वैकल्पिक शक्ति खोज्दैछ मधेस
मधेसको पछिल्लो आशा, भाषा र भाव के हो? के मधेस सन्तुष्ट छ? कि मधेसमा असन्तुष्टिको आगो निभेको छैन, बरु यो भित्रभित्र पुत्पुताउँदै छ? यिनै प्रश्नहरूको सेरोफेरोमा केही समयअगाडि काठमाडौंमा एक कार्यक्रम आयोजना भयो। विवेकशील साझा पार्टीले आयोजना गरेको सो कार्यक्रमको नाम थियो मधेस मन्थन –एक। कार्यक्रमका वक्ताहरू थिए लेखक खगेन्द्र संग्रौला, डा. कृष्ण हाछेथु, डा. विजय मिश्र, विश्लेषक तुलानारायण शाह, अभियन्ता सिएन थारू र पत्रकार बसन्त बस्नेत।
मूलतः मधेसका विषयमा विविध विचार सुन्नु आयोजकको अभिप्राय थियो। यस्ता विचारहरू काठमाडौंमा पनि छन् र मधेसमा पनि। यसको अर्थ थियो, विवेकशील साझा पार्टी मधेसका अनेक स्वर सुन्न चाहन्छ। केही स्वर कडा होलान्, केही मध्यमार्गी। केही नरम। केही विपरीत। तर सबै स्वर सुन्नु र मधेसका विषयमा वस्तुनिष्ठ र वैज्ञानिक धारणा बनाउनु आयोजकको मुख्य उद्देश्य थियो।
तर कार्यक्रम आयोजना गरिरहँदा सामाजिक सञ्जालमा प्राप्त प्रतिक्रयाहरु भने मिश्रित थिए। केही अचम्मलाग्दा पनि। कसैकसैको भनाइ थियो, मधेस शान्त छ, यसमाथि पुनः नखेल। कसैले भनेको देखियो कि मधेसको कुरा गर्नु आफैंमा विखण्डनको कुरा गर्नु हो। कसैको भनाइ थियो कि यस्ता कार्यक्रम काठमाडौंमा गर्नुको कुनै प्रयोजन छैन। कसैले आयोजकलाई गाली गरे। कसैले वक्तालाई। धेरैले मधेसको कुरा सुन्नु आफैंमा राम्रो काम भएको प्रतिक्रिया दिए। तर आयोजकहरूको कुरा स्पष्ट थियो कि मधेसलाई सुन्नुपर्छ। त्यो काठमाडौंमा पनि सुन्नुपर्छ र मधेसमा पनि। मधेसलाई ‘डिल गर्न’ पनि मधेसलाई सुन्नु आवश्यक छ।
समयको खेल
मधेसका विषयमा कुरा गर्नासाथ किन मान्छे आग्रह–पूर्वाग्रहमा हुन्छन्? के मधेस बोल्नै नहुने ‘इस्यु’ हो? मधेस मन्थनका वक्ताहरुको एउटै भनाइ थियो कि मधेसका विषयमा बोल्नु आजका लागि महत्त्वपूर्ण काम हो। मधेसको भाव, भाषा र भविष्यलाई राष्ट्रिय राजनीतिमा एकाकार नगरी समृद्धि आउँदैन। तर मधेसको विषयमा बोल्ने कसले? मधेसले आज शून्यताको अनुभूत गरिरहेको छ। त्यसैले मधेस शान्त देखिन्छ। मधेस आज न त क्षेत्रीय राजनीतिसँग सन्तुष्ट छ, न त राष्ट्रिय राजनीतिसँग। अनेक धोखाघडी देखेको मधेसका लागि त्यो असन्तुष्टि स्वाभाविक हो। तर त्यही स्वाभाविकताले भयंकर अस्वाभाविक भविष्यको संकेत गर्दछ। यसर्थ मधेस मन्थन गर्नु, मधेसको भाषा बुझ्नु र विकल्पहरुको खोजी गर्नु एक युगीन कार्य हो।
समय निकै बलवान् छ। त्यही बलवान् समयले कहिलेकाहीं राजनीतिमा गम्भीर प्रश्नहरुको रचना गर्दछ। नेपाली राजनीति आज त्यस्तै केही बलिया प्रश्नहरुको घेरामा छ। प्रश्न के भने आन्दोलनकारीहरु आज सत्तामा छन् र सत्ताले आन्दोलनको अपमान गरिरहेको छ। प्रश्न के भने मधेसमा फेरि पनि पुरानै पार्टीहरुको वर्चस्व छ, जसबारे मधेसमा काफी संशय छन्। प्रश्न के भने हिजो आन्दोलनका नायक आज निर्णायक तहमा छन्, तर मधेस विश्वस्त छैन। प्रश्न के भने मधेस चुपचाप छ र सत्ताधारी यसलाई नचलाउन उर्दी जारी गरिरहेका छन्। त्यसरी के समस्या समाधान होला ? समाधान हुन्छ भने ठिक छ, चुपचाप बसौं। हुँदैन भने विकल्पबारे मन्थन गर्नु निश्चय नै अनिवार्य कुरा हो।
