बन्दले बिथल्यो जनजीवन
मकवानपुर । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको बन्दको मकवानपुरमा पूर्ण प्रभाव परेको छ ।
बन्दका कारण मकवानपुरमा रहेका उद्योग, कारखाना, शैक्षिक संस्था लगायतमा प्रभाव परेको छ । बन्दका कारण मकवानपुरको हेटौंडा हुदै संचालन हुने लामो तथा छोटो दुरीको सवारी साधन चलेनन् ।
पूर्वपश्चिम राजमार्ग, त्रिभुवनराजपथ, कान्तिलोकपथ, हेटौंडा-काठमाण्डौं जाने गाडी नचलेका हुन् । यद्यपी हेटौंडा बजारक्षेत्रमा अटो, विद्युतीय रिक्सा तथा छिटपुट रुपमा मोटरसाइकल भने चलेका छन् ।
बन्दका कारण अघिपछिको तुलनामा हेटौंडा बजार सुनशान बनेको छ । बन्दको अवज्ञा गरेको भन्दै एकाविहानै हेटौंडा र थाहा नगरमा ट्रकमा आगजनी गरिएको छ ।
त्रिभुवन राजपथ अन्तरगत हेटौंडाको चौकिटोलमा प्रहरी चौकी नजिकै ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी भएको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरीका अनुसार आगजनीका कारण ट्रकको पूरै भागमा क्षति पुगेको छ । यस्तै, मकवानपुरको थाहा नगरको वडानम्बर १ खानीगाउँमा ना ६ ख ८००७ नम्बरको आइसर गाडी पनि बन्दका क्रममा जलाइएको पाइएको मकवानपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भटराईका अनुसार विहान ४ बजेतिर गाडीमा आगजनी गरिएको पाइएको हो ।