नेपालको दुग्ध क्षेत्रमा केन्द्रीय दुग्ध सहकारी संघको भूमिका
पृष्ठभूमि :
नेपाल कृषि प्रधान मूलुक हो । यहाँका अधिकांश कृषकहरु खेतीपातीमा सहजता एवं पशु उत्पादनको उपलब्धताका लागि पशुपालन गर्छन । हरेक कृषकका घरमा गाई, भैंसी लगायत दूध दिने पशुवस्तु पालिएको छ । उनीहरुले उत्पादन गर्ने दूधमध्ये उपभोग गरी बाँकी रहेको दूधलाई उनीहरुद्धारा नै संगठित दुग्ध उत्पादक सहकारी संस्थाको संकलन केन्द्रमा बेच्ने गर्छन जसबाट आर्थिक सहयोग पुगिरहेको छ । कतिपय किसानहरुले त व्यवसायिक रुपमै पशुपालन गरी दुध उत्पादन एवं बेचबिखन गरी राम्रै आम्दानी समेत गरिरहेका छन् ।
त्यस्तै दुग्ध उत्पादक सहकारी संस्थाले आफ्ना संकलन केन्द्र मार्फत संकलित दूधलाई चिस्यान गरी उद्योगहरुलाई विक्रि वितरण गरिरहेका छन्। यसका अलवा केही सहकारी संस्थाहरुले दूग्ध पदार्थ विविधिकरण गरी विभिन्न उत्पादनहरु समेत बजारमा पुर्याइरहेका छन् । सहकारी संस्थाले आफ्नो कारोबारबाट आर्जित नाफालाई दुग्ध उत्पादक सदस्य किसानहरुलाई वितरण गर्ने गरेका छन् ।
त्यस्तै जिल्ला तहमा दुग्ध उत्पादक सहकारी संस्थाहरु आफ्नो हित संरक्षणका लागि संगठित भई जिल्ला दुग्ध उत्पादक सहकारी संघको गठन गरी आफ्ना हक अधिकारका लागि आवाज उठाउने र सदस्य संस्थाहरुको सुदृढिकरण एवं सक्षमता अभिवृद्धिका लागि विभिन्न निकायको सहकार्यमा प्राविधिक, शैक्षिक/प्राज्ञिक, व्यवसायिक तालिम एवं भौतिक उपकरणहरुको उपलब्धतामा सहयोग जस्ता कार्यमा समन्वय गर्ने गरिरहेका छन् । केही जिल्ला संघहरुले उदाहरणीय रुपमै दूध संकलन र बिक्रिमा एकद्धार नीति एवं उद्योग संचालन जस्ता कार्य गरी दुग्ध व्यवसायलाई जिल्लामा संस्थागत रुपमै विकास गरिरहेको समेत पाइन्छ ।
केन्द्रीय तहमा प्रारम्भिक दुग्ध उत्पादक सहकारी संस्था र जिल्ला दुग्ध उत्पादक सहकारी संघहरुको छाता संगठनको रुपमा केन्द्रीय दुग्ध सहकारी संघले आफ्ना सदस्य संघ/संस्था एवं दुग्ध उत्पादक किसानहरुको हित प्रर्बद्दन एवं अधिकार प्राप्तिमा संघर्ष गर्नुका साथै राज्यका आधिकारिक निकायमा किसानका मुद्धा उठाई सोको सम्बोधन गर्न दबाब दिने कार्य समेत गर्दै आएको छ । यसका अलावा जिल्ला संघहरुको समन्वय एवं विभिन्न निकायहरुको सहकार्यमा विभिन्न किसिमका तालिम कार्यक्रम एवं यन्त्र, उपकरणहरुको वितरण समेत गर्दै आएको छ ।
१.संस्थागत अवस्था :
हाल देशभर ६४ जिल्लामा १८५५ दुग्ध उत्पादक सहकारी संस्थाहरु छन् भने ३५ जिल्लामा जिल्ला दुग्ध उत्पादक सहकारी संघहरु रहेका छन्। सहकारी मार्फत दुग्ध ब्यवसायमा संलग्न परिवार संख्या ५ लाख बढी छ भने दैनिक रुपमा सरदर ७ लाख लिटर कच्चा दुग्ध संकलन गरी पशुपालन क्षेत्र तर्फ दुग्ध क्षेत्रको अग्रणीे हिस्सा रहेको छ । हाल दुग्ध क्षेत्रले ३० हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ ।
२. कार्यक्रमहरु :
हालसम्म यस संघले विभिन्न सरोकारवाला निकायहरुको सहयोग र समन्वयमा बैकल्पिक उर्जा÷बायोग्यास प्रबद्र्धन कार्यक्रम,सहकारी व्यवसाय प्रबद्र्धन एवं विकास कार्यक्रम,सहकारीमा मानव संशाधन विकास कार्यक्रम,जिल्ला तहमा बजार अध्ययन,राष्ट्रिय तथ्याङ्ग संकलन परियोजना,सदस्य सहकारीको अनुगमन तथा मूल्लयाङ्कन, ,गोठ सुधार तालिम,किसानहरुलाई घाँसका विउ वितरण कार्यक्रम,मिल्क एनालाइजर तालिम, असल दुग्ध उत्पादन अभ्यास तालिम तथा लेखा व्यवस्थापन तालिमहरुको सफल कार्यान्वयन गरीसकेको छ । यस्ता कार्यक्रमहरुमा संघले सीमान्तकृत र पिछडिएका वर्ग, जाति एवं समुदायको प्रतिनिधित्वलाई विशेष ध्यान दिएको छ भने संघ सदैव लैङ्गीक तथा युवा सहभागिता एवं समानताका पक्षमा रहेको छ ।