मधेसका मान्छेहरु भन्छन्, ‘आन्दोलन असफल भयो। मूलतः मधेसको स्वाभिमान, मधेसको पहिचान, मधेसको सिमाना, मधेसको नागरिकताका विषयमा हाम्रो कुरा कसैले सुनेन। सुन्नेहरु पनि पूर्वाग्रही भए।’ के कुरा त्यस्तै हो ? मधेसका जनता भन्छन्, ‘हामीलाई काठमाडांैले आफ्ना ठानेन।’ कुरा सुन्दा लाग्छ, पूर्वाग्रहको कुनै छेकछन्द छैन। तर किन मधेसमाथि हाम्रो राष्ट्रवाद यति धेरै पूवाग्रही ? त्यसैले मधेस बाहिर शान्त छ र भित्रभित्र अशान्त छ। त्यो अशान्ति मूलतः ‘आक्रोश, दबाब र विद्रोहको’ मौनता हो। काठमाडौंले बुझ्नुपर्ने हो कि आन्दोलनको असफलताले तनाव बढ्छ, शान्ति मिल्दैन। जब सरकारसँग जनताको कुनै अपेक्षा रहँदैन त्यहीँबाट राजनीतिका अपसगुन सुरु हुन्छन्। त्यही अपसगुन मधेस राजनीतिको आजको यथार्थ हो।
वस्तुतः मधेस अहिले नेतृत्वविहीन, राजनीतिविहीन र लक्ष्यविहीन देखिन्छ। राजनीतिक विश्लेषकहरु भन्छन्, ‘मधेसलाई बेलैमा समाल्नु बुद्धिमानी हुन्छ।’ तर कसरी समालिन्छ मधेस? के मधेसमा राजनीतिक पुनर्गठनको युग प्रारम्भ भयो ? पक्का हो। तर परम्परागत कमजोरीलाई नफाली मधेस राजनीतिले नयाँ बाटो समाउँदैन।
मधेस र पहाडको धागो
अमेरिकन कालाहरुले मान्छेको सुन्दरतालाई नयाँ परिभाषा दिन ‘ब्याल्क इज ब्युटिफुल’ भने। त्यो सशक्त आन्दोलन थियो। जसले त्यहाँको सौन्दर्य चिन्तनमै फेरबदल ल्यायो। ठिक यस्तै नेपालमा पनि सुन्दरताको पुनर्परिभाषा आवश्यक देखिन्छ। यो नेपाली पहिचानकै पुनर्परिभाषा हो। मेरा एक मित्र छन् जिवच्छ शाह। उनी काला छन्। उनी रमाइला र राम्रा छन्। मूल कुरा उनी नेपाली स्वाधीनता, स्वाभिमान र एकताका लागि म जति नै बफादार छन्। तर उनको गुनासो छ, काठमाडांैले उनको रंग र लबजलाई नेपाली ठान्दैन। बेलामौका उनी कसैको ‘भैया’ बन्छन् र गाली खान्छन्। यही कुरा एक दिन आफ्नो मुख अमिलो बनाउँदै उनले मलाई सुनाए। किन यस्तो हुन्छ?
सायद हामीले आफ्ना सोच्ने ढाँचामा परिवर्तन गर्नुपर्छ। मधेसमा सबै खराब छन्। काला मान्छेहरु सबै भारतीय हुन्। यी नराम्रा मान्छेहरु हुन्। यस्ता चिन्तनहरुमाथि पुनर्विचार आजको आवश्यकता हो। समथरका मान्छेलाई काठमाडांैले आश्वस्त पार्नुपर्छ उनीहरु आफ्नै बन्धुहरु हुन्। यता मधेसमा पनि त्यही लागू हुन्छ। अनिमात्र मधेस र काठमाडौं दुवै बलियो हुन्छन्। यो नै देश बलियो हुने कडी हो। अन्यथा हाम्रो राष्ट्रय एकता र सद्भाव त कमजोर हुने नै छ। यस्तो भयो भने समृद्धि र स्वाभिमानले खुट्टा टेक्ने मैदान गुमाउला। त्योभन्दा ठूलो दुर्भाग्य के हुन्छ ?
