विदुरमा झण्डै सांढे दुई करोड वजेट रकमान्तर

१० करोड रुपैया हाराहारीको बेरुजु
लोकखबर
२८ चैत्र २०८१, शुक्रबार १९:३९

विदुर–विदुर नगरपालिकाले झण्डै सांढे दुई करोड रुपैया रकमान्तर गरेको छ । वेरुजु रकम फछ्र्योटको लागी महालेखा नियन्त्रणको कार्यालयमा प्रतिवेदन बुझाउन नगर सभाले निर्णय गरेको छ ।
चालु आर्थिक वर्षको तीन महिना वांकी रहदा विदुर नपाको १६ औँ नगरसभाले कुल २ करोड ३७ लाख ८० हजार रुपैया बजेट रकमान्तर गरेको हो । विदुर नगरसभाले विदुर नपाको नाममा रहेको १० करोड रुपैया हाराहारीको बेरुजु रकम फछ्र्योटको लागी महालेखा नियन्त्रणको कार्यालयमा प्रतिवेदन बुझाउने निर्णयसमेत गरेको छ ।
नगर सभामा मेयर राजन श्रेष्ठको अध्यक्षता तथा उपमेयर प्रभा बोगटीबाट चालु आव २०८१/०८२ को संशोधित योजना तथा कार्यक्रम र रकमान्तर प्रस्तुत गरि वजेट रकमान्तरलगायतका सभामा प्रस्तुत सबै प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको छ । उपमेयर बोगटीले नगर सभामा चालु आवको संशोधित योजना तथा कार्यक्रम र रकमान्तर प्रस्तावहरु प्रस्तुत गरेकी थिइन् ।
सो पश्चात् नगरसभा सदस्यहरूले विभिन्न सुझाव तथा प्रश्नहरू राखेका थिए । नगरसभा सदस्यहरूले नसक्ने रोगको परीक्षण कार्यक्रम, बौलाहा कुकुर नियन्त्रण, रेबिज खोप, तथा कार्यलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए । सदस्य श्रीकृष्ण रिजालले नगरसभालाई सरोकारवाला सबैको सहभागितामा हुने नीति निर्माणको निकाय भन्दै जनअपेक्षालाई सम्बोधन गर्न आग्रह गरे ।
नगरसभाले यसअघि नगरपालिकाको नाममा रहेको बेरुजुमध्ये अनियमित रहेको अर्थात् आवश्यक कानूनी कागजातसहित प्रमाण पेश गरेर प्रष्टिकरणसहित फछर्यौट गर्न मिल्ने १० करोड पाँच लाख ९३ हजार ६६ रुपैयाँ महालेखामा बेरुजु लगतकट्टाको लागि पेश गरिने निर्णयसमेत पारित गरेको छ । नगरसभाबाट चालु आर्थिक वर्षमा दुई करोड ३७ लाख ८० हजार बराबरको बजेट रकमान्तर गरेको हो ।
गैह्रसरकारी संस्थाको सहकार्यमा साक्षरता कार्यक्रम, कर्मचारी पोशाक, प्रशासकीय भवन निर्माण लगायतका २९ शिर्षकको बजेट भैरवी मन्दिर अक्षयकोष स्थापना, ड्रोन क्यामेरा खरिद, करदाता सम्मान, कर्मचारी प्रोत्साहन पुरस्कार गरी २८ शिर्षकमा बजेट रकमान्तर गरेको हो । कुल विनियोजन गरिएको बजेटको ४८ दशमलव ८९ प्रतिशत मात्र खर्च गरेको छ ।
नगरले विनियोजित बजेटमध्ये ५४ करोड ५३ लाख २३ हजार १ सय १५ रुपैयाँ खर्च गरेको छ । मेयर राजन श्रेष्ठले नगरसभा स्थानीय तहको सर्वोच्च निकाय भएको उल्लेख गर्दै सदस्यहरूद्वारा उठाइएका सुझाव र सल्लाहलाई आत्मसात् गरेर कार्यक्रमहरू अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नगरसभामा प्रस्तुत सबै प्रस्तावहरू सर्वसम्मतिले पारित गर्दै सभा समापन भएको छ । विदुर नपामा गत आव २०७५/०७६ देखी २०८०/०८१ को अन्तिम लेखा परीक्षणमा औल्याइएका १० करोड ५ लाख ९३ हजार ६६ अनियमित सम्बन्धी बेरुजु, नगरसभामा प्रस्तुत गरी सर्वसम्मत पारित गरेको हो ।
उक्त पारित प्रतिवेदन सम्परीक्षणको लागि पेश गरिने विदुर नपाले जनाएको छ । नगर सभामा सदस्यहरु छविलाल ओझा, विनोद चित्रकारलगायतका सदस्यहरुले प्रस्तुत प्रस्तावमाथि रायसहितको सुझाव दिएका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*