राजनीतिलाई भाँगी खाने भाँडो बनाउँने विरुद्द मेरो व्यवसायिक कार्य
हेटौंडा ६, चौघडाका बालकृष्ण चौलागाईंले गरेको फूलखेतीको स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्ययमा खुबै चर्चा पायो । विगतमा राजनीतिमा लागेका चौलागाईं अहिले पनि नेकपा मकवानपुरको सचिवालय सदस्य हुन् । तत्कालीन माओवादीले सुरु गरेको जनयुद्दमा सामेल हुदै पार्टी निकट युवा संगठन वाइसिएल मकवानपुरको अध्यक्षको जिम्मेवारी पूरा गरेका, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत भएका चौलागाईंले अहिले गत वर्षभन्दा फूल खेतीलाई विस्तार गरेका छन् । अहिले ग्रीन हाउस समेत निर्माण गरेका छन् । तरकारी खेतीलाई समेत संगै लैजाने तयारी गरेका छन् । मकवानपुरमा एउटै मात्र फूलमाला स्टोरको व्यवस्था उनै चौलागाईंले गरेका छन् । राजनीति, सामाजिक अभियानमा लागिपरेका चौलागाईंलाई फूल खेतीमा व्यवसायिक रुपमा लाग्न कसरी सोच आयो ? अनि फूल खेतीमा अवसर तथा सम्भावना, बजार के कस्तो छ भनेर मध्यस्थता मिडियाको जिज्ञासामा चौलागाईंले आफ्नो फूल खेती अनुभव यसरी सुनाए ।
फूल खेती सुरुवात :
गाई भैसींलाई खुवाउँनका लागि घाँस मात्र पाइने ठाउँमा गत वर्ष फूल खेती गरें । जङ्गलको छे, बाँदरको समस्या । कुनै पनि अन्नबाली उब्जाउन नहुने ठाउँ भएकाले फूल खेती गर्न सकिने ठाउँ हो भन्ने मलाई लाग्यो । घाँस मात्र आउँने यो जग्गा किन बाँझो राख्ने ? सयपत्री फूल खेती गरौं भन्ने लाग्यो र सोही अनुसार फूल खेती गर्न लागिपर्यौं । पाँच-सात वर्ष खाली छाडेर घाँस काट्ने मात्र काम गरेको जग्गामा लगाइएको फूलबाट राम्रै आम्दानी गर्न सफल भइयो । सामान्यतया : दश हजार रुपिया पनि आम्दानी गर्न नसक्ने ठाउँमा मैले फूल रोपेपछि व्यवसायिक रुपमा अघि बढ्ने थप हौसला प्राप्त हुदै गयो । व्यवसायिक रुपमा फूल खेती गरेको भन्नेमा परिचय पनि बन्यो । गत वर्ष लगभग छ कठ्ठा क्षेत्रफलमा फूल लगाएको थियो । मैले उत्पादन गरेको फूल र जनप्रिय उच्च मावि हटियाले पनि उत्पादन गरेको ४-५ गठ्ठा क्षेत्रफलको फूल मैले बिक्री वितरण गरें । हामीले वर्षायाममा फूल रोपेका थियौं । अब हिउँदमा पनि फूल खेती गर्नुपर्छ भन्ने सिकाई हुँदैछ । आगामी मंशिरदेखि ३६५ दिन नै फूल निकाल्ने र माला बेच्ने व्यवस्था गर्दैछु ।
तरकारी खेती :
एकै ठाउँमा बारम्बार फूल रोपिरहँदा फूलले पाउँने जुन खनिज तत्व हुन्छ त्यो कमी हुँदो रहेछ । हरेक बाली लगाउँदा चक्रीय प्रणालीबाट जानुपर्दो रहेछ । मैले यही बुझेका कारण एक सिजनमा फूल लगाइयो भने अर्को सिजनमा तरकारी खेती गर्नु पर्दोरहेछ । अथवा, मकै अरु कुनै अन्नबाली लगाउँने र अर्को पटक चाँही फूल लगाउँदा त्यो ठाउँमा फूल राम्रो हुँदो रहेछ । एउटा साइकल किन्ने मान्छेले मोटरसाइकलको चाहाना राख्नु स्वभाविक हो । अब नयाँ प्रविधिसंगै अगाडी बढ्नुपर्छ भनेर फूलसंगै तरकारी खेती पनि गर्नुपर्छ भन्ने