सबैलाई थाहा छ नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक र बहुजातीय मुलुक हो। नेपाल जे छ त्यो पहाडका गोरा मान्छेहरुले मात्र निर्माण गरेको होइन। अन्यथा हाम्रो मैदानको सिमाना यतिधेरै अटल र अजेय रहने थिएन। मैदानमा हाम्रो जमिनको रक्षा तिनै काला मान्छेहरुले गरेका हुन्। नेपालको राष्ट्रियता साझा जाति, भाषा, धर्म, सांस्कृतिक, आर्थिक जीवन मात्र हैन साझा भूगोल र साझा मनोविज्ञान पनि हो। यसको अर्थ हुन्छ हामीसँग हिमाल, पहाड र तराई छन्। यी तीनवटै भूगोल समालेर बस्ने अनेकौं जातिहरु छन्। यी जातिहरु कोही टोपी लगाउँछन् कोही धोती। यी जातिहरु कोही नेपाली बोल्दछन् कोही मैथिली। त्यसैले कुरा स्पष्ट छ मधेसका लागि नेपालमा सगरमाथा छ। पहाडका लागि मिथिला संस्कृति र वैभव। हाम्रो समृद्धि र स्वाभिमानको अभियान यो तथ्यबाट विमुख हुनै सक्दैन।
तर हाम्रा मैदानी बन्धुहरुले नयाँ संविधान ०७२ सँग असन्तुष्टि राखे। उनीहरु भन्दैछन्, संविधानले उनीहरुको भावना समेटेन। के सरकारले उनीहरुको कुरा सुन्नु पर्दैन ? यो राजनीतिक विषय हो। केही हदमा यो मनोवैज्ञानिक विषय पनि हो। जब भुइँमा मनोवैज्ञानिक समस्या सिर्जना हुन्छन् त्यसलाई अहंकारले हैन प्रेमले हल गर्नुपर्छ। त्यो प्रेमको धागो के हो ? आजको नवीन कथ्य त्यहींबाट रचना हुन्छ।
मेरा मधेसी मित्रहरु भन्छन्, ‘उनीहरुलाई हेपियो।’ यो राजनीतिक कुरामात्र हैन। उनीहरुको गुनासो छ, ‘वर्षमा एक दिन विद्यापति दिवस मनाएर मनलाई जोड्न सकिँदैन।’ यसलाई कानुन, विधि र संविधानले त जोड्नैपर्छ, सँगै सम्मान र विश्वासको धागो पनि चाहिन्छ। यसमा भावनात्मक र सांस्कृतिक कुरा छन्। मधेसका साथीहरु भन्छन्, ‘विराट दरबार हेपिएको छ। सिम्रौनगढ उजाड छ। मधेसका जाट्जटिन, झुमरी, झिँझिया, समाचकेवा, किर्तनिया, भगता, झरनी, कहरवा र होरीजस्ता लोकसंस्कृतिहरु लोप हुँदैछन्।’ साथीहरुको गुनासो छ कि हामीले हाम्रो भाषा, भेषभूषा, संस्कृतिको पहिचान देऊ भन्यौ त के अन्यथा भयो ?
यसको अर्थ हो, पहिचान, सम्मान र स्वाभिमान कुनै बागी विचार होइनन्। यी स्वाभाविक र अनिवार्य विचार हुन्। तर जब यस्ता भावना इन्कार गरिन्छ तब बागी विचारहरु बन्छन् र त्यहींबाट गडबडी सुरु हुन्छ। यसको अर्थ हो, सरकार मैदानका काला मान्छेहरुसँग तर्किंदै हिँडेर समाधान आउँदैन। मधेसका युवा काठमाडौसँग एकाकार हुन चाहन्छन्। उनीहरु चाहन्छन् मधेसको गरिबी, विभेद र भ्रष्टाचारलाई पहाडसँग मिलेर समाधान गरौं। मधेसको भाषा, साहित्य, संस्कृति, कला साझा बनोस्। मधेस आफ्नो उपस्थितिलाई मूलधारमा ल्याउन चाहन्छ। तर नेताहरुले यसमा आग्रहपूर्वाग्रहको राजनीति गरे। त्यसैले मधेसमा नयाँ भाष्य, नयाँ आशा र नयाँ विकल्प आवश्यक छन्।
विकल्प बनाऊ
