कथा : बिल्टुको त्यो अधुरो मिठो चुम्बन

केशव दाहाल
२२ फाल्गुन २०७५, बुधबार २१:०४

बिल्टुकी श्रीमती थला परेको आज १५ दिन भयो। एक्कासि ज्वरो आयो। निकै कडा ज्वरो। भख्खर ३५ वर्ष पुगेकी खाइलाग्दी दुःखिनी अहिले ओछ्यानमा छे। कसैको केही नबिगार्ने, सोझी र मिहिनेती दुःखिनीलाई यो असार फापेन। बिल्टुले बुझेको छ, ज्वरो निकै कडा हो। तर, उपचार गर्न पैसा छैन। मालिकसँग मागौं पानी नपरेर खेतमा गोरु नार्न नपाइएको महिना भयो, के देलान् र। बिल्टु गम्छ– आईमाई तगडा छे, उमेर छ, त्यसैले ज्वरोसँगको लडाईं दुःखिनीले पक्का जित्नेछे। बिल्टु आफैंलाई आश्वस्त पार्छ।

आज उसलाई खाना पकाउन पनि मन छैन, खान पनि। बरु चिन्ता दुःखिनीको छ। उसले अलिकति तातोपानी पिइदिए हुन्थ्यो। बिल्टु साँझको आकाशतिर हेर्छ। आकाश मैलो छ। ऊ सोनालाल मालिकलाई सम्झिन्छ, आफूलाई सम्झिन्छ, ज्वरोले बेहोस बनाएकी आफ्नी दुःखिनीलाई सम्झिन्छ, बाँझो खेतलाई सम्झिन्छ र लामो सास तान्छ। मनमनै विचार गर्छ, पक्का आज राति पानी पर्छ।

पूर्वी तराईमा सोनालाल अग्रहरीको आफ्नै नाम र शान छ। त्यसो त, उसको एक सय ५० बिघाजति जमिन छ। गाउँमा नाम हुन जमिन हुनैपर्छ। ऊसँग दुई वटा मिल, गाउँमै एउटा सिनेमा हल र दुई वटा काठमाडौं जाने रात्रि बस छन्। विराटनगरमा पनि घर छ। तर, सोनालाल गाउँमा बस्छ। भन्छ( गाउँलेको मायाले समातेको छ।

हुन त, गाउँलेको माया उसलाई कति लाग्छ थाहा छैन तर जब पानी पर्छ र खेतमा रोपाईं शुरु हुन्छ, तब ऊ गरिब मुसहरहरूको खुब माया गर्छ। मंसिरमा मायाको भकारी रितिन्छ। त्यसपछि उसको मुखबाट गाली मात्र झर्न थाल्छ। उसका हरेक गालीलाई सलाम गर्नुबाहेक बिल्टुहरूसँग कुनै उपाय हुँदैन।

बिल्टु सोनालाल मालिकको खेत जोत्छ। यो बिल्टुको पुस्त्यौनी जागिर हो।

बिल्टुको फुसको झुप्रोमाथि आकाशमा आज हलचल छ। तर, झुप्रोभित्रको अँध्यारोमा ज्वरोले थलिएकी दुःखिनी भर्खर निदाएकी छे। बिल्टुलाई भने निन्द्रा पटक्कै छैन। ऊ बाहिर निस्किन्छ। आकाशमा बादलको गति विचार गर्छ। जूनको उज्यालोमा पश्चिम(उत्तरको पर्वतमालामा बादलका काला पत्रहरू वेगले पूर्वतिर हान्निँदैछन्।

बिल्टु एकछिन बादल र त्यसको रंग नियालिरहन्छ। आजको बादल केही ताजा, चिसो, भारी र सजीव देखिन्छ। बिल्टु छड्के आँखाले बादलभित्रको जीवन ठम्याउँछ। आकाशको हलचलले बिल्टुको लुलो ज्यानमा जीवनको ऊर्जा सञ्चार गर्छ।
भित्र ज्वरोले अर्धचेत भएकी दुःखिनी विस्तारै घुर्दैछे। बिल्टुलाई आफ्नी जहानको अनुहार हेर्न मन लाग्छ। ऊ नजिकै जान्छ र अँध्यारोमा दुःखिनीको अनुहार छाम्छ। शायद निन्द्रामै आफ्नो श्रीमानको अनुभव उसलाई भयो, ऊ घुर्न छोड्छे।

