दुर्गा प्रसाइ वडीगार्डसहित पक्राउ

विदुर– प्रहरीले दुर्गा प्रसाइलाई पक्राउ गरेको छ । प्रहरीलाई प्रसाईमाथि १२ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
राज्यविरुद्धको कसुरमा प्रसाईंलाई कारबाही अगाडि बढाउने गरी म्याद दिइएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठको भनाई छ । प्रसाईं क्यान्सरको बिरामी भएकाले उनको उपचारको प्रबन्ध मिलाउनसमेत अदालतले प्रहरीलाई आदेश दिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
प्रसाईंका बडीगार्ड दीपक खड्कालार्ई पनि अदालतले १२ दिन नै हिरासतमा राख्ने अनुमति दिएको छ । प्रहरीले राजा फर्काउने भन्दै चैत १५ गते काठमाडौंको तीनकुनेमा हिंसा मच्चाएर सोही वेलादेखि फरार दुर्गा प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई पक्राउ गरेर शुक्रवार काठमाडौं ल्याएको थियो ।
उनीहरूलाई झापाको भद्रपुर विमानस्थलबाट बुद्ध एयरको जहाजमा काठमाडौं ल्याएर सरकारी वकिलको कार्यालय हुँदै अदालत लगिएको थियो । उनीहरू दुवैलाई राज्यविरूद्ध तथा संगठित अपराधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याएर अदालत लगिएको थियो ।
जहाँ उनीहरूलाई १२ दिन हिरासतमा बस्नुपर्ने भएको छ । गत चैत १५ गते राजावादी समूहले काठमाडौंको तीनकुनेमा आयोजना गरेको आमसभा हिंसात्मक बन्दा दुईजनाले ज्यान गुमाएका थिए ।
यसअघि उक्त प्रदर्शनपछि पक्राउ परेका राप्रपाका नेताहरु धवलशमशेर जबरा र रवीन्द्र मिश्रसहित दुई पटक गरेर २० दिनका लागि हिरासतमा छन् ।