हेटौंडालाई स्थायी राजधानी कायम गर्ने नेकपा निर्णयको स्वागत

नेकपा, मुख्यमन्त्री डोरमणि पौडेल र कमल थापालाई जस
लोकखबर
१३ पुष २०७६, आईतवार १९:३३

मकवानपुर । मकवानपुरको हेटौंडालाईं प्रदेश ३ को स्थायी राजधानी कायम गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकबाट निर्णय गरिएपछि विभिन्न क्षेत्रबाट नेकपाको यो निर्णयको स्वागत गरिएको छ ।

आज आइतबार बिहान बसेको नेकपा सचिवालय बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको थियो । प्रदेशको नाम र राजधानीमा नेकपाकै सांसदहरूबीच कुरा नमिल्दा विगत दुई वर्षदेखि निर्णय हुन सकिरहेको थिएन । दुई तिहाई बहुमत रहेको नेकपाले अब प्रदेश ३ को ३ को नाम तथा राजधानीलाई औपचारिक रुपमा टुंगाउने भएको छ । प्रदेशसभाका सदस्यका बिच नाम तथा राजधानीका विषयमा आपसमा कुरा नमिल्दा प्रदेशसभाबाट राजधानी तथा नामको विषयमा निर्णय लिन सकिएको थिएन । नेकपा सचिवालयको बैठकले निर्णय गरेपछि प्रदेशसभाका सांसदलाई पनि अब आफ्नो मत जाहेर गर्न सजिलो भएको छ ।

प्रदेश ३ का प्रमुख प्रतिपक्षी दलको नेता इन्द्रबहादुर बानियाले नेकपाको निर्णयलाई स्वागत गरेका छन् । उनले अब प्रदेशसभाले छिट्टै यो विषय टुंगाउनुपर्ने समेत धारणा राखेका छन् । मकवानपुरको हेटौंडालाई नै प्रदेशको स्थायी राजधानी कायम गर्नपर्छ भनेर सुरुदेखि नै आवाज उठाउँदै आएका नेता बानियाले प्रदेशसभामा प्रदेश राजधानी हेटौंडा तथा नाम बागमती राख्ने नेकपाको निर्णयलाई आफूले पनि समर्थन गर्ने बताए ।

आज हेटौंडा उपमहानगरपालिकाको बैठकबाट पनि नेकपा सचिवालय निर्णयको स्वागत गरिएको छ । मकवानपुरको हेटौंडालाई प्रदेश ३ को स्थायी राजधानी बनाउँने र नाम बागमती राख्ने निर्णयको स्वागत गर्दै प्रदेश राजधानीमा आवश्यक विकासका लागि आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने बताएको छ ।

पार्टीको निर्णय आम मकवानपुरबासीलाई खुशीको खबर भएको भन्दै नेकपा मकवानपुरका अध्यक्ष एवम् प्रदेशसभा सांसद मुनु सिग्देलले अब यसलाई प्रदेशसभाको बैठकबाट टुंगो लगाउँन आफूहरु तयार रहेको बताइन् । उनका अनुसार यही पुषभित्र प्रदेशसभाले पार्टी सचिवालयले निर्णय गरेबमोजिम नाम तथा राजधानीका विषयमा टुंगो लागिसक्नेछ । मकवानपुरको समृद्दिका लागि नेकपाले गरेको निर्णय महत्वपूर्ण हुने भन्दै यसमा प्रदेशसभाका सबै सदस्य एकढिक्का भएर लाग्ने बताइन् । प्रदेशका मकवानपुर बाहेकका जिल्लाक केही सांसदले नेकपाको आजको निर्णय नमान्ने बताइरहेका छन् नि भन्ने लोकखबरको जिज्ञासामा उनले भनिन्, ‘ प्रदेश सांसद पार्टीबाटै विजयी भएर आएका सिपाही भएकाले पार्टीको निर्देशन मान्नुपर्छ । ’ पार्टीले निर्देशन दिए बमोजिम प्रदेशसभाका सबै नेकपा सांसदले मत हाल्ने उनले बताइन् । कुन जिल्लामा राजधानी कायम गर्ने तथा नाम के राख्ने भन्ने विषयमा सबै सांसदको पार्टी केन्द्रबाटै निर्णय होस् भन्ने चाहाना रहेको खुलासा गर्दै नेतृ सिग्देलले अब सांसदहरुलाई सजिलो भएको बताइन् ।

नेकपाले हेटौंडालाई स्थायी राजधानी कायम गर्ने निर्णय गरिरहँदा अस्थायी राजधानी तोक्ने राप्रपा अध्यक्ष कमल थापाले पनि जस पाएका छन् । २०७४ साल माघ ३ गते शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला उपप्रधानमन्त्री रहेका कमल थापाको दबाबमा हेटौंडालाई प्रदेश ३ को अस्थायी मुकाम तोकेर कार्य अघि बढाउने मन्त्रिपरिषदले निर्णय गरेको थियो । प्रदेश ३ को राजधानी भक्तपुर कि ललितपुर भन्ने बहस ताती रहेको बेला उपप्रधानमन्त्री रहेका मकवानपुरे नेता थापाको विशेष भूमिकामा कांग्रेसले समर्थन गरेको थियो ।

प्रदेशसभा गठन भएको दुई वर्ष बितिसक्दा पनि नाम तथा राजधानीका विषयमा निर्णय गर्न असक्षम रहेको भनेर मुख्यमन्त्री डोरमणि पौडेलको आलोचना हुन थालेपछि केही समय यता मुख्यमन्त्री पौडेल पनि निकै दबाबमा रहेका थिए । विभिन्न सार्वजनिक समारोहमा प्रदेशको स्थायी राजधानी हेटौंडा नै कायम हुन्छ भन्ने बोल्दै हिडेको तर प्रदेश सभाबाट निर्णय गराउँन नसकेको आरोप मुख्यमन्त्री पौडेलमाथि लाग्दै आइरहेको थियो । मुख्यमन्त्री पौडेलले पनि बरु मुख्यमन्त्री पद गुमाउन तयार छु तर राजधानी हेटौंडा नै कायम गराउँछु भनेर आफू निकटसंग बताउँने गरेका थिए । नेकपाको आजको यो निर्णयले मकवानपुरको हेटौंडा निवासी मुख्यमन्त्री पौडेलको अडानलाई पनि मकवानपुरले नागरिकले स्वागत तथा सम्मान गरेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*