कतै देउरालीमा सिरसिर हावा चलेजस्तो स्वासको धिमा गति मात्र सुनिन्छ। त्यहीबेला आकाश गर्जिन्छ। हावाको झोंका फुसको छानोमा ठोकिन्छ र पानी छिट्टयाएको सुनिन्छ। पानीसँगै बिल्टुका पीडाहरू गायब हुन्छन् र सयौं दमित इच्छा ब्युँझिएर आउँछन्। उसका सपनाहरू ब्युँझिन्छन्। बिल्टु खुशीले श्रीमतीलाई अँगालो हाल्छ। तर, ज्वरोले तातेको दुःखिनीको अनुहारमा स्पर्श हुनासाथ बिल्टुका सबै आवेग सेलाउँछन्। बिल्टुको मन सीधा आकाशतिर उड्छ। आकाशमा ऊ र दुःखिनी सँगै उड्छन्।

भख्खर वैशाख लाग्दै थियो र तराईमा सिरुवाको रमझम थियो। आजभन्दा १३ वर्ष अगाडि उसले दुःखिनीलाई देखेथ्यो। कालो अनुहारमा टल्किएका सेता दाँतका लहर, ठूला आँखा, सस्तो लिपिस्टिकले रंगिएका पोटिला ओठ र निलोमा रातो बुट्टा भएको कुर्ता सुरुवाल। त्यो रात ऊ कसैगरी निदाउन सकेन। उसलाई पहिलो नजरमै प्रेम भयो।

त्यसको तीन दिनपछि उनीहरूले दोस्रो भेट गरे। तेस्रो भेटमा उनीहरूले सिनेमा हेरे। ती सबै क्षण सपनाजस्तै थिए। सिनेमा हेरेर बाहिर निस्किँदा रात छिप्पिँदै थियो। उसले पहिलोचोटी दुःखिनीको हात समायो। त्यसको सातादिनपछि उनीहरूले भागेर विवाह गरे। कुनै रीतिरिवाज, घरदेख, भोजभतेर, बाजागाजा र आफन्तीबिनै एक्लो बिल्टुले आफ्नी दुःखिनीलाई भगायो।

सँगै सिनेमा हेरेको सातादिनपछि बिल्टु र दुःखिनीले भागेर विवाह गरे। कुनै रीतिरिवाज, घरदेख, भोजभतेर, बाजागाजा र आफन्तीबिनै एक्लो बिल्टुले आफ्नी दुःखिनीलाई भगायो।
बिहेपछि बिल्टुले ऐलानी जग्गामा सानो झुप्रो हाल्यो। दुःखिनीले आफ्ना चाँदीका गहना बेचेर हाँसका पाँच वटा टिउला किनी। आँगनको डिलमा सुँगुरको पाठो खेल्न थाल्यो। यो पो हो जिन्दगी। कसैले मायाले बोलायो। कसैले मायाले छोयो। कसैले मायाले हेर्यो। यो सबै एकैपटक शुरु भयो।

बिल्टुको मन नाच्न थाल्यो। जीवनप्रति आशाहरू पलाए। ऊ मनमनै गम्छ, ‘कम्ता राम्री थिई के यो आईमाई।’ त्यसबेलाकी रसिली, भरिली र मायालु दुःखिनी सम्झिएर बिल्टुका आँखा रसाए। ऊ आँशु पुछ्दै मुस्काउँछ। यो आईमाई उसका लागि कति महत्वपूर्ण छेरु ऊ मख्ख पर्छ। आज बिल्टुलाई फेरि प्रेम भयो। यो प्रेममा उसले आफूलाई बिर्सियो, सोनालाल मालिकलाई बिर्सियो, मालिकको बाँझो खेत पनि बिर्सियो। उसले दुःखिनीबाहेक सबै सबै बिर्सियो।

बिल्टु ओछ्यानमा पल्टिन्छ। अर्धचेतनामै दुःखिनीले लोग्नेको भावनालाई बुझी। उसले बिल्टुका खस्रा हातहरू कसेर समाती र आफ्नो छातिनेर लगी। छाति अलिक छिटो-छिटो चलेझैं थियो। उसले दुःखिनीको शरीर सुम्सुम्यायो। पाखुरा, गर्धन र गाला तर जब गालामा उसका हात पुगे ओहो दुःखिनीको आँखाबाट आँशुको समुद्र बगिरहेको थियो। दुःखिनी चुपचाप रोइरहेकी थिई। किन रोई दुःखिनीरु किन बग्दैछन् आँशुरु उसले सबैभन्दा माया गरेकी आईमाईका आँखाबाट आज किन आँशु झरेरु बिल्टुका हातहरू थामिए। उसले श्रीमतीलाई फेरि अंगालो मार्यो र आफू पनि रुन थाल्यो। राति मुसलधारे पानी पर्यो। बिहानै बिल्टुले मालिकका खेतमा गोरु नार्यो।