३.सहकार्य :
संघद्धारा संचालित कार्यक्रम तथा परियोजनामा सहकार्य गर्ने निकायहरुमा क्यानेडियन कोअपरेटिभ एसोसियसन,सेसी युनिटेरा, नेपाल सरकारका विभिन्न निकायहरु (राष्ट्रिय दुग्ध विकास बोर्ड, राष्ट्रिय सहकारी विकास बोर्ड, सहकारी विभाग), उइनरक् इन्टरनेशनल, बैकल्पिक उर्जा प्रर्बद्दन केन्द्र तथा बायोग्यास सर्पाेट प्रोजेक्ट नेपाल रहेका छन् । संघले आफ्ना कार्यक्रमहरुमा लागत सहभागिताका आधारमा विभिन्न निकायहरुसँग सहकार्य र समन्वय गर्ने गरेको छ ।
४. समस्या र चुनौती :
संघको स्थायी आय स्रोत नहुनु यस संघको मुख्य समस्या हो भने यसका बाबजुत सदस्य संघ/संस्थाबाट असीमित कार्यक्रम तथा सहयोगको माग हुनु संघको प्रमुख चुनौती हो । आफ्ना सदस्य संघ/संस्था र मातहतका दुग्ध उत्पादक किसानहरुका हक हितका लागि संघर्षरत यस संघले हाल भोगिरहेका दुग्ध क्षेत्रका समस्या र चुनौतीहरुमा स्वदेशी उत्पादनले बिदेशबाट आयत हुने दूध तथा दुग्ध पदार्थसंग प्रतिस्पर्धा गर्न नसक्नु, पशुबिमाको सुनिश्चितता नहुँदा पशुपालन ब्यवसाय जोखिममा रहनु, बिकासको पूर्वाधार नभएको स्थानमा पशुपालन गरिनु, आयत नीति फितलो हुनु, पशु आयत गर्न प्राबिधिक कठिनाइ हुनु, दूध नीतिको कार्यबिधि लागु नगरिनु, पशु आयत निर्यातको स्पष्ट नीति नहुनु, ब्यवसायिक पशुपालनको मापदण्ड तयार नहुनु, पशुपालन तथा दुग्ध ब्यवसाय प्राथमिकतामा नपर्नु, पशु श्रोतकेन्द्र प्रबद्र्धनको स्पष्ट नीतिको अभाव हुनु, बिदेशबाट दूध तथा दुग्धजन्य पदार्थ आयात भइरहनु, निकट भबिश्यमा सस्तोमा दुग्धजन्य पदार्थ आयात हुन सक्ने संभावना हुनु, परम्परागत पशु पालनमा निर्भर रहनु, सहकारी संस्थाले उद्योग संचालन गर्न सक्ने कि नसक्ने भन्ने अस्पष्टता रहनु, सरकारी नीति नियम एक आपसमा बाझिने खालका हुनु, कृषि क्षेत्रलाई प्राथमिकता दिने नीति कार्यन्वयन नहुनु, राज्यले पशुपालनमा युवापक्तिलाई आकर्षित गर्ने कार्यक्रमको प्रभावकारीता न्यून रहनु, जग्गा जमिन खण्डिकरण हुनु, सरोकारवाला निकायको प्रभावकारी समन्वय नहुनु र सबैभन्दा महत्वपूर्ण त पशुपालन क्षेत्रका योजना तथा कार्यक्रमहरु निर्माण गर्न आधिकारिक तथ्यांक नहुनु नै हुन् ।
५. समाधानका उपाय :
समस्या आफैमा समाधानको जननी हो भनेझैं यी र यस्ता समस्याहरु आफैमा असमाधानीय भने होइनन् । यी समस्या समाधानका लागि पशुपालन तथा दुग्ध क्षेत्रमा राज्यले प्रणालीगत स्पष्ट नीति तय गर्नु, पशुपालनको लागि पकेट क्षेत्र निर्धारण गरिनु, दूध अभिबृद्धि तथा गुणस्तर सुधार सम्बन्धी कार्यक्रम दुग्ध सहकारी संस्थाको साझेदारीमा संचालन गरिनु, स्थानिय स्तरमा पाइने कच्चा पदार्थ प्रयोग गरी दाना तथा आहार ब्यवस्थापन गर्ने संस्था तथा ब्यक्तिलाई अनुदान उपलब्ध गराउनु, हाल बजारमा उपलब्ध दाना तथा आहारको गुाणस्तर परिक्षणको ब्यवस्था गरिनु, घाँसखेतीलाई ब्यापक बनाउन सरकारी