बकैयाको हात्तिसुढेमा कृषि उपज संकलन केन्द्र निर्माण
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नं. ३ हात्तिसुढेमा कृषि उपज तरकारी सङ्कलन केन्द्र निर्माण गरिएको छ । गाउँपालिकाको शिखरपुर, हात्तिसुढे, बसन लगायत क्षेत्रका कृषि उपज सङ्कलन गरी बिक्री वितरणका लागि केन्द्रको भवन निर्माण गरिएको हो।
केन्दमा एउटा कोल्ड स्टोर, एक हल र अर्को डिजिटल लाइब्रेरी सञ्चालन गर्ने तयारी छ । मर्सिकोर नेपालसंगको सहकार्यमा बाल कल्याण समाज मकवानपुरले सञ्चालन गरिरहेको सर्भ परियोजना, बकैया गाउँपालिका र स्थानीय जनश्रमदानबाट कृषि उपज सङ्कलन केन्द्र भवन निर्माण गरिएको हो । भवन निर्माणका लागि परियोजनाबाट १५ लाख, बकैया गाउँपालिकाबाट ८ लाख र जनश्रमबाट ५ लाख गरी कुल २८ लाख लागत लागेको छ । नव निर्मित केन्द्र भवनको केही दिनमा उद्घाटनको तयारी पनि गरिएको छ ।
स्थानीय कृषकले उत्पादन गरेका तरकारी स्थानीय रुपमा सङ्कलन गर्ने, विक्री वितरण गर्ने थलोका रुपमा कृषि उपज संकलन केन्द्र निर्माणका लागि आवश्यक आर्थिक सहयोग गरिएको मर्सिकोर नेपालका बरिष्ठ परियोजना अधिकृत हेमराज भट्टले जानकारी दिए । ‘ परियोजनामार्फत विभिन्न कृषक समूहका सदस्यलाई कृषिसंग सम्बन्धित तालिमहरु प्रदान गरियो, तालिमबाट प्राप्त ज्ञानका आधारमा गाउँमा उत्पादन पनि बढ्न थाल्यो ।’ भट्टले भने,‘कृषकले उत्पादन गरेका तरकारी संकलन गरेर बिक्री गर्ने थलोका रुपमा कृषि उपज संकलन केन्द्र अघि बढ्नेछ ।’
गाउँमा कृषि उपज संकलन केन्द्र निर्माण भएपछि स्थानीय कृषकलाई आफ्ना उत्पादन बजारसम्म पुर्याउँनका लागि सहज हुने वडा अध्यक्ष दिलबहादुर बम्जनले बताए । ‘ गाउँपालिका तथा संस्थाको सहयोगमा निर्माण गरिएको संकलन केन्द्र कृषकका लागि गहना हो ।’ अध्यक्ष बम्जनले भने,‘गाउँगाउँका कृषिजन्य उत्पादन संकलन र बिक्री गर्ने थलोका रुपमा संकलन केन्द्रको विकास गनुपर्छ ।
संकलन केन्द्रका व्यवस्थित संचालनका लागि स्थानीय अगुवा कृषक श्यामकृष्ण महर्जनको अध्यक्षतामा कृषि उपज संकलन केन्द्र संचालन समिति समेत गठन भएको छ । समितिमा गोमा बजगाई उपाध्यक्ष, नारायणप्रसाद घिमीरे कोषाध्यक्ष, सूर्य नेगी सचिव, पुष्पराज गौतम सहसचिव रहेका छन् ।