आज मकवानपुरगढीमा विजयोत्सव, मुख्यमन्त्री पौडेलको शुभकामना
मकवानपुर । मकवानपुरगढीको २५७ औँ विजयोत्सवको उपलक्ष्यमा आज (शुक्रबार) मकवानपुरगढीमा विशेष कार्यक्रम गरिदैछ ।
गोर्खाली सेनाले तत्कालीन मुगल बादशाह मिरकासिमको सेनालाई पराजित गरेको ऐतिहासिक सम्झनामा विजयोत्सव मनाउने तयारी गरिएको मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले जानकारी दिए ।
विजयोत्सवका अवसरमा बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सन्देश जारी गर्दै ऐतिहासिक दिनको स्मरण गर्दै शुभकामना दिएका छन् ।
उनले सन्देशमा भनेका छन्-‘आजभन्दा २५७ वर्ष अगाडि भएको युद्धमा नेपालीले पराजय व्यहोर्नु परेको हुन्थ्यो भने आज नेपाल स्वतन्त्र देश हुँदैन थियो । त्यसैले आजको दिन नेपाली इतिहासमा महत्वपूर्ण छ । नेपालको पक्षमा लड्दा लड्दै ज्यान गुमाएका ३० जना तथा युद्धमा देशका लागि लडेर बहादुरी प्रदर्शन गरेका सम्पूर्ण वीर युद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु ।’