सम्पादकीय : नयाँ वर्षमा नयाँ आशा
विक्रम सम्बतको ७५ सालको बिदाई भएर आजबाट नयाँ वर्ष २०७६ आरम्भ भएको छ । आजका दिन देश तथा विदेशमा रहेका नेपालीहरुका बिच आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइदैँछ । नयाँ वर्षको पहिलो दिन विगतका वर्षहरुमा गरिएका विभिन्न कामको समीक्षा गर्दै आगामी दिनमा आफूले गर्नुपर्ने कामका लागि योजना बनाइन्छ । नयाँ बनाइएको योजना कार्यान्वयन गर्नका लागि आवश्यक पर्ने कार्यहरु तयार गरिन्छ । वर्षको पहिलो दिनमा विभिन्न योजनाका लागि प्रण पनि गरिन्छ । आफूले गरेको प्रण वास्तवमा साकार पार्नका लागि आवश्यक पर्ने अन्य विभिन्न पक्षमाथि पनि उत्तिक्कै ध्यान दिइनुपर्ने भएकाले नयाँ वर्षका दिनमा त्यस्ता महत्वपूर्ण कार्य वा पक्षमाथि पनि सोच विचार गर्ने गरिन्छ। नयाँ वर्षमा उमङ्ग, उत्सवका साथ लिइएको प्रण सफल बनाउँनका लागि हामीले वर्षभरी कर्ममा सक्रिय हुनुपर्छ ।
मकवानपुर लगायत देशभरका नेपालीका लागि २०७५ साल पनि औसत रह्यो । सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा आशालाग्दो खासै प्रगति भएन । राष्ट्रिय स्तरमा सार्वजनिक यातायातमा चलाइँदै आएको ‘सिन्डिकेट’ विरुद्ध सरकार कडा रुपमा प्रस्तुत भएपनि अन्त्यमा यो विषय उत्तिक्कै सेलायो । सुनकाण्ड, निर्मला हत्याकान्ड जस्ता विषय खुब चर्चामा रहे तर सरकारले कारवाही गर्न सकेन । तराईमा आन्दोलनरत सिके राउतलाई सहमतीमा, विप्लव नेतृत्वको नेकपाको गतिविधी प्रतिबन्ध लगाउने लगायतका कार्य गएको सालमा भयो ।
मकवानपुरका लागि पनि ७५ साल खासै उपलब्धिमूलक रहेन । गएको वर्षमा भएका राम्रा कामलाई आत्मसात गर्दै त्यसमा भएका कमिकमजोरी सच्याउँदै आगामी दिनमा गरिने कार्यमा विशेष ध्यान दिइनुपर्दछ । हेटौंडाको मुख्य बजारको राजमार्ग क्षेत्र १६ मिटर कायम गर्ने प्रदेश सरकारको निर्णय, हेटौंडामा बर्डफ्लु, सुनकान्डमा तत्कालीन एसपी विकासराज खनाल पक्राउ, केशव स्थापित मन्त्रीबाट बर्खास्त, सञ्चारकर्मी मनोहर ढकालको हत्या, मकवानपुरलाई सडक मानवमुक्त घोषणा, विद्यार्थी भर्ना अभियान लगायत गएको वर्ष मकवानपुरमा भए ।
पूरानो वर्षमा भए गरेका कार्यबाट अनुभव लिँदै, सिक्दै नयाँ वर्षमा योजना बनाइदै कार्य गर्ने सङ्कल्प गर्ने दिनका रुपमङा आजका दिनलाई लिइन्छ। नयाँ वर्षको पहिलो दिनमा लिइएको प्रणका आधारमा हामी वर्षभरी आफ्ना कार्यलाई निरन्तरता दिँदै जानुपर्छ । प्रण गर्ने, योजना बनाउँने तर कार्यान्वयनमा भने ध्यान दिएनौं भने यस्ता वर्षहरु आउँने जाने गर्छन् । वर्ष चलिरहन्छ, एउटा साल जान्छ अर्को आउँछ । भित्तामा क्यालेन्डर परिवर्तन गरिन्छ तर आफ्ना मन विचार, भावना परिवर्तन गरिदैन । आफ्ना लागि बनाइएका योजना कसरी पूरा हुन्छ भन्नेमा लागिपरिदैन भने जस्तोसुकै सङ्कल्प लिएपनि त्यो सफल हुदैन । आफूले सोचेको कुरा, सङ्कल्प अर्थात योजना सफल बनाउँन निरन्तर त्याग, तपस्या आवश्यक पर्दछ । यदि हामी आफ्ना योजनामा निरन्तरता दिँदै कर्तव्यपथमा अघि बढिरह्यौं भने पक्कै पनि सफल हुनसक्छौं । हामीले बनाउँने योजना पक्कै पनि कुनै एक दिनबाट, एक दिनको पनि कुनै एक पलबाट सुरु हुन्छ । त्यो महत्वपूर्ण दिनमा बनाइएका योजना कार्यान्वनका लागि हामीले गर्नुपर्ने कर्मको यात्रा भने निक्कै लामो हुनसक्छ । यसरी महत्वपूर्ण प्रण गर्ने दिनका रुपमा नयाँ वर्ष आरम्भका दिनलाई लिने गरिने भएकाले यही रुपमा आजका दिनलाई लिएर आफ्नो योजनायात्रामा अघि बढौं । नयाँ वर्षमा सरकारले ल्याउने योजनामात्र होइन, आफैंपनि केही योजना बनाउँ, केही आशालाग्दो काम गरौं । आशावादी बनौ. । मध्यस्थता मिडियाद्वारा सञ्चालित लोकखबर डटकमका तर्फबाट सबै -सबैमा नयाँ वर्षको शुभकामना।