गापाको निर्देशनपछि अन्तिम नजिता प्रकाशित

विदुर–नुवाकोटको तारकेश्वर गाउँपालिकाका सबै विद्यालयले शैक्षिक सत्र–२०८१ को वार्षिक परीक्षाको नतिजा प्रकाशन गरेका छन् । दुई सातादेखि काठमाडौमा भइरहेको शिक्षकहरुको आन्दोलनको कारण परिक्षाफल प्रकाशित हुन नसकेको र विद्यार्थी भर्ना अभियानसमेत सन्चालन हुन नसकेका कारण तारकेश्वर गापाले २४ घण्टाभित्र विद्यार्थीहरुको वार्षिक परिक्षाको नतिजा प्रकाशित गर्न निर्देशन दिएको थियो ।
आन्दोलानका कारण विद्यालयहरुले नतिजा प्रकाशनमा ढिलाई गरेपछि गापा अध्यक्ष शिव अधिकारी (अविरल)ले सार्वजनिक रुपमा मङ्गलबार मात्र २४ घन्टाभित्र नतिजा प्रकाशन गर्न निर्देशन दिएका थिए । अध्यक्ष तथा गापा शिक्षा समितिका संयोजक अधिकारीको निर्देशनपश्चात शिक्षक अन्दोलनको बहानामा रोकिएका विद्यालयको अन्तिम परीक्षाको नतिजा तारकेश्वर गापामा शुक्रबार सार्वजनिक भएको हो ।
अध्यक्ष अधिकारीले नयाँ शैक्षिक सत्र २०८२ को भर्ना अभियान यही बैशाख २ गतेदेखि सुरु भई सक्नुपर्नेमा पुरानो शैक्षिक सत्र २०८१ को नतिजा नै प्रकाशित नहुँदा वर्षभरिको शैक्षिक कार्यतालिकामै गम्भीर असर पर्न सक्ने खतरा देखिएको भन्दै आन्दोलन जारी रहँदा पनि न्यूनतम शैक्षिक क्रियाकलाप रोकिन नहुनेतर्फ सचेत रहन शिक्षकहरूको ध्यानाकर्षण गराएका थिए । अध्यक्षको निर्देशनसंगै विद्यालयको नतिजा प्रकाशन भएको हो ।
शिक्षकहरुको मागको सम्बन्धमा जायज माग पूरा गर्नको लागी संघीय सरकार गम्भीर हुनुपर्ने भनेर शिक्षक आन्दोलनका कारण विद्यार्थीको परीक्षा नतिजा जस्तो संवेदनशील विषयमा भने खेलबाड नगर्नको लागी चेतावनी दिए पश्चात तारकेश्वरमा रहेका ३४ विद्यालयले शुक्रबार नतिजा सार्वजनिक गरेका हुन् । अन्तिम नतिजा प्रकाशन भएको जानकारी सम्बन्धित विद्यालयले गाँउपालिकालाई गराएका थिए ।
त्यसको कार्यान्वयनको अवबस्था बुझ्न गाँउपालिकामार्फत खटिएको गाँउ प्रहरीले सबै विद्यालयमा पुगेर अनुगमन समेत गरेको थियो । विद्यार्थीको भविष्य अन्योल हुनसक्ने भन्दै चिन्तित भएका अध्यक्ष अधिकारीले नतिजा प्रकाशन जस्तो गम्भीर तथा संवेदनशील विषयमा अटेर नगर्न सचेत गराउदै नतिजा प्रकाशन नगरे स्थानीय सरकार गम्भीर रूपमा प्रस्तुत हुने चेतावनी समेत दिएका थिए ।
तारकेश्वर गापामा रहेका ३४ वटै विद्यालयले नतिजा प्रकाशन गरिसकेको जानकारीसँगै अध्यक्ष अधिकारीले सबै विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूलाई धन्यवाद दिएका छन् । उनले शिक्षकहरुले राखेको जायज मागको आन्दोलनमा पालिका अध्यक्षको रुपमा आफ्नो समर्थन रहेको भन्दै विद्यार्थीको भविष्यलाई उज्जवल बनाउनको लागी विद्यालयमा गर्नुपर्ने आन्तरिक थप गतिविधिलाई पनि अघि बढाउन आग्रह गरेका छन् ।
नतिजा प्रकाशन पश्चात विद्यार्थी भर्नालगायतका न्यूनतम शैक्षिक क्रियाकलाप रोकिन नहुनेतर्फ सचेत रहन अध्यक्ष अधिकारीले पुनः ध्यानाकर्षण गराएका छन् । शिक्षकहरूको जायज मागप्रति समर्थन जनाउँदै अध्यक्ष अधिकारीले छिटोभन्दा छिटो शिक्षकहरूका माग सम्बोधन गरी नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्ने वातावरण तयार गर्न सङ्घीय सरकार समक्ष आग्रह गरेका छन् ।