सोच पलायो । यसैले केही जमीन अलि पानी लाग्ने ठाउँमा पनि लिएको छु । आफ्नै जग्गामा ग्रीन हाउस बनाएको छु । राज्यले पनि केही अनुदान दिएको छ । फूल र तरकारी गरी दुवै खेतीलाई हाइटेक प्रविधिबाट जान खोजेको छु । पहिले मैले करेला, लौका, घिरौला लगाएर टेस्ट गरेको थिए । अहिले विशेष गरेर टनेलमा टमाटर लगाउँदै छु । विशेष गरेर यहाँ टमाटर धेरै महङ्गो पनि, बढी विक्री पनि हुने भएकाले टमाटर लगाउँदै त्यसको छेउछेउमा फूलहरु लगाउँदैछु । तरकारी लगाउँदा छेउछेउमा सयपत्री फूल लगाइयो भने तरकारीमा लाग्ने किरा फूलमा जाँदो रहेछ । फूलले तरकारीमा लाग्ने किरा आफूतिर आकर्षित गर्दो रहेछ र तरकारीमा किरा लाग्नबाट बचाउँदो रहेछ । टनेलमा सिजन, वेसिजनमा पनि उत्पादन गर्न सकिने भएकाले राम्रो हुन्छ नै । पानी नपर्दा पनि ट्याङ्कीमा राखेर थोपाथोपा पानी दिएर उब्जाउ गर्न सकिन्छ ।
राजनीतिबाट व्यवसायमा लाग्दा :
राजनीति भनेको पेशा पनि होइन, व्यवसाय पनि होइन । मेरो पेशा तथा व्यवसाय भनेको कृषि हो । राजनीति त्याग, समर्पण तथा बलिदान हो । राजनीतिलाई मागी खाने भाँडोका रुपमा प्रयोग गर्न खोजेका छन् । त्यसका विरुद्द पनि मेरो अभियान हो । वास्तवमा राजनीति भनेको सेवा हो । पहिले आफू बाँच्ने हो अनि समाजसेवा गर्ने हो । संयौ नेताको कुनै व्यवसाय छैन तर अकुत सम्पति कमाएका छन् । म आबद्द पार्टीमा पनि यही कुरा बोल्दै आएको थिए । भोलिका दिनमा पनि म यीनै कुराहरु बोल्नेछु । जो नेताले आफ्नो घर जमीन बेचेर राजनीति गरेको छ भने देखाउ । पार्टीले तलब दिएको छ भने त्यो पनि देखाउ । यदि छैन भने उ कसरी बाँचेको छ औला त्यहाँनेर ठड्याउँनुपर्छ । म बजार अथवा गाउँमा जाँदा मसंग युवाहरु धेरै हुन्छन् । मैले एक कप चिया खुवाउन सकिन भने ति जनताहरु मसंग किन आउँछन् ? अर्को कुरा मैले आफ्ना लागि आवश्यकता पूर्ति गर्न सकिन भने मैले जनता वा राज्यसंग अपेक्षा गरेर हुदैन । गणतन्त्र प्राप्ती पछि हामी समृद्दिका कुरा गर्छौ, चोकमा बसेर चिया गफमा समृद्दि आउँदैन । समृद्घिका निम्ति आफूले मेहनत गर्नुपर्छ । हामीले गरेका कामहरु उदाहरणीय हुनुपर्छ । जनताले हाम्रा कामलाई उदाहरणीय रुपमा लिनसक्नुपर्यो । त्यो लिनका लागि आफूले केही गरेर देखाउँनुपर्छ । त्यसैले मैले फूलखेती हुदै हाइटेक प्रविधिबाट तरकारी उत्पादन गरौं भनेर अगाडी बढेको छु ।
हाइटेक प्रविधि :
हामीहरु पूरानै पद्दतिमा उत्पादन गर्दै आइरहेका थियौं । अहिले समय धेरै अगाडी बढिसकेको छ । अहिले संसार एउटै चिप्समा अट्ने भएको छ । हामीले विश्वमा चलिआएका प्रविधीलाई पनि प्रयोग गर्नुपर्छ । उत्पादन बढीभन्दा बढी कसरी लिन सकिन्छ भन्नेमा पनि हामीले उत्तिक्कै ध्यान दिनुपर्छ । बेसिजनमा पनि कसरी तरकारी उत्पादन गर्न सकिन्छ भन्नेमा विचार गर्नुपर्छ । विदेशमा प्रविधी देखियो, हाम्रै नेपालमा पनि त्यस्ता प्रविधी भित्रियो । राज्य पनि के चाहान्छ भन्दा पकेट क्षेत्रका रुपमा विकास होस् धेरै भन्दा धेरै उत्पादन गरोस् । विषादी नभएका तरकारी उत्पादन होस् भन्ने राज्यको पनि चाहाना छ । हाइटेक प्रविधि किन भन्दा त हामीले कुलो लगाउँनुपथ्र्यो अथवा बाल्टीले लगेर पानी हाल्नुपथ्र्यो भने अहिले थोपा सिंचाईंका रुपमा प्रयोग गरिएको छ । विषाक्त किराहरुले तरकारीलाई आक्रमण नगरोस् भनेर जाली राखिएको छ । विरुवाहरुलाई माथिबाट घाम नछेकियोस् भनेर सेतो प्लाष्टिक राखिएको छ । यसले विरुवालाई फाइदा नै गर्छ । यसरी हेर्दा यी सबै चिजहरु हाइटेक प्रविधि हुन् । आज मैले दुई कठ्ठा जमीनमा ग्रनि हाउस बनाएँ । एउटा पक्की घर नै बनाउँन सकिने पन्ध्र-सोह्र लाख रुपिया लगानी गर्नु त जरुरी थिएन होला नि । तर मैले तरकारीका निम्ति यो लगानी गरें । हामीले तरकारीमा अहिले विष खाइरहेका छौं । विषलाई कसरी मुक्त गर्ने ? राज्यले पनि यही चाहिरहेको छ । राज्यले चाहेर मात्र भएन, हामीले पनि त्यो चाहना राख्नुपर्यो ।
बजार :
उत्पादन गर्न सकियो भने बजारको कुनै समस्या छैन । गत सालदेखि अहिलेसम्म आइपुग्दा व्यवसायिक रुपमा फूल उत्पादन गर्ने हामी केही मात्र थियौं । अहिले वर्षे फूल पनि उत्पादन भइरहेको छ । बजारमा मालाको भाग भएकाले वर्षे फूलमात्र निकालेर हुँदैन । बजारमा हिउँदे फूलको पनि माग छ । हिजोका दिनमा सेमीनार, गोष्ठी, खेलकुदका कार्यक्रम,सहकारीका कार्यक्रम भए । यी कार्यक्रमहरुमा खादा लगाउँने चलन थियो । वा ठूला ठूला ब्याचहरु लगाउँने चलन थियो । पहिले मालाको चलन थिएन, अहिले सबै हटेर मालाको चलन आएको छ । मकवानपुरमा अब व्यवसायिक रुपमा धेरै फूलखेती हुँदैछ । तराई क्षेत्रमा फूल सकिदा मकवानपुरका विभिन्न ठाउँ, अहिल पहाड जस्तो कि भीमफेदी, सुकौरा, बुढिचौर, दामन, फाखेल तिर फूल खेती गर्ने सेड्युल मिलाइएको छ । मैले ५५- ६० कठ्ठा जति जग्गा मैले भाडामा लिएको छु । यसमा तरकारी तथा फूल पालैपाले खेती गर्ने हो अब । यसबाट अरुलाई पनि रोजगारीको अवसर सिर्जना भएको छ । हिजोका दिनमा फूल टिप्ने बित्तिक्कै बजार लैजानुपथ्र्यो भने अब फूल स्टक राख्न सक्छौं । अहिले मकवानपुरमा फूलको स्टोरेज गर्ने ठाउँ पनि बनेको छ । काठमाडौंबाट अहिले पनि मालाको माग भइरहेको छ तर दिन सकिएको छैन । हेटौंडा बजारमै पर्याप्त माग छ । उत्पादन कम भएकाले पर्याप्त मात्रामा दिन सकिएको छैन । हामीले किसानसंग उत्पादन गर्नहोस् भनेर भनिपनि राख्या छौं । उहाँहरुलाई अरु तरकारी जस्तै फूलको पनि माग भएकाले उत्पादन गर्न भनेका छौं । फूलको माग भएकाले हाम्रो उत्पादनले नपुगेर जनकपुरदेखि मगाएर पनि माला बिक्री गरेको छु । विष नहाली उत्पादन गरिएको तरकारी बारीबाटै उठाउछौं भन्ने आश्वासन पाइएको छ । मैले अहिले दुई कठ्ठा क्षेत्रमा ग्रीन हाउस जुन तयार गरें । यहाँ दिनमा पाँच–सात क्रेट टमाटर निस्कन्छ । टमाटर त स्थानीय बिक्रीमै जान्छ । मैले यो बिचमा सिकेको