हिजो रातिको पानीले किसानहरूमा नयाँ उमंग ल्यायो। सबै खेतमा थिए। होहल्ला थियो। हाँसखेल थियो। तर, बिल्टुको मन आज खेतमा थिएन। उसको मन त सिरुवा मेलामा भेट भएकी त्यही दुःखिनीतिर थियो। ऊ सेता दाँतहरू चम्काउँदै हाँस्थी र लजाउँदै दाहिनेतिर मुन्टो बटार्थी।

बिल्टुले आफ्नी प्रियतमालाई मिठो चुम्बन दिन चाह्यो। हेर्यो दुःखिनीका आँखाको आँशु ओभाएको पनि थिएन तर उसको शरीर चिसो र मौन थियो। उसका अगाडि कालाज्वरले आक्रान्त आफ्नै सपनाको लास लम्पसार थियो।

बिल्टुलाई आज लाग्यो, उसले श्रीमतीलाई साँच्चै माया गर्यो तर केही दिन सकेन। न त साडी किनिदिन सक्यो, न त कंगन नै। उसले सुनेको थियो, उहिल्यैका राजाहरू आफ्नी रानीलाई ताजमहल उपहार दिन्थे। अहिलेका महाराजाहरू आफ्नी रानीलाई कलियुगको स्वर्ग उपहार दिन्छन्। यो सबै उसलाई व्यंग्यजस्तै लाग्छ। आखिर ऊसँग पनि राज्य भए एउटा के हजारौं ताजमहल उपहार दिन्थ्यो। ऊ त्यति कन्जुस पनि कहाँ हो र १ तर, उसका हातहरू खाली छन्, त्यसैले ऊ आफ्नी प्रियतमालाई सपनाहरू उपहार दिन चाहन्छ।

खासमा, ऊ पाउजु लगाई छम्छम् नाचेकी आफ्नी दुःखिनी हेर्न चाहन्छ। ऊ कृष्ण बनोस् र आफ्नी दुःखिनी राधा बनेर नन्दन वनमा मस्त नाचोस्। तर, सपनाहरू कहाँ गए र ऊ कहाँ आइपुग्योरु उसले काम त गरेकै हो, कता गयो रगत र पसिनाको मूल्यरु किन पूरा भएनन्, दुःखिनीका सपनाहरूरु बिल्टुले जीवनमै पहिलोचोटी आफूसँग प्रश्न गर्यो। आफैंसँग गुनासो गर्यो। मालिकको अनुहार सम्झियो। आज उसलाई मालिक पनि निकै दयाहीन लग्यो।

घाम अलिक माथि नै थिए तर बिल्टुले गोरु फुकायो। सधैंजस्तो ऊ गोरुको पछि लागेन। उ त कदमगाछी चोकतिर पो हान्नियो। सानो गुद्री बजार थियो। उसले एक ग्लास रक्सी स्वाट्ट पार्यो। भिखनको माछा पसलबाट उधारोमा आधा किलो सलसल परेका माछा लियो। ऊ छिटो छिटो आफ्नो झुप्रोमा पुग्न चाहन्थ्यो। आज ऊसँग नयाँ सपनाहरू थिए। नयाँ योजनाहरू थिए। ती सबै ऊ दुःखिनीलाई सुनाउन चाहन्थ्यो। उसलाई हँसाउन चाहन्थ्यो। अघाउँजी माछाभात खाने, मस्ती गर्ने र रमाउने उसको इच्छा थियो।

बिल्टु आँगनमा पुग्यो। झुप्रो उही थियो। आँगन र आँगनमाथिको पिँढी उही थियो। पिँढीको मध्यभागमा उसरी नै टिनको ढोका लागेको थियो। घर सुनसान र शान्त थियो। बिल्टु घरभित्र पस्यो।

दुःखिनि शान्त थिई। उसले आफ्नी दुःखिनीलाई नियालेर हेर्यो। सबैभन्दा मायालाग्दी उसकी आईमाई आँखा चिम्लिएर सुतेकी थिई। उसले आफ्नी प्रियतमालाई मिठो चुम्बन दिन चाह्यो। हेर्यो दुःखिनीका आँखाको आँशु ओभाएको पनि थिएन तर उसको शरीर चिसो र मौन थियो। बिल्टु असहायझैं उभियो। उसका अगाडि कालाज्वरले आक्रान्त आफ्नै सपनाको लास लम्पसार थियो। भख्खर बजारमा किनेका माछाहरू भने प्लास्टिकको झोलामा छटपटाउँदै थिए।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*