मधेस राजनीतिको इतिहास निकै पुरानो छ। यति पुरानो इतिहास भएर पनि मधेसले राजनीतिक परिपक्वता प्राप्त गरेन। बरु यो अझ कमजोर, निरन्तर अपरिपक्व र अस्थिर पो बन्दै गयो। रामराजाप्रसाद सिंह, महेन्दनारायण निधि र गजेन्द्रनारायण सिंहको ओझ अब रहेन। मधेस राजनीतिमा विसंगतिको लर्को लाग्यो। जसले उँभो लाग्नुपर्ने मधेस राजनीतिलाई ओरालो झार्यो। मधेसमा कुनै पनि दल विभाजन, सत्ता स्वार्थ र संकीर्णताबाट अछुतो रहेन। त्यसैले मधेसमा स्थापित राजनीतिक शक्ति बनेन। यस्तो राजनीति शक्ति जसले मधेसलाई एकताबद्ध गरोस्। जसले पहाडलाई विश्वस्त गर्न सकोस्। जसले इमानदार राजनीति गरोस्। जसले सुसंस्कृत राजनीतिका माध्यमबाट मधेसको गुमेको ऊर्जा र ओजलाई पुनः प्राप्ति गरोस्।
रोचक कुरा छ। मेरा एक मित्र भन्छन्, ‘मधेस आन्दोलनमा सबै थोक देखियो, तर राजनीति देखिएन।’ निश्चय नै यो कुरा पुष्टि भयो कि मधेसका नेताहरु सबै थोक जान्दछन् तर राजनीति जान्दैनन्। असल राजनीति र सक्षम नेताको अभाव नै समकालीन मधेसको दुःख हो। मधेस राजनीतिमा कुनै नैतिक सीमा, आचरण र अनुशासन देखिएन। मधेसका नेताहरुलाई मन्त्रीको झन्डा हल्लाउँदै हिँड्नु र मधेसी जनताको बीचमा पुगेपछि त्यहस् झन्डा च्यात्ने उद्घोष गर्नु सामान्य बन्यो। यो राजनीतिमा इमानदारी सकिएको र स्वार्थ झाँगिएको प्रत्यक्ष उदाहरण हो।
अब के गर्ने ? मधेस आन्दोलनपछि मैदानमा जुन वैचारिक अन्योल छ त्यसलाई नयाँ विकल्पसाथ आशाहरु जगाउनुपर्छ। के हाम्रा राजनीतिक दलहरु मधेसमा नयाँ बहस गर्न तयार छन् ? अथवा के उनीहरुले मधेसमा नयाँ राजनीतिको प्रारुप बनाउलान् ? आन्दोलनको राप र ताप सेलाएपछि कांग्रेस र कम्युनिस्टहरु पुनः मधेस झरे। यस्तो देखियो कि निर्वाचनमा फेरि पनि उनीहरूकै वर्चस्व स्थापित भयो। यो के भएको ?
उनै पार्टीहरु, उस्तै विचार, उस्तै शैली र संस्कृतिलाई स्विकार गरेर मधेसमा नयाँ राजनीतिक विकल्पहरु कसरी बन्छन् ? पुरानै पार्टीको राजनीतिले मधेसमा आजको पुस्ताको भाग्य र भविष्य कसरी उज्यालो बन्छ? हामीले पटकपटक परीक्षण गरेका पार्टीहरु नै मधेसका मसिहा बन्ने हो भने परिणाम पनि त पुरानै आउला।
यसर्थ नै मधेसमा राजनीतिक पुनर्गठन अनिवार्य देखिन्छ। तर त्यो कस्तो हुन्छ ? सायद यही प्रश्नसँग मधेस राजनीतिको भविष्य जोडिन्छ। त्यही प्रश्नको जबाफ खोज्न मधेसका विषयमा अनेकौं नवीन मन्थनहरु आवश्यक छ। मधेसमा राजनीतिका नवीन भाष्यहरु, नवीन विकल्पहरु र समानान्तर राजनीतिको प्रारुप आवश्यक छ। अन्यथा न त हामी समृद्ध नेपाल बनाउन सक्छौं न त न्यायपूर्ण।
नेपाल तीन मुख्य जातीय, भाषिक र सामुदायिक समूहको देश हो। जसभित्र अनेकौं साना जाति, भाषा र संस्कृतिहरु छन्। यी सबैलाई मनोवैज्ञानिक एकीकरण गर्ने र समृद्ध बनाउने राजनीति आजको आवश्यकता हो। ठिक यही विन्दुबाट मधेसमा वैकल्पिक राजनीतिको सुरुवात हुन सक्छ। सम्पूर्ण नेपालमाथि आफ्नो स्वामित्व खोज्ने नेता, नेतृत्व र राजनीति मधेसको आवश्यकता हो। मधेसमा सुसंस्कृत राजनीतिको रचना गर्दै नयाँ पुस्ताका सपनाहरु जोड्ने राजनीति आजको आवश्यकता हो। यसका लागि अँध्यारोबाट उज्यालोतिर जाने राजनीतिक अवधारणा, शैली र नेतृत्व मधेसले खोज्नुपर्छ। मधेस राजनीतिमा नयाँ संस्थापनको खोजी आजको आवश्यकता हो। अनिमात्र मधेस राजनीतिले वैकल्पिक धार, नयाँ बाटो र गन्तव्य निर्धारण गर्नेछ।
नेपाल समय डटकमबाट