कुरा के हो भने राम्रो चिज दिन सकियो भने बजार खोजेर हिड्नु पर्दैन रहेछ, बजार चाँही खोज्दै आउँदो रहेछ । म धेरैभन्दा धेरै उत्पादन कसरी गर्ने भन्नेमा चिन्तित छु । बजारका विषयमा चिन्तित छैन । अहिले मेरो एक विगाहमा वर्षाका बेलामा फूल उत्पादन हुन्छ । एक विगाहमा हिउँद तथा वर्षायाममा त्यतिको उत्पादन गर्न सम्भव छैन । हिउँदमा चाँही धेरै मेहनत गर्नुपर्छ । बजारमा सयपत्री फूल उत्पादन छेन, शहरमा रहनेले गाउँबाटै किन्ने हुन् । फलानाकोमा फूल उत्पादन हुन्छ भन्ने भएपछि बारीमा जाउँ, फूल हेरौं बारीबाटै ल्याउँ भन्नेहरु छन् । बारीको सबै फूल मै किन्छु भनेर आउँने व्यवसायी पनि छन् । मेरो फूल खेती एक दिनलाई नभएकाले मैले त्यसरी बेचिँन । बाहिर व्यापारीलाई पनि मैले दिइँन । जसलाई चाहिने हो, मैले उसैलाई मात्र दिएँ ।
मकवानपुरमा पर्याप्त फूल :
मेरो सोच भनेको मकवानपुरलाई पर्याप्त फूल उपलब्ध गराउँने हो । त्यसपछि नजिकका शहरहरु जस्तो वीरगञ्ज, नारायणगढका विषयमा सोच्ने हो । प्रदेश ३ मा भारतबाट फूल आउँनु हुदैन भन्ने पनि लक्ष्य छ । अहिले लाखौं रुपियाको फूल नेपाल भित्रिरहेको छ । त्यसलाई रोक्ने हाम्रो लक्ष्य रहेको छ । म एउटैले यसलाई रोक्न सक्ने होइन । तीन प्रदेशबाट अहिले फूल खेतीका लागि प्रोत्साहन गरिएको छ ।
आम्दानी तथा अवसर :
घाँस मात्र काटेको, मकै, कोदो केही लगाउँन नसकेकोमा गत वर्ष छ-सात कठ्ठा जमीनमा गरेको फूल खेतीबाट मैले डेढ दुई लाख रुपिया मैले कमाएँ । सयपत्री फूल भनेको तिहारका दिनमा मात्र चाहिने भन्ने होइन रहेछ । असोजभरी भएका सहकारीका कार्यक्रममा फूलमाला बेचियो । दशैंमा नवरात्रीभरि मानिसले मन्दिरमा चढाउँन फूल माला किने । तिहारमा भइहाल्यो । तिहार भन्दा पछि पनि राज्यबाट हुने वा स्थानीय तहबाट हुने, व्यक्तिगत अथवा संस्थागत रुपमा हुने सेमीनार, गोष्ठी, सभा, समारोहमा निरन्तर माला चाहिने भएकाले मैले बेचिरहँन पाएँ । आज विदेशमा गएर पचास-साठी हजार रुपिया कमाउँनका निम्ति कति सकस छ । बाहिर गरिएको जति मेहनत आफ्नै घरपरिवार, आफ्नै माटोमा गर्ने हो भने बाहिर कमाइएको जति यही कमाउँन सकिन्छ । काम गर्ने हो भने राज्यले पनि अनुदान दिन्छ । राज्यलाई देखाउँनका लागि पनि मेहनत गर्नुपर्छ । हेटौंडालाई फूलै फूलको शहर बनाउँन हेटौंडा उपमहानगरपालिका अहिले लागिपरेको छ । हेटौंडा उपमहानगरले फूल खेती गर्ने किसानलाई प्रोत्साहनको कार्यक्रम ल्याएको छ । प्रदेशले पनि फूल खेती गर्नेलाई अनुदान दिएको छ । चितवन ज्ञान केन्द्र अन्तर्गत धेरै पुष्प व्यवसायीलाई अनुदान दिइएको छ । पहिले अनुदान आओस् अनि काम गर्छु भनेर बस्ने होइन । पावरमा हुनेले अनुदान पाउँछ भन्ने कुरा पनि सुनिन्छ, त्यस्तो कुरा कदापी हुदैन । राज्यसंग अनुदान लिएपछि पनि राम्रोसंग काम गर्नुपर्छ । व्यवसायिक रुपमा अघि बढ्नका लागि फूल खेतीमा राम्रो अवसर तथा सम्भावना छन् ।