लुटतन्त्र चलाउँने सुमोलाई कारवाही गर्न कुन तन्त्र आउँनुपर्ने ?
कुनै समय मकवानपुरलाई विशेषत : हेटौंडालाई ड्राइभरहरुको शहर भनिन्थ्यो रे । समय धेरै अघिको नभएपनि नयाँ पुस्ताका लागि थाहा नभएको कुरा भएकाले भनिन्थ्यो रे भन्नु उपयुक्त ठानेको हुँ । ड्राइभरहरुको शहर, धेरै चालक बस्ने शहर अथवा यस शहरमा आफ्नो रोजीरोटीको पेशा ड्राइभिङ् बनाएका थिए त्यो बेला । ड्राइभरको शहर भन्दा होच्याएर भनियो, हेपेर भनियो अथवा कामलाई तल्लो स्तरमा राखऐर भनियो भन्ने हामीलाई लाग्छ । तर यो एङ्गलबाट मात्र हामीले सोच्नु हुदैन । ड्राइभर हुन सवारी चलाउने शीप हुनुपर्छ । सबैसंग त्यो खालको शीप हुँदैन, जो संग शीप छ उससंग आत्मनिर्भर हुने विश्वास पनि छ । यो एक प्रकारको सम्मान पनि हो, काम सानो ठूलो हुदैन । ड्राइभरको शहर भन्दैमा मुख खुम्च्याइहाल्नु पर्दैन । बरु शीप जानेका, आत्मनिर्भरतामा बाँचेका, यात्रुलाई सहज, सुरक्षित रुपमा गन्तव्यमा लाने, ल्याउने चालकलाई सम्मान नै गर्दा हुन्छ । आफ्नो परिवारको रोजीरोटीका लागि जोखिम मोलेर गाडी चलाउने धेरै चालकहरु छन् यहाँ । केही बदमासलाई छाड्ने हो भने अनुभवी, इमान्दार चालकले यात्रुलाई सुरक्षित यात्रा गराइरहेका छन् । बरु हेटौंडाबाट सञ्चालित टाटासुमो सञ्चालक, त्यसका कर्मचारीले बेलाबेलामा सर्वसाधारण यात्रुलाई लुटिरहेका छन् ।
हेटौंडा-काठमाडौं चल्ने टाटासुमोहरुले विभिन्न मौकामा गज्जबले यात्रुलाई ठग्ने गरेका छन् । यस पटक होलीमा पनि छाडेनन् टाटासुमोले । ४ सय ५० रुपिया लिने सुमोहरुले एक हजार रुपिया लिए यात्रुसंग । काठमाडौंबाट हेटौंडा, बीरगञ्जसम्म जानुपर्ने बाध्यतामा रहेका यात्रुसंग सुमोवालाले मनपरी गरे । हेटौंडा हुँदै जान हाइसञ्चो, यात्रु थोरै । काठमाडौंबाट फर्कने सुमोलाई चौका दाउ, भाडा तेब्बरसम्म असुल्ने मौका । सर्वसाधारण यात्रु यो मारमा परे । यी सुमोले ठग्छन् भन्ने सबैलाई थाहा छ । सिडिओ, उपभोक्ता अधिकारवादी सबैलाई यो विषय नयाँ होइन । हरेक वर्ष हुने ठगी धन्दाबारे कोही वेखबर छैनन् । तर पनि सार्वजनिक सवारीमा यात्रु ठगिइरहेको खबरबाट आफू बेखबर बनिदिन्छन् । तिनले किन यसो गरिरहेका छन् ? किन आफ्नो जिम्मेवारीबाट पूरै पर भइहेका छन् सुमो ठगीको सवालमा । चाडपर्वमा यात्रु खचाखच हुने बेलामा यात्रुको बाध्यतामाथि खेलबाड गर्दै सकेसम्म असुल्ने ति लुटेरामाथि कारवाही किन कसैले गर्दैन ?
सुमो ठगीमा चालकहरु भन्दा माथि सुमोका मालिक तथा कर्मचारी लागिपरेको पाइन्छ । कुन यात्रुसंग कति शुल्क लियो भन्ने कुरा चालकलाई पनि थाहा नदिई यात्रु सुमोमा कोचिदिने गरेका छन् तिनले । बिचमा आइपुगेपछि विचरा चालकले यात्रुसंग उल्टै कति कति भाडा तिर्नुभयो भनेर प्रश्न सोध्छ । त्यहाँ सबैले तेब्बरसम्म भाडा तिर्नुपरेको पीडा सुनाएपछि ए बढी पो तिर्नुपरेछ भन्ने जवाफ दिन्छ । सुमो मालिक वा कर्मचारीका सामु चालक विचरा हुँदो रहेछन् । यात्रुबाट ठगिएको भाग नपाएका कतिपय चालक यात्रुसंग उल्टै किन बढी भाडा तिरेको भनेर रिसाएको पनि भेटिए । कतिपय चाँही मालिक आफैं, चालक आफैं भएकालाई चाँही दोब्बर मज्जा नै हुँदो रहेछ सुमोमा । पर्वका बेलामा दोब्बर, तेब्बर मौका, अघिपछि पनि चान्स त छदैछ । त्यसैले त उनीहरु सुमोधनी आफैंले चलाउँनु राम्रो अरुलाई जिम्मा दिनु भन्ने तर्क गर्दा रहेछन् । सुमोले तीज, बडादशै, तिहार, होली,छठ जस्ता पर्वमा यात्रुसंग मनपरी भाडा असुल्छ भन्ने कुरा थाहा नपाउँने कोही छैन । सर्वसाधारण यात्रु पनि सिधै भन्छन्– ‘चाडपर्वका बेलामा सुमोमा भाडा बढ्छ, त्यही अनुसार प्लान गर्नुपर्छ । ’ सर्वसाधारण यात्रुका यी कुरा सुनिसकेपछि चाडपर्वका बेलामा भाडा त बढ्नैपर्ने रहेछ, यो त नियमसंगतकै मूल्य लिएको रहेछ भन्ने लाग्छ । तर बर्षौदेखि महङ्गो शूल्क तिरिरहेकाहरु आजित भइसकेर त्यसो भनेका हुन् । त्यो बाध्यतामा बढी भाडा असुली भयो भनेर गुनासो गर्न थालौं भने बल्ल बल्ल पाइएको सिट गुम्ला भन्ने डर । गुनासो नगरौं वर्षौदेखि ठगिनु परेको पीडाको भारी कम छैन । विचरा यात्रु के गर्न सक्छन् र ? लाचार छन् । समयमा गन्तव्य अथवा आफ्नो कार्यस्थलमा पुग्नुपर्ने बाध्यतामा रहेका यात्रु जति शुल्क असुले पनि तिर्न तयार बनिदिन्छन् । चाडपर्वमा मात्र होइन, विनासकारी भूकम्पले देशै हल्लाएको बेलामा पनि यी सुमोवालामा मानवता पलाएन । त्यस्तो विपत्तिमा पनि काठमाडौं छाडेका यात्रुसंग दुई-तीन हजार रुपियासम्म असुलेका थिए सुमोवालाले । सुमोवालाको यो लुटतन्त्रलाई कारवाही गर्न कुन तन्त्र आउँनुपर्ने हो प्रशासनलाई सोध्ने हो कि उनै पशुपतिनाथलाई?