कविताः वाह क्या छ मेरो देश
दिनानुदिन दुर्घटना हुन्छ हाम्रै देशमा
बालिका महिला बलात्कृत हुन्छन्
सोझी महिला बोक्सी हुन्छन्
अनि गरिब निमुखा जनतालाई पछाडि पारिन्छ, हाम्रै देशमा
वाह क्या छ मेरो देश
कसलाई दोष दिनु हजुर स्वार्थी छन् सबै
नेतादेखि प्रहरी प्रशासन चोर व्यापारी
गुण्डा मिलेको देश
वाह क्या छ मेरो देश
नियम बन्छ नियति उस्तै हुन्छ
जसलाई जे मन लाग्छ त्यही गरे हुन्छ
कोही बोल्दै बोल्दैनन्
बोल्नेहरु केही गर्दैनन्
कुरै कुराले भरिएको छ यो देश
वाह, क्या छ मेरो देश
कोही गर्छन् झेल
कोही गर्छन् मेल
मेल झेल र बेमेलले
प्रशिद्ध छ मेरो देश
वाह, क्या छ मेरो देश
सुन्दर देश भन्दा भन्दा
भन्नेहरु थाकिसके
सुनको थाल बोकेर
मांग्न बसेकाहरु
थाकिसके
तर पनि यो कुरै कुराले
गिजोलिएको, थिलथिलिएको
यो देश
चामल किन्ने युवा बेच्ने
वाह, क्या छ मेरो देश