको छ ।
हामीहरुको फेरी लगाउन्े योगी वितेपछि तीन वर्षदेखि लगाउन पाइएको छैन्–विदुर नपा ५ माझिटारका वृद्ध राजेन्द्र अर्यालले वताए । ‘यो विषयमा अव कसले पहिल्याउने हो, हामीहरु अन्यौलमा पो छौं त’ अर्यालले गुनासो गरे ।
गाउंघरमा फेरी लगाउने चलन कहिलेदेखि सुरु भएको भन्ने एकिन समय थाहा नभएपनि दुई सय ५० वर्ष अगाडिदेखि फेरी लगाउने सुरु भएको किम्वदनती रहदै आएको छ । त्यसवेला राजाको लागि विभिनन सूचना दिने विस्वासपात्रका रुपमा फेर िलगाउने योगीहरुलाई लिने गरिएको किम्वदनती रहदै आएको वृद्धवृद्धाहरु वताउंछन् ।
नेपाल एकिकरणको सुरुवात गरेका वेला पृथ्वीनारायण शाहले सूचना दिने विस्वासिलो पात्रको रूपमा जोगीलाई खटाएको भनिदै आएको छ । तर पछि संस्कृतिको रूपमा विकास भएको वृद्ध यज्ञवहादुर केसीले बताए ।
‘सुरुमा चाहिँ पृथ्वीनारायण साहले सुचनादाताको रूपमा खटाएको सुनिदै आएको हो’ केसीले भने–‘पछि चाहिँ संस्कृतिको रूपमा विकास भयो ।’ फेरी लगाउने पेशाको निरन्तरताको आवस्यकता रहेको केसीको भनाई छ ।
हामीले पहिलेदेखि नै परम्परा धानेका छौं, थप कुरा वुझ्न सकिएको छैन, हामीलाई पेशाको निरन्तरताको चिन्तामात्र छ–योगी होमवहादुर कमरले वताए । पहिले योगी वन्न हानथाप हुन्थ्यो, अहिले नाक पो खुम्च्याउंछन्–उनको थप गुनासो छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*