तरकारीखेतीबाट महिला आत्मनिर्भर
जाजरकोट : केही वर्ष अघिसम्म सामान्य कामका लागि पैसा आवश्यक परे श्रीमान्सँग हात थाप्नु पर्ने बाध्यतामा रहेकी भेरी नगरपालिका–११ मटेलाकी कालुदेवी पुनलाई हिजोआज दुई/चार हजारका लागि कसैसँग हात थाप्नु पर्दैन। ‘पाँच, दश रुपैयाँ चाहियो भने पनि श्रीमान्सँग माग्नु पथ्र्यो। मैले व्यावसायिक रूपमा तरकारीखेती गर्न थालेपछि उल्टै श्रीमानलाई पैसा दिने गरेकी छु।
छोराछोरीलाई प्राविधिक शिक्षा पढाएकी छु’, उनले भनिन्, ‘सबै घरखर्च टारेर बचत समेत गर्ने गरेकी छु।’ परम्परागत रूपमा गरिँदै आएको गहुँ, मकै र धानखेतीले वर्षदिनको छाक टार्नसमेत मुस्किल पर्ने उनले तरकारीखेतीबाट वार्षिक तीन लाख रुपैयाँसम्म बचत गर्ने गरेकी छन्। पहिला पैसाकै लागि श्रीमानसँग झगडा हुने उनले श्रीमान्लाई समेत सघाएको बताइन्।
जिल्ला कृषि विकास कार्यालय, विभिन्न संघसंस्थाको सहयोगमा केही वर्षदेखि व्यावसायिक खेती गर्न थालेकी पुनले तरकारीबाट भएको आम्दानीलाई छोराछोरीको पढाईमा लगानी गर्ने गरेको बताइन्। छोरा इन्जिनियर पढ्छन् भने छोरीले स्टाफ नर्सको पढाई सकिसकेकी छन्।
तरकारीको आम्दानीबाट छोरा मोतिराम चितवनको गैडाकोटमा रहेको अक्सफोर्ड इन्जिनियर कलेजमा सिभिल इन्जिनियर अध्ययन गरिरहेका छन्। छोराछोरी पढाउन कतै ऋण लिनु नपरेको कालुदेवीले बताइन्। तरकारीखेतीबाट भएको आम्दानीबाटै घरखर्च र छोराछोरीको पढाई खर्च टारेको उनको भनाइ छ।
श्रीमान् दीर्घबहादुर घर्ती पनि श्रीमतीले गर्दै आएको व्यावसायिक तरकारीखेतीप्रति निकै खुसी छन्। नमुना लक्ष्मी महिला कृषक समूह गठन गरेर कालुदेवीले अन्य महिलालाई पनि व्यावसायिक तरकारी खेती गर्न प्रेरित गरिरहेकी छन्।
समूहकी अध्यक्ष रहेकी कालुदेवीजस्तै १७ जना महिला व्यावसायिक तरकारी खेतीमा संलग्न छन्। तरकारीखेतीमा उच्च सफलता प्राप्त गर्ने कालुदेवीलाई सरकारले २०७१ सालमा राष्ट्रिपति उत्कृष्ट कृषक पुरस्कारबाटसमेत सम्मान गरेको थियो। ‘तरकारीखेतीमा विषादी खासै प्रयोग गर्दैनौं, हामी बारीमा पनि गोठेमल नै प्रयोग गर्छौं। यहाँ उत्पादित तरकारी अर्गानिक हुन्छ’, उनले भनिन्।
तरकारीखेतीमा उच्च सफलता प्राप्त गर्ने कालुदेवीलाई सरकारले २०७१ सालमा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाटसमेत सम्मान गरेको थियो।
मेहनत र परि श्रम गरे आफ्नो बारीमा सुन फलाउन सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् मटेलाका महिला किसान। कालुदेवीजस्तै व्यावसायिक तरकारीखेती गर्ने खिमा घर्ती पनि तरकारीबाट आत्मनिर्भर भएकी छन्। ‘परम्परागत खेती गर्दा विहान बेलुकाको छाक टार्नसमेत धौधौ पथ्र्यो। तर त्यही जग्गामा तरकारीखेती गर्न थालेपछि खान लाउन र दैनिक घरव्यबहार चलाउन निकै सहज भएको छ।
