बालकल्याण समाज-मर्सिकोर नेपालको सर्भ परियोजना :

कृषि उपज संकलन केन्द्र व्यवस्थापनका लागि तालिम

लोकखबर
११ भाद्र २०७६, बुधबार १८:०१

मकवानपुर । मकवानपुरको बकैया ३, हात्तिसुढेमा कृषि उपज संकलन केन्द्र व्यवस्थापन सम्बन्धि तालिम सुरु भएको छ ।
बाल कल्याण समाज मकवानपुरले मर्सिकोर नेपालको सहयोगमा संचालन गरिरहेको सर्भ परियोजना अन्तर्गत तालिम सुरु भएको हो । तीन दिनसम्म संचालन हुने तालिममा हात्तिसुढेस्थित कृषि उपज संकलन केन्द्र संचालक समिति, बकैयास्थित विभिन्न ६ वटा कृषक समूहमा आबद्द सदस्यको सहभागिता छ ।

तालिममा भीमप्रसाद दहालले सहजीकरण गरिरहनुभएको छ । सर्भ परियोजना, बकैया गाउँपालिका र जनश्रमबाट हात्तिसुढेमा निर्मित कृषि उपज संकलन केन्द्र संचालन तथा व्यवस्थापनका लागि सघाउ पुगोस् भन्ने उदेश्यले तालिम संचालन गरिएको मर्सिकोर नेपालका बरिष्ठ परियोजना अधिकृत हेमराज भट्टले जानकारी दिए ।

बकैया गाउँपालिकामा संचालन भइरहेको परियोजनामार्फत कृषक समूहमा आबद्द कृषकलाई आवश्यक विभिन्न तालिम संचालन गरिएको र उनीहरुले उत्पादन गरेको कृषि उपज बजारमा बिक्री वितरणको व्यवस्थापनका लागि तालिम प्रभावकारी हुने बाल कल्याण समाजका कार्यक्रम संयोजक रामप्रसाद दहालले जानकारी दिए ।
विभिन्न तालिमको प्रभावका कारण तरकारी खेतीमा लागिपरेका कृषकको उत्पादन बजारसम्म लैजानका लागि सहयोगी माध्यम बन्ने कृषि उपज संकलन केन्द्रलाई व्यवस्थापन गर्दै प्रभावकारी रुपमा संचालन गर्न सके स्थानीय कृषक प्रत्यक्ष लाभान्वित हुनसक्ने अपेक्षा सहित तालिम आयोजना गरिएको दहालको भनाई छ ।

परियोजनामार्फत गाउँपालिकाको हात्तिसुढेमा रहेको मिश्रित बकैया ठाकुर कृषक समूह, बसनमा रहेको समझदारी कृषक समूह, पिप्ले बाममारामा रहेको उन्नत खाद्यन्न कृषि तथा पशुपालन समूह, तीनतलेमा रहेको प्रगति खाद्यान्न कृषक समूह, शिखरपुरको शिरशिरेमा रहेको उज्ज्वल महिला कृषक समूह, कुडुलेमा रहेको कुडुले कृषक समूहमा आबद्द कृषकलाई यसअघि नै बेमौसमी तरकारी खेती सम्बन्धि तालिम, उत्पादन, बजारीकरण तथा अभिलेख सम्बन्धि तालिम, व्यवसायिक शिप सम्बन्धि तालिम लगायत विभिन्न तालिम प्रदान गरिएको थियो । तालिमका साथै कृषक समूहमा आबद्द कृषकलाई व्यवसायिक सुरुवातका लागि विभिन्न सामग्री परियोजनामार्फत सहयोग गरिएको थियो ।
सर्भ परियोजनामार्फत कृषक समूहलाई आवश्यक तालिम तथा व्यवसायिक सुरुवात सहयोगका साथै बकैयाको छतिवन, धियाल, शिखरपुर, ठिंगन र मन्थलीका विभिन्न पाँच वटा सहकारी व्यवस्थापनका लागि आवश्यक सामग्री सहयोग, लेखा व्यवस्थापनमा सहयोग, सहकारीमार्फत गाउँगाउँमा वित्तिय साक्षरता कक्षा संचालन, भूकम्पको जोखिमवर्ग सूचीमा रहेका लाभग्राहीलाई घर निर्माणका लागि आर्थिक तथा प्राविधिक सहयोग, विपद् व्यवस्थापनका लागि तटबन्ध लगायत कार्य गरिएको बाल कल्याण समाज मकवानपुरका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाले जानकारी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*