वा निजी बाझो जमीनमा किसानले घाँस खेती गर्ने नीति ल्याउनु, किसानले उत्पादन गरेको कच्चा दूधको बजार सरकारले सुनिश्चित गर्नु, किसानलाई पूंजी र प्रबिधिको बिस्तार गरी ब्यवसायीक पशुपालन गराउनु, सहकारी साझेदारीमा पशु श्रोतकेन्द्रको स्थापना गर्नु, नश्ल सुधारको कार्यक्रम सहकारी मार्फत संचालन गरिनु, बित्तीय निकायले अनिबार्य रुपमा पशुपालन क्षेत्रमा सुलभ ब्याजदरमा पशुधनलाई धितो मानि कर्जा लगानी गर्ने ब्यवस्था गरिनु, ग्रामिण क्षेत्रमा बिमा कार्यक्रमको पहुँच बिस्तार गर्न दुग्ध सहकारी संस्थाले बिमा गर्न पाउने नीतिगत ब्यवस्था हुनु, किसानहरुलाई पूंजि र प्रबिधिको पहुँच बिस्तारको लागि एकिकृत प्याकेज निर्धारण तयार हुनु, कम्तिमा एक गा.वि.स.एक दुग्ध सहकारी,एक भेटेनरी डाक्टर र एक डेरी प्राबिधिकको ब्यवस्था गरिनु, युवाशक्तिलाई पशुपालन क्षेत्रमा आकर्षणको लागि आधुनिकीकरण र यान्त्रीकरणको लागि प्रोत्साहन गरिनु, देशभर पशुपालन, दूध उत्पादन, खपत आयत निर्यात जस्ता बिषयमा तथ्यांक अध्यावधिक गर्न राज्यले सम्बन्धित निकायलाई आर्थिक सहयोग गर्नु, हाल संचालनमा रहेका दूध उद्योगहरुलाई पूर्ण क्षमताका संचालन गरिनु, बन्द भएका उद्योगहरु संचालन गरिनु, कच्चा दूध तथा दुग्ध पदार्थ आयात निरुत्साहित गर्न संभाव्य अधिकतम करको दर बढाइनु, आयत गर्दा गुणस्तरको मापदण्ड लगायतको कानून प्रकृया पुरा गर्ने ब्यवस्था गर्नु, सहकारी,सरकारी तथा निजि क्षेत्रको सहभागितामा डेरी उद्योग खोल्ने नीति लागु गर्नु आजको आवश्यकता रहेको छ ।
६. संघको भूमिका
हाल यस संघले विभिन्न कार्यक्रम तथा गतिविधिहरु मार्फत सदस्य संघ/संस्था सुदृढीकरण एवं दुग्ध उत्पादक किसानहरुमा आफ्नो सेवा दिइरहेको छ । संघको वर्तमान भूमिकालाई स्वच्छ दुग्ध उत्पादन सम्बन्धि सहकारी संस्थाहरुमा तालिम संचालन,किसानको गोठलाई व्यवस्थित बनाउन साझेदारी अभियान संचालन,संतुलित आहार व्यवस्थापन सम्बन्धि किसानमा जनचेतनामुलक कार्यक्रम,कम लागतमा गुणस्तरिय दुग्ध उत्पादन सम्बन्धि कार्यक्रमलाई प्राथमिकता,पशु स्वाथ्य शिविर कार्यक्रम संचालन,सहकारी संस्था मार्फत भ्याक्सिन कार्यक्रम संचालन,गुणस्तर सम्बन्धि दुग्ध परिक्षण कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाउने, प्लाष्टिक भाँडा किसानदेखि सहकारीसम्म पुर्ण रुपमा हटाउन सचेतनात्मक कार्यक्रम, सहकारी संस्थादेखि चिलिङ सेन्टरसम्म गुणस्तरिय दुग्ध पुर्याउन संस्थाका कर्मचारीहरुमा तालिम कार्यक्रम संचालन, चिलिङ सेन्टर व्यवस्थापन कार्यलाई प्रभावकारीता, दुग्धको गुणस्तर परिक्षण गर्ने मेसिन(मिल्क अनालाईजर) को प्रभावकारितालाई विश्वासनियता, मिल्क अनालाईजर सम्बन्धि तालिमको व्यवस्था तथा आवश्यकता अनुसार चिलिङ सेन्टरको व्यवस्थाका रुपमा व्याख्या गर्न सकिन्छ । संघले आफ्ना वर्तमान तथा भावी कार्यक्रममा यी र यस्ता कार्यक्रमहरुको व्यवस्था गरेको छ र आफ्ना सदस्य संघ/संस्थाहरुका माग बमोजिम थप नयाँ तथा संघको व्यवसाय प्रर्बद्धन गर्ने प्रकृतिका कार्यहरु गर्दै जानेछ ।
“गरिबी न्युनिकरणका लागि आय आर्जन आजको समस्या
समृद्दिका लागि दुग्ध उत्पादक सहकारी आश्यकता”
लेखक,देवकोटा केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष हुन् ।