राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

त्रिशूली-स्थानीय तहमा खेल गतिविधि वढाउने उद्धेश्यले रसुवामा सन्चालित राष्ट्रपति रनिङ शिल्ड जिल्लास्तरिय खेलकुद प्र्तियोगिता सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समितिद्वारा सञ्चालित यस वर्षको राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कालिका गाउँपालिका प्रथम भएको छ ।
सदरमुकाम धुञ्चेमा सम्पन्न तीनदिने १२औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा रसुवाका पाँच गाउँपालिकाबाट तीन सय छात्रछात्राको सहभागित रहेको आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
जिल्लास्तरीय सो खेलकुद प्रतियोगितामा भलिबल, दौड, तेक्वान्दो, हाइजम्प, लङ्गजम्प, सटफुट, जापानिज थ्रोलगायत ४५ विधाका खेल समावेश गरिएको थियो ।
सो रनिङशिल्ड प्रतियोगितामा कालिका प्रथम, उत्तरगया द्वितीय र गोसाइँकुण्ड गाउँपालिका तृतीय भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विराज तामाङले जानकारी दिए । खेलकुदमार्फत शारीरिक व्यायामसहित ग्रामीण दूरदराजका गाउँहरूमा समेत खेलको जागरण फैलाउन रनिङशिल्ड प्रतियोगिताले मद्दत पुर्याएको स्थानीय शिक्षकहरूले बताएका छन् ।
सो प्रतियोगितको समापन समारोहमा सांसद मोहन आचार्यले विद्यालयले पठनपाठनका साथ खेलकुद तथा अतिरिक्त कार्यक्रमलाई पनि एकसाथ अघि बढाउनुपर्ने धारणा व्यक्त गरे । कालिका गापा अध्यक्ष हरिकृष्ण देवकोटालगायतले खेलकुदको चर्चा गरेका थिए ।