मुख्यमन्त्री पौडेल गैससको कार्यक्रममा नगएको दाबी
मकवानपुर । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल केही समयदेखि गैरसरकारी संस्थाका उद्घाटन, शिलान्यासलगायतका कार्यक्रममा जान छाडेको खबर आजको कान्तिपुर दैनिकले छापेको छ । प्रदेश सरकारका कार्यक्रमलाई महत्त्व दिने गरेको उनले दाबी गरे । ‘सुरुरसुरुमा सामान्य कार्यक्रमहरूमा पनि गइयो,’ मुख्यमन्त्री पौडेलले भने, ‘अहिले समयको चापले महत्त्वपूर्ण कार्यक्रममा मात्रै जाने गरेको छु ।’ मुख्यमन्त्री पौडेल स्थानीय तहका जनप्रतिनिधिसँग अन्तरक्रिया गर्छन् । ‘सुरु-सुरुमा एक दिनमा ७ देखि १० वटा कार्यक्रमसम्म भ्याएँ, अहिले त्यस्तो छैन,’ उनले भने । संघीय राजधानी पनि प्रदेशभित्र परेकाले कम्तीमा सातामा एकपटक काठमाडौं पुग्ने गरेका छन् । ‘काठमाडौंमा कार्यक्रम परिरहन्छ, जानै पर्यो,’ उनले भने ।
मुख्यमन्त्री पौडेल शनिबार अर्थात् भदौ २८ गते चितवनको भरतपुरमा थिए । त्यहाँ उनले सप्तगण्डकी क्याम्पसको रेडियो र पुस्तकालय उद्घाटन गरे । आइतबार मकवानपुरस्थित मनहरी गाउँपालिकाका किसानको माछा पोखरी, कृषि फार्म अवलोकन गरे । सोमबार काठमाडौंमा चलचित्र विकास बोर्डसँग दोलखाको फिल्मी सिटीबारे छलफल गरे । मंगलबार भक्तपुर क्यान्सर अस्पतालको सञ्चालक संस्था नेपाल क्यान्सर रिलिफ सोसाइटीको कार्यक्रम सहभागी भए । त्यही दिन प्रधानमन्त्रीलाई भेटे । बुधबार हेटौंडा फर्केका उनी बिहीबार संविधान दिवसको तयारीका विषयमा उपसमितिहरूको संयुक्त बैठक राखे । शुक्रबार संविधान दिवसको कार्यक्रममा सहभागी भए । उनी मञ्चमा मुख्य अतिथि र सभापति मात्र बस्ने व्यवस्था गराउँछन् । विदेशबाट आयात गरेको फूलको माला लगाउने गर्दैनन् । मुलुकभित्रै तयार कपडाको खादा लगाउँछन् ।