वेवारिसे जग्गा व्यक्तिले नखाओस्
मकवानपुर । हेटौडा ४ मा रहेको कित्ता नम्बर ४०२ को जग्गा नेपाल वाल्यान्केट एण्ड उल मिल्स प्रालिको नाममा दर्ता रहेको छ । यो जग्गाको सम्बन्धमा कम्पनी नामसारी नभई जग्गा कसैले बिक्री गर्न नसक्ने र जग्गा बिक्री गर्न कम्पनीका हकदार चाहिने भएकोले यो कम्पनी नामसारी सम्बन्धमा मैले कम्पनी रजिष्ट्रार कार्यालयमा बुझ्दा यति धेरै मानिस जाँदा रहेछन् की त्यहाँका सबै कर्मचारी र काम गर्ने कानून व्यवसायी समेतलाई यो कम्पनिको बारेमा थाहा भई सकेको रहेछ ।
सो कम्पनीको फाईल हेर्न मात्रै मानिसहरुले पचास हजार रुपिया दिने गरेको पनि चर्चा रहेछ । हाल उक्त जग्गा साविककै कम्पनिको नाममा छ । कम्पनीका संचालक विदेशी भारत मोतीहारी र अन्य स्थानमा बस्ने भएको र हकदारहरु एकीन गर्न सक्ने अवस्था पनि रहेको छैन तर हकदार हुँ भन्दै जो गए पनि नेपाल नआउने शर्तमा हकदार हुँ भन्नेहरुले उनीहरुसंग पैसा लिने र कागजमा सही गरेर पठाउने गरिदिन्छन् जसका कारण धेरैको पैसा डुबेको रहेछ । यो कम्पनिको सम्बन्धमा कम्पनि नामसारी गर्न धेरैको विभिन्न खाले निवेदन परेको रहेछ ।
यो कम्पनी र जग्गाको सम्बन्धमा उच्च अदालत हेटौडामा बुझ्दा जग्गा मेरो हो नचलाउनु भनि परेको रिटहरु २०७५ सालमा र हाल २०७६/१/११मा खारेज भई सकेको रहेछ । जग्गा नामसारी गरी लिन खोज्नेहरु उपर जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरेर मुद्धा चलाउने तयारी पनि गरेको रहेछ । उक्त जग्गा विदेशी व्यक्तीहरुले संचालन गरेको हकदार एकीन नभएको र हुनसक्ने अवस्था पनि नरहेको कुरा कम्पनी रजिष्टार कार्यालयलाई पनि थाहा रहेछ ।
धेरै ठूलो सम्पती कम्तीमा चार-पाँच अरब वरावरको यो कम्पनिको नाममा हेटौडा बुटवल लगायतका स्थानमा पनि महंगो जग्गा रहेकोले ठूलै मानिस र निकायवाट चलखेल हुनसक्ने आशंका पनि रहेछ । वेवारिसे अवस्थाको सम्पत्ति सार्वजनिक हुने भई सबैको हुने र आधिकारीक हकदार, स्थानीय प्रशासन, हेटौडा नगरपालिका र नागरिक समाजले एकिन गरेमा भोली सर्व सम्मतिबाट कानून बमोजिम हुने नै हुँदा हाललाई उक्त जग्गा जोगाउन र सार्वजनिक प्रयोजनको लागि उपयोग गर्न हेटौडा नगर पालिकाले सुरु गरेको कामले निरन्तरता पाओस् र हामी सबैले यो विषयमा चासो राखी जग्गा गलत व्यक्तीहरुको हातमा पर्न दिनबाट रोक्न आआफ्नो ठाँउवाट पहल समेत गर्न विभिन्न संघसंस्था, व्यक्ती, पत्रकार र सम्बन्धित निकायहरु समेतलाई अनुरोध गर्दछु । २०७६/०१/१७
चौलागाईं, जनसरोकार केन्द्र मकवानपुरका संयोजक हुन् ।