साबुन, सलाई, नुन, तेलको लागि पनि श्रीमान्कै भर पर्नु पथ्र्यो। श्रीमान् पनि अर्काको ज्याला मजदुरी गर्न जानुहुन्थ्यो। तर व्यावसायिक तरकारीखेती गर्न थालेपछि आफ्नै बारीमा भ्याइनभ्याइ छ’, उनले भनिन्, ‘दुई/चार हजार रुपैयाँका लागि कसैसँग हात थाप्नु पर्दैन।’ तरकारीखेतीबाट भएको आम्दानीले महिला समूहमा बचतसमेत गर्ने गरेको उनीहरुले बताए। उनीहरूले केही काम परे त्यही समूहबाट बिनाधितो ऋण लिने गरको उल्लेख गरे।
बारीमा आफूले उत्पादन गरेको तरकारी बिक्री गर्न र तरकारीमा लाग्ने रोग तथा कीराको समस्या बढ्दै गएको उनको गुनासो छ। उनले बारीको तरकारी बजारसम्म पु¥याउन आफ्नो समूहलाई ढुवानीको समस्या रहेको उल्लेख गरिन्।
व्यावसायिक तरकारीखेतीलाई मुख्य पेसा बनाएका मटेलाका महिलाले मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आएका छन्। मौसमी तरकारीखेतीतर्फ आलु, बन्दा, काउली, रायो, मुला र बेमौसमी तरकारीमा काँक्रा, टमाटर, फर्सी, सिमी, मुला, भेडेखुर्सानी, भान्टा, भिन्डी, तितेकरेला, हरियो खुर्सानी, लौका आदी तरकारी लगाउने गरेका छन्।
व्यावसायिक तरकारीखेती गर्ने किसानलाई आवश्यक व्यावसायिक तथा प्राविधिक सहयोग गरिरहेको वरिष्ठ कृषि विकास अधिकृत डा. श्रीराम घिमिरेले बताए। किसानले गर्दै आएको व्यावसायिक तरकारीखेतीलाई विकसित तथा आधुनिकीकरण गर्न जिल्ला कृषि विकास कार्यालयले गत वर्षदेखि ग्रिनहाउसको कार्यक्रम ल्याएको डा. घिमिरेले जानकारी दिए।
महिला आत्मनिर्भर भए घरेलु हिंसासमेत अन्त्य हुने उनको विश्वास छ। महिला पनि कमाउन थाले भने घर व्यवहार चलाउन सहज हुने र आम्दानीको सही सदुपयोग हुने उनको भनाइ छ। मटेलामा मात्र होइन जिल्लाका काँस्तरा, कुदु, इवर, कालेगाउँ, रिसाङ, भेरे, बाहुनथान, दार, पिपेलगायत ठाउँका किसानले व्यावसायिक रूपमा तरकारीखेती गर्न थालेपछि जाजरकोट जिल्ला तरकारीमा आत्मनिर्भर हुन थालेको वरिष्ठ कृषि विकास अधिकृत घिमिरेले बताए।
‘यातायात नखुल्दासम्म तरकारी नै खान पाइँदैन्थ्यो। बाटो खुलेपछि केही वर्ष रुपैडियाको तरकारीले बजार लियो तर दश वर्ष अघिसम्म जिल्लामा व्यावसायिक तरकारीखेती गर्ने किसानको संख्या औलामा गन्न सकिने थियो तर अहिले तरकारी खेतीमा उत्साहजनक प्रगति भएको छ’, गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष वीरबहादुर बस्नेतले भने। तरकारीखेतीमा महिला अग्रसर उनले उल्लेख गरे। महिला तरकारीखेतीबाट आर्थिक र सामाजिक रूपमा आत्मनिर्भर बन्दै गएका उनको भनाइ छ।