तालिमपछि लुककुमारीले सुरु गरिन् तरकारी खेती
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८, शिखरपुर, शिरशिरेकी लुककुमारी घिमीरेले खेतबारीमा धान, मकै लगाउदै आइरहेकी थिइन् । आफ्नो घरका लागि आवश्यक पर्ने खाद्यान्न आफ्नै खेतबारीबाट उनले उब्जाउदै आएपनि दैनिक उपभोग गर्न आवश्यक पर्ने तरकारी भने प्राय : स्थानीय बजारबाट खरिद गर्दै आइरहेकी थिइन् । करेशाबारीमा थोरै लगाइने तरकारीले केही दिनका लागि पुग्ने गरेपनि आफ्नो बारीमा व्यवसायिक तरकारी खेती गर्छु भनेर उनले सोचेकी थिइनन् । तर बेमौसमी व्यवसायिक तरकारी खेती सम्बन्धि तालिममा सहभागी बनेपछि उनलाई लाग्यो,‘आफ्नो जग्गा बाँझो राख्नुको सट्टा व्यवसायिक रुपमा तरकारी खेती गर्न सकियो भने आम्दानी गर्न सकिन्छ ।’ बाल कल्याण समाज मकवानपुरले मर्सिकोर नेपालसंगको सहकार्यमा सञ्चालन गरिरहेको सर्भ प्रोजेक्ट अन्तर्गत तीन दिने बेमौसमी व्यवसायिक तरकारी खेती सम्बन्धि तालिममा सहभागी बनेपछि उनले करिब चार गठ्ठा क्षेत्रफल जग्गामा तरकारी खेती लगाएकी छिन् ।
स्थानीय उज्ज्वल महिला कृषक समूहमा आबद्घ उनले कृषि सम्बन्धि खासै तालिम भने लिएकी थिइनन् । आफ्नै गाउँमा आफू आबद्घ कृषक समूहका सदस्यलाई प्रदान गरिएको तालिममा बसेपछि उनले विगत लामो समय देखि आफूले जग्गा बाँझो राखेकोमा पछुतो भयो । अनि सुरु गरिन् व्यवसायिक रुपमा तरकारी खेती । उनले दुई कठ्ठाक्षेत्रमा काउली, एक कठ्ठा क्षेत्रमा धनिया र एक कठ्ठा क्षेत्रमा केराउ खेती सुरु गरेकी हुन् । कृषि समूहमा आबद्घ भएपर खेतीपातीका विषयमा सामान्य छलफलमा सहभागी हुदै आएपनि व्यवसायिक रुपमा तरकारी खेती गरौं भन्ने सोच उनमा यसअघि आएन । तर तालिममा सहभागी बनेर बेमौसमी तरकारीहरु, खेती गर्ने तरिका लगायतका विषयमा जानकारी हासिल गरेपनि उनलाई आफूले केही गर्ने हुट्हुटी लाग्यो र आफ्नो जग्गामा लगाइन् तरकारी बाली । ‘ तालिममा सिकेको आधारमा तरकारी खेती गरौं भन्ने सोच भित्री मनैदेखि जाग्यो । ’ लुककुमारी भन्छिन्,‘तालिम नलिएको भए अहिले मेरो जग्गा बाँझै हुन्थ्यो । ’ पहिलो पटक लगाइएको तरकारी बालीबाट के कस्तो उत्पादन हुने हो भन्नेमा उनलाई चासो छ । ‘व्यवसायिक रुपमा पहिलो पटक तरकारी खेती सुरु गरेकी हुँ । भोली के कस्तो आम्दानी हुने हो थाहा छैन ।’ उनी भन्छिन्, ‘पहिलो प्रयासमा बिक्रीबाट धेरै आम्दानी गर्न नसकेपनि छोराछोरीको शिक्षादिक्षा र घर चलाउन मैले लगाएको तरकारी खेतीबाट सघाउ पुग्ला भन्ने आशा राखेकी छु ।’
श्रीमान् रोगी भएकाले एक छोरी र दुई छोरालाई शिक्षादिक्षा र घरायसी जिम्मेवारी पनि उनको काँधमा छ । विनासकारी भूकम्पबाट भत्किएको घर निर्माण गर्नुछ । लुककुमारीको पारिवारिक दायित्व बहन गर्नका लागि आवश्यक आर्थिक आम्दानी तरकारी खेती बन्नसक्छ भन्ने लागेको छ । तर सिंचाईको व्यवस्था नहुँदा आफ्नो लगानी कतै खेर जाने त होइन भन्नेमा पनि उत्तिक्कै चिन्ता छ । आफूले लगाएको काउलीको बिरुवा देखाउँदै उनी भन्छिन्, ‘सिंचाई नपुगेर होला सोचेजस्तो गरी राम्ररी विरुवा हुर्कीरहेको छैन ।’ प्रसस्त सिंचाईको व्यवस्था हुने हो भने आफुनो डेढ विगाहा क्षेत्रको जग्गामा पूरै तरकारी खेती गर्ने चाहना भएको उनले सुनाइन् । भन्छिन्,‘तालिममा सिकेझैं गरी बारीभरी तरकारी खेती गर्ने थिए । पानीकै अभाव छ के गर्नु ?’ अहिले तरकारीको बीउ, औषधी आदिमा करिब १० हजार रुपिया लगानी भएको उनी बताउँछिन् । अहिले लगाएको तरकारी फागुन, चैतमा उत्पादन हुने र बिक्री गर्ने उनको सोच छ । ‘पहिलो पटक यसरी व्यवसायिक रुपमा तरकारी खेती गरिएकाले के-कति उत्पादन हुने हो त्यही अनुसार बिक्री वितरण गर्नुपर्ला ।’ कौतुहला बिच उनले मनमनै बनाएको योजना सुनाइन्,‘राम्रो उत्पादन राम्रो भयो भने गाउँघर, स्थानीय हात्तिसुडे बजार अनि हेटौंडा बजारमै लगेर बेच्नुपर्ला भन्ने लागेको छ।’