भर्ना अभियान प्रभावित

वार्षिक नतिजा नै आउन सकेन
लोकखबर
३ बैशाख २०८२, बुधबार २०:५४

विदुर–चालु शैक्षिक शत्रको समय सुरु भइसक्दासमेत नुवाकोटमा भर्ना अभियान प्रभावित भएको छ । कतिपय विद्यालयले वार्षिक परिक्षाफल नै प्रकाशित गरेका छैनन् ।
वार्षिक परिक्षाफल प्रकाशित नभएको, भर्ना अभियान सन्चालन नभएको र पठनपाठन नै प्रभावित भएको जनाउंदै अभिभावकहरु आक्रोशित भएका छन् । शिक्षा क्षेत्र प्रभावित भएपछि नुवाकोटको तारकेश्वर गाउंपालिले २४ घण्टाभित्र नतिजा प्रकाशन गर्न विद्यालयहरूलाईे निर्देशन दिएको छ ।
तारकेश्वर गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समिति संयोजक शिव अधिकारी अविरलले शैक्षिक सत्र २०८१ को अन्तिम परीक्षाको नतिजा २४ घण्टाभित्र प्रकाशन गर्न मातहतका विद्यालयहरूलाई निर्देशन दिएका हुन् । नयाँ शैक्षिक सत्र २०८२ को भर्ना अभियान सुरु भइसक्नुपर्ने समयमा पुरानो शैक्षिक सत्रको नतिजा नै प्रकाशित नहुँदा वर्षभरिको शैक्षिक कार्यतालिकामै गम्भीर असर पर्न सक्ने खतरा देखिएको अध्यक्ष अधिकारीले वताए ।
शिक्षकहरुले विभिन्न माग राखेर काठमाडौंमा आन्दोलन जारी रहँदा पनि न्यूनतम शैक्षिक क्रियाकलाप रोकिन नहुनेतर्फ सचेत रहन उनले शिक्षकहरूलाई आग्रह गरेका छन् । अध्यक्ष अधिकारीले अटेर गरी २४ घण्टाभित्र नतिजा प्रकाशन नगरे स्थानीय सरकार गम्भीर रूपमा प्रस्तुत हुने चेतावनी समेत दिएका छन् ।
शिक्षकहरूको जायज मागप्रति समर्थन जनाउँदै अध्यक्ष अधिकारीले छिटोभन्दा छिटो शिक्षकहरूका माग सम्बोधन गरी नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्ने वातावरण तयार गर्न सरकारसमक्ष अनुरोधसमेत गरेका छन् । यसैवीच, कक्षा १२ को राष्ट्रिय परीक्षा नजिकिएकाले प्रदर्शनका कार्यक्रम स्थगन गरी घर फर्किन शिक्षकहरुलाई सरकारले अपिल गरेको छ ।
सरकारले शिक्षक महासंघले उठाएका मागहरुको यथोचित सम्बोधन गरिने जनाएको छ । सरकारले यहि वैशाख १२ गते शुक्रवार संघीय संसदको दुवै सदनको बैठक बोलाउन राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको छ ।
मन्त्रिपरिषद् बैठकले मंगलबार वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संसद बैठक बोलाउन राष्ट्रपति पौडेललाई सिफारिस गर्ने निर्णय गरेको शिक्षामन्त्री विद्या भट्टराईले जानकारी दिइन् । संसदमा विचाराधिन रहेको विद्यालय शिक्षा विधेयक पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसदको अधिवेशन आह्वान गरिएको उनले बताइन् ।
सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गरिने उनको भनाई छ । उनले नेपाल शिक्षक महासंघले उठाएका मागहरुको यथोचित सम्बोधन गरिनेसमेत बताइन् ।
उनले आन्दोलनरत शिक्षकहरूसँग निरन्तर संवाद गरिरहेको र मागका विषयमा सरकार संवेदनशील र गम्भीर रहेको बताइन् । यससंगै शिक्षकहरु आआफ्नो विद्यालय फर्कने सरकारले जनाएको छ ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*