साउने कुरा, मेहन्दी र चुरा !

भगवती पुडासैनी
३ श्रावण २०७६, शुक्रबार १४:४४

साउने सङक्रान्ती संगै घर आँगन, खेतबारी बगैंचामा झल्किएको प्राकृतिक हरियालीको सुन्दरतासंगै केहीवर्ष यता नेपाली नारीहरुले पनि मेहन्दी, हरियो चुरा र हरियो कपडामा सजिएर साउन महिना प्राकृतिक सौन्दर्यतामा आफूलाई समर्पित गरेको पाईन्छ ।
हिन्दु धर्मग्रन्थ अनुसार माता पार्वतीले महादेव पति पाउँनका लाग यही साउनमा एकान्त अनि प्राकृितक हरियालीमा बसेर कठोर ब्रत पूरा गरी श्री महादेव पति पाउँनु भएको भनाई छ । यसैलाई आधार मानेर अविवाहितले राम्रो गुणी र असल श्रीमान् पाउँनका लागि र विवाहितले सौभाग्यताका लागि मेहन्दी, हरियो पहिरन लगाउने गरेको बताउँछन् । यसले महिलालाई आत्मसन्तुष्टि होला र सौन्दर्यतामा केही प्रभाव त पार्ला नै । तर भारतमा उत्पादन हुने मेहन्दी र चुराले नेपाली महिलाहरुको करोडौ रकमलाई भारतले विनासर्त सजिलै भित्राउन पाएको छ यो कुरालाई हामी कसैलै मनन गर्न सकेका छैनौं ।

हामीले आयआर्जन भन्दा पनि खर्चका बाटाहरु धेरै खनिरहेका छौं । जसले पत्तो नपाई देखासिकी र असमानताको खाडल पनि खन्दै गएको    छ। हुने खाने र सम्पन्नलाई सधैं चाडपर्व सधैं मनोरन्जन । न्यून आय भएकालाई भने यसले खुसी भन्दा पीडा दिने काम गर्छ । यस्ता गतीविधिहरु पछि गएर पारिवारिक र सामाजिक कलङ्कको रुपमा देखा नपारोस् भन्ने लाग्छ ।

तर हामीले हाम्रा भावी सन्तान, घरपरिवार र समाजलाई कता धकेल्दै छौं या डोर्‍याउदै छौं मैले बुझ्न नसकेको कुरा । धर्म संस्कृती प्रथा परम्परा भन्ने पनि यसैगरी बढ्दै जाने त होला नि ? केही वर्षबाट पर्वकै रुपमा बढ्दै आएको यो हरियो पहिरन भोलीका पुस्ताले संस्कृती, प्रथा, परम्पराको रुपमा नलेलान् भन्न सकिदैन । मेरी सानी नातिनीलाई तोतेबोली संंगै यो वातावरणले छोएको देख्दा अचम्म लाग्छ । उनको हातमा मेहन्दी र हरियो चुरा नलगाईदिएसम्म घरमा ठूलै बाल आन्दोलन हुने खतरा भएपछि उनको माग पूरा गरिदिएको छोरीले भन्दा मलाई रमाईलो पनि लाग्यो । साथै, भावी पुस्ताका लागि यसको सङ्केत राम्रो छैन की भन्ने चिन्ता पनि लाग्यो ।

हामी महिलाहरुको समयलाई यस्तै यस्तै कार्यले विथोल्ने गरेको जस्तो लाग्छ । चाडपर्व,धर्म संस्कृती, रितीरिवाज यी सबै महिलाले नै धान्नुपर्ने जस्तो । कतै महायज्ञ लगाए भने विहान देखि बेलुकासम्म हाम्रो सहभागिता राम्रै हुन्छ । अब साउन महिनादेखि सुरु भयो हाम्रो रमाईला पर्वको रमझम । हामीले खर्चको हिसाब खोज्दा पैसा मात्र हैन समयको पनि फजुल खर्च भैरहेको छ की ? यस्ता कुराको विश्लेषण गर्नुपर्छ । अब हामीले नयाँ पुस्तालाई समय सापेक्ष चल्न सिकाउनुपर्छ नत्र समाज रुपान्तरणका कुरा अधुरो हुन सक्छ ।

लेखक पुडासैनी, जिल्ला समन्वय समिति मकवानपुरका उप प्रमख हुन् ।

प्रतिकृया

One thought on “साउने कुरा, मेहन्दी र चुरा !

  1. रामजी हुमागाईं says:

    दिदीको लख सान्दर्भिक छ , वास्तवमा हरियो चुरा र मेहन्दीको प्रयोग देशव्यापी रुपमा दुबोजस्तै मौलाउदै गइरहेको छ ,जुन कुरा हाम्रो नेपाली समाजको मौलिक परम्परा भने होइन ।यसको प्रयोगले दिदीबहिनीहरुको सक्रिय जीवनमा स्खलन ल्याएको छ ।हातमा मेहन्दी र चुराले गर्दा हातले सम्पादन गर्नुपर्ने कार्यमा कमी अाएको छ ।मेहन्दीको बुट्टा बिग्रेला र चुरा फुट्ला भन्ने डरले हस्तकार्यमा कमी अाउँदा एकातिर उत्पादन मा ह्रास र अर्कोतिर अनावश्यक खर्च हुनाले नेपाली समाजमा दोहोरो नोक्